काठमाडौँ – विराटनगरस्थित विराट मेडिकल कलेजले सरकारी छात्रवृत्तिमा नि:शुल्क एबीबीएस पढ्ने विद्यार्थीसँग विभिन्न नाममा साढे १५ लाखभन्दा बढी असुल्ने गरेको छ ।
विद्यार्थी र अभिभावकले नि:शुल्क छात्रवृत्तिमै शुल्क तिर्नुपरेको भन्दै हस्तक्षेप गर्न सरकार र शिक्षामन्त्रीलाई आग्रह गरेका छन् ।
काठमाडौं विश्वविद्यालयको छात्रवृत्तिअन्तर्गत छनोट भएका विद्यार्थीका अनुसार कलेजले अनिवार्य होस्टल र खानाबापत ५ वर्षमा ९ लाख ३० हजार रुपैयाँ बुझाउन भनेको छ । यसअन्तर्गत बर्सेनि ९० हजार खाना र ९६ हजार होस्टलको शुल्क छ । यस्तै इन्टर्नसिप शुल्क २ लाख तोकिएको छ ।
‘होस्टलमा नबस्दा, मेसमा नखाँदा एड्मिसन हुन्न भन्छन्,’ छात्रवृत्ति पाएका विद्यार्थीका अभिभावक महानन्द झा भन्छन्, ‘जेहनदार भनेर पढ्न पाए पनि ५ वर्षमा विभिन्न नाममा करिब १५ लाख ५५ हजार १ सय ४५ रुपैयाँ तिर्न बाध्य पार्नु कस्तो सरकारी छात्रवृत्ति हो ?’
नि:शुल्क छात्रवृत्तिका लागि विराटमा पढ्न चयन भएका पोखराका कुलदीप तिमिल्सिनाले भने, ‘त्यति महँगो पर्ने होस्टल अनिवार्य नहुनुपर्ने हो, सरकारको नि:शुल्क छात्रवृत्तिमा यतिको शुल्क नलाग्नुपर्ने हो ।’
नि:शुल्क छात्रवृत्ति पाएका सल्यानका कृष्ण डीसीले भर्ना गर्ने बेला अन्य सस्तो ठाउँमा बस्छु भन्दा कलेजका अधिकारीहरूले नमानेको बताए । कान्तिपुर दैनिकमा खबर छापिएकाे छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया