एमाले अध्यक्षले खेले सत्ता राजनीतिको पासा, अनावश्यक हठले सत्ताबाट सडकमा पुग्नु देउवाको दशा (भिडियोसहित)

आइतबार मध्याह्नपछि नेपाली सत्ता राजनीतिमा एकाएक ३६० डिग्रीको फेरबदल आयो । केन्द्रदेखि प्रदेशसम्मको सत्तामा बर्चस्व राख्ने हैसियतको नेपाली कांग्रेस एकाएक सडकमा थचारिँदा नेकपा एमाले किङमेकरको भूमिकामा देखापर्‍यो।

निर्वाचनपछि ठूलो दल बनेको कांग्रेस र तेस्रो हैसियतको दल माओवादी केन्द्रबीच पहिलो प्रधानमन्त्री को भन्ने हठले एकातिर वर्तमान सत्ता गठबन्धन तोडियो भने अर्कातिर एमाले नयाँ किङमेकरको भूमिकामा देखापरेको हो ।

पहिलो चरणमै प्रधानमन्त्री पाउनुपर्छ भन्ने प्रचण्ड र कुनै हालतमा आफै बन्ने शेरबहादुर देउवाको जिद्धीले प्रचण्डलाई एमालेको शरणमा पुर्‍यायो । बालकोटबाट सत्ताको बल्छी थापिरहेका ओलीले मौंका चुकाउन चाहेनन् र गठबन्धन तोडेर आएका प्रचण्डलाई प्रधानमन्त्री स्वीकार्दै समग्र सत्ताको खेल नै आफ्नो पक्षमा पार्न सफल भए ।

ओलीले एमालेको मात्र समर्थन नभई कांग्रेस–नेकपा एकीकृत समाजवादी र लोसपाबाहेक अरु दलको समर्थन पनि प्रचण्डलाई सहजै जुटाइदिए । देउवाले प्रधानमन्त्री दिन अस्वीकार गरेपछि बालुवाटारबाट बाहिरिएका प्रचण्डलाई ओलीले आफ्नो शिविरमा मात्र तानेनन्, राजकीय पदहरुबाट कांग्रेसलाई आउँदो पाँच वर्षका लागि भूमिकाविहीन बनाउँदै सडकमा पुर्‍याइदिए ।

एमालेले अगुवाई गरेको गठबन्धनमा अब एमाले, माओवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, नागरीक उन्मुक्ति पार्टी र जनता समाजवादी पार्टीसहित सात दल समावेश हुन पुगेका छन् । त्यतिमात्र नभई कांग्रेसबाट विद्रोह गरