प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत पाएका छन् । मंगलबार दिउँसो संघीय संसद भवनमा उनले प्रतिनिधि सभामा रहेका २७५ सांसदमध्ये २६८ सांसदबाट विश्वासको मत पाए । यो सभामा रहेका कूल सांसदको करिब हुबहु नै रह्यो । संघीय संसद भवनमा भएको निर्वाचन प्रक्रियामा २७० सांसदले भाग लिएका थिए । त्यसमा २ मत उनको विपक्षमा खसेको थियो ।
दाहाललाई मत दिनेमा उनकै दल नेकपा माओवादी केन्द्रको ३२, नेपाली कांग्रेसको ८५, नेकपा एमालेको ७९, राष्ट्रिय स्वतन्त्र पार्टीको २०, जनता समाजवादी पार्टीका १२, एकीकृत समाजवादीको १०, राष्ट्रिय प्रजातन्त्र पार्टीको १४, जनमत पार्टीको ६, नागरिक उन्मुक्ति पार्टीको ४ मत, लोकतान्त्रिक समाजवादीको ४ तथा स्वतन्त्र ३ सांसदको मत समेत थियो ।
रोचक त के भने प्रचण्डले तत्कालिन गठबन्धन तोडेर धोका पाएको नेपाली कांग्रेसका ८५ सांसदबाट समेत विश्वासको मत पाए ।
गत पुस १० गते राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा प्रचण्डलाई देशको ४५औँ प्रधानमन्त्रीको रुपमा नियुक्त गरेकी थिइन् ।
प्रधानमन्त्री नियुक्ति हुँदा उनलाई एमालेका ७८, माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राप्रपाका १४, जसपाका १२, जनमत पार्टीका ६, नागरिक उन्मुक्ति पार्टीका ४ र ३ स्वतन्त्र सांसदले समर्थन जनाएका थिए ।
नेपालको संविधानको धारा ७६ को उपधारा (४) को उपधारा (२) बमोजिम नियुक्त प्रधानमन्त्रीले त्यसरी नियुक्त भएको मितिले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने प्रावधान छ । त्यहि अनुसार उनले विश्वासको मत पाएका छन् । र, अपवादबाहेक अबको दुई २ वर्ष उनको प्रधानमन्त्री पद सुरक्षित रहने छ ।
सबैजसो दलले विश्वासको मत दिएकाले सरकारमा जान चाहनेका लागि बाटो खुलेको छ भने लाज छोप्न विपक्षीको कुर्सीमा बस्छु भन्नेका लागि पनि कुर्सी मिल्नेनै छ ।
पाँच वर्ष सरकार पक्ष र छैठौँ वर्ष सरकारको नेतृत्वमा
एक दशक लामो ध्वंसात्मक विद्रोह छाडेर शान्तिपूर्ण राजनीतिको बाटोमा आएको माओवादी त्यसयता लगातारजसो सरकारमा रहेको छ । कहिले सत्ता साझेदार बनेर त कहिले सरकारकै नेतृत्व गरेर उसले सत्ताको लाभ लिइरहेको छ ।
२०६४ को पहिलो संविधानसभाको निर्वाचनबाट ठूलो दल बनेको माओवादी केन्द्रले सरकार बनाए पनि आफ्नै कारणले छोटो समय सरकारको नेतृत्व गरी बाहिरिनु प¥यो । त्यसयता ०७३ र ०७९ गरी हालसम्म तीन पटक माओवादीले सरकारको नेतृत्व गरिसकेको छ । यसबीचका सबैजसो सरकारमा दल सामेल भएको छ ।
अझ विगत ६ वर्षदेखि त, माओवादी केन्द्र निरन्तर सत्तामा छ । २०७४ को निर्वाचनपछि एमालेसँग एकीकरण गरी नेकपा निर्माणपछि माओवादी केन्द्र सरकारमा गयो । साढे २ वर्षपछि प्रधानमन्त्री बन्ने सहमति भए पनि तत्कालिन प्रधानमन्त्री केपी ओलीले नछाडेपछि प्रचण्ड प्रधानमन्त्री त भएनन्, तर प्रतिपक्ष पनि बन्न परेन ।
२०७७ पुस ५ गते तत्कालिन प्रधानमन्त्री ओलीले गरेको प्रतिनिधिसभाको विघटनलाई प्रतिगमन भन्दै सडकमा ओर्लिएको नेकपाबाट माओवादी खेमा र एमालेका माधव नेपाल पक्ष कांग्रेसलाई काँधमा बोकेर फेरि सत्ता पक्ष बन्न पुग्यो । त्यसो त २०७७ फागुन २३ गते सर्वोच्चको फैसलाले जोडिएका एमाले र माओवादी पूर्ण एकता नहुँदै छुट्निाले माओवादीलाई फाइदा नै भएको थियो ।
