‘संसद विघटन ठीक थियो थिएन सत्ता साझेदारको कुरा होइन’

लोकपथ
70
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू संविधानको रक्षाका लागि सधैँ प्रतिबद्ध रहेको बताएका छन् । आज प्रतिनिधि सभामा प्रधानमन्त्रीको विश्वासको मतका लागि बसेको बैठकमा उठेका प्रश्नहरुको जवाफ दिँदै उनले संविधान रक्षा गर्दै प्रतिनिधि सभालाई पूर्ण कार्यकाल चलाउने कुरामा आफू सजग रहेको बताए ।

त्यसका साथै प्रतिनिधि सभा विघटनको कुरा अहिलेको सत्ता साझेदार दलहरुको विषय नभएको जिकिर गरे । ‘यो संविधान कार्यान्वयन गर्नेप्रति हाम्रो गम्भीरता र हाम्रो प्रतिबद्धता कायम छ ।’ उनले भने, ‘हिजो सदन विघटन ठीक थियो थिएन हाम्रो अहिले हाम्रो सत्ता साझेदारभित्रको कुरा होइन ।’

हिजो भएका विघटनका कुराहरुले कस्तो असर परेको थियो भन्ने कुरामा आफू जानकार रहेको भन्दै त्यसप्रति सजग रहेको बताए । त्यसैगरी अहिलेको सत्ता साझेदार दलहरुको एकताको आधार सरकारले ल्याएको न्यूनमत साझा कार्यक्रम रहेको बताए । ‘हाम्रो एकताको आधार न्यूनतम साझा कार्यक्रम हो ।’ उनले भने ।

त्यस्तै नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरी लगायत राजबन्दीहरुलाई छुटाउने विषयमा पहल गर्ने प्रतिबद्धता जनाए । त्यस्तै नागरिकताका विषयमा ६ महिनाभित्र समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

बैठकमा उनको दल माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी लगायत स्वतन्त्र सांसदहरुले समेत विश्वासको मत दिने घोषणा गरेका छन् ।

यता राष्ट्रिय जनमोर्चा र नेपाल किसान मजदुर पार्टीले भने प्रधानमन्त्रीलाई विश्वासको मत नदिने घोषणा गरेका छन् । साथै आफूले दौरासुरुवाल लगाउने अवसर नपाएको र अहिले उपयुक्त पर्खिएर बसेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?