सनराइज बैंक र लक्ष्मी बैंक लिमिटेडबीच मर्जर सम्झौता

लोकपथ
208
Shares

काठमाडौं । सनराइज बैंक लिमिटेड तथा लक्ष्मी बैंक लिमिटेडबीच गाभ्ने (मर्जर) गरिने भएको छ । दुबै बैंकको संचालक समितिको बैठकको निर्णयानुसार आज एक सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

काठमाडौंको नक्सालस्थित होटल मेरियटमा दुबै संस्थाका अध्यक्षहरुबाट प्रारम्भिक समझदारीपत्र हस्ताक्षर भएको हो । दुबै संस्थाका सम्पत्ति तथा दायित्व मूल्यांकन गर्न विषेशज्ञलाई तत्काल नियुक्त गरी सोको प्रतिवेदन प्राप्त भएपछि संयुक्त मर्जर प्रक्रिया जाने जनाइएको छ ।

बैंकको संचालक समितिमा विस्तृत छलफल गरी समितिले सिफारिस गरेको प्रतिशेयर मूल्यलाई दुवै पक्षको संचालक समितिले स्वीकृत गरी साधारण सभाबाट स्वीकृति भए बमोजिमको शेयर अनुपात कायम हुने र प्राविधिक रुपमा एकिकरणको प्रक्रिया छिटो छरितो गर्ने बैंकको तयारी छ ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी प्रचलित ऐन तथा बैंङ्क तथा वित्तीय संस्था एक आपसमा गाभ्ने तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली, २०७३ अन्तर्गत (मर्जर) को मार्ग अवलम्वन गर्न दुवै पक्ष सहमत भएको छ । हाल सनराइज बैंक लिमिटेडको चुक्ता पुँजी करिब १० अर्ब १२ करोड रुपैयाँ रहेको छ भने लक्ष्मी बैंकको चुक्ता पूँजी करिब ११ अर्ब ५५ करोड रुपैयाँ रहेको छ ।

गत मंसिर मसान्तको वित्तीय विवरण अनुसार सन्राइज बैंक लिमिटेडको कूल निक्ष्ोप १३२.३१ अर्ब रुपैयाँ, कर्जा १२२.५३ अर्ब रुपैयाँ रहेको र बैंकको शाखा सञ्जाल १३९, एक्सटेन्सन काउण्टर १३, शाखा रहित बैंकिङ्ग सेवा ९८ र १६१ एटीएम मार्फत बैंकका ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।

सोही अवधिमा लक्ष्मी बैंक लिमिटेडको शाखा सञ्जाल १४३, एक्सटेन्सन काउण्टर १४ शाखा रहित बैंकिङ्ग सेवा ६४ र १७६ स्थानमा एटीएम जडान गरी बैंकका ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।

दुबै संस्था एक आपसमा गाभिए पश्चात बैंकको शाखा सञ्जालमा बृद्धि हुन गई शाखाको संख्या २८२, एक्सटेन्सन काउण्टरको संख्या २७, शाखा रहित बैंकिङ्ग सेवाको संख्या १६१ र एटिएमको संख्या ३३७ पुग्ने छ भने बैंकको कूल निक्षेप रु. २७६.१२ अर्ब तथा कुल कर्जा रकम रु. २५५.२३ अर्ब पुग्ने देखिन्छ ।

दुबै संस्था एक आपसमा गाभिए पश्चात नेपाल राष्ट्र बैंकले लिएको लक्ष अनुरुप वाणिज्य बैंकहरुको संख्या घट्न गई बैंकको पहुच तथा व्यवसाय क्षमतामा व्यापक वढोत्तरी हुनुका साथै नेपाली अर्थतन्त्रमा बैंकको उपस्थिति अझ सवल हुन गई सबै पक्षलाई लाभदायक हुनेमा दुवै बैंक विश्वस्त छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?