प्रतिपक्षबाट सरकारको नेतृत्वमा उक्लिएको कांग्रेस र सत्ता पक्षबाट पुनः सत्ता पक्ष बनेको माओवादीसहित अन्य ५ दल गठबन्धन गरी गत निर्वाचनमा सँगसँगै गए । निर्वाचनपछि गठबन्धनबाटै सरकार बनाउने उद्घोष गरेका दलहरुमा चुनावपछि सत्ता मोहको होडबाजीले राजनीतिको बाटो नै परिवर्तन गरिदियो । जसको फाइदा उठाउँदै संसदको दोस्रो ठूलो दल एमालेले पाँचदलीय गठबन्धन टुटाएर आफ्नो पक्षमा सात दलीय गठबन्धन बनाउँदै प्रचण्डलाई प्रधानमन्त्री पदमा पु¥यायो ।
चुनावपछिको सरकारको नेतृत्व कसले गर्ने भन्ने देउवा—दाहालको हठमा ओलीले कांग्रेस नेतृत्वको गठबन्धन टुटाएर प्रचण्डलाई आफ्नो कित्तामा तान्न सफल भएका थिए । चुनावबाट पहिलो दल बनेको कांग्रेसले पहिलो चरणमा सरकारको नेतृत्व गर्नेसहित अन्य ठूला पदमा भाग खोज्दा सम्भावनाको टाकुरामा रहेको कांग्रेस सत्ता राजनीतिको बेसक्याम्पमा पुगेको थियो ।
हिजो प्रतिगमनको नाइके भनेर गाली गरेको व्यक्तिकै कृपाबाट प्रधानमन्त्री बन्नुपर्दा कतिपय सन्दर्भमा प्रचण्ड रक्षात्मक स्थितिमा पनि देखिएका छन् । खासगरी संसद विघटन गर्ने कदमलाई ओलीले पटक पटक सही रहेको जिकीर गरेपछि हिजो त्यही विषयमा दलसमेत विभाजन गरेका प्रचण्ड अफ्ठ्यारोमा परेका हुन् ।
त्यसैले पनि हुनसक्छ, प्रचण्डले कांग्रेससँग विश्वासको मतका लागि अनु्रोध गरे । देउवाले पनि रात रहे अग्राख भन्ने सोचेर उनलाई विश्वासको मत दिएका छन् ।
विश्वासको खडेरीमा ओली–प्रचण्डको सम्बन्ध
पार्टी एकता गरी तत्कालिन नेकपा बनाइ ओली प्रचण्डबीच बेला बेला शितयुद्ध रहेको बाहिरिन्थ्यो । एकै जेटका दुई पाइलट भनिए पनि ओलीसँग साझेदारीको अध्यक्ष पदले प्रचण्डलाई त्यति खुसी दिएको भने थिएन । नेकपामा पनि दोस्रो अध्यक्षको दर्जा पाएका प्रचण्डले कहिले कुर्सीको विषयमा त कहिले पार्टी सिद्धान्तका विषयमा हेपिएको महशुस गरेका थिए । पहिलो बरियताको अध्यक्षको जिम्मेवारी पाएका ओलीले माओवादी केन्द्रका नेताहरुलाई समेत आफ्नो पक्षमा ल्याएको चिसो प्रचण्डको मनमा परेको थियो । साना तिना असन्तुष्टिहरु त्यहि बेलामा पोखिए पनि नेकपाको विभाजनपछि भने ओली प्रचण्डले एकार्कामा गाली वर्षाए ।
ओली प्रचण्डको पुनर्मिलनले पनि कार्यकर्तामा त्यति खुसीयाली छाएको छैन । कांग्रेसबाट धोका पाएर ओलीको शरणबाट प्रधानमन्त्री बनेका प्रचण्डको मन खुलेको देखिन्न । प्रचण्डले मात्र होइन आम मिडिया र सर्वसाधारणमा समेत ओलीले माओवादीलाई किन र कसरी स्वीकार गरे भनेर प्रश्न गरिरहेका छन् । राजनीतिका माहिर खेलाडी ओलीले के रणनीतिका लागि प्रचण्ड बोकेर हिँडेका छन् भनेर चासोका साथ हेरिएको छ ।
आउँदा दिन प्रधानमन्त्रीका रुपमा प्रचण्डलाई सजिलो त पक्कै छैन तर गठबन्धनमा ओलीले बलमिच्याइँ गरेमा कांग्रेसको साथ लिन भने विश्वासको मतले सजिलो भएको छ । यो तुलो ओलीतिर बढी ढल्कन नदिने उनको चाल कत्तिको सफल हुनेछ, आगामी दिनमा देखिने नै छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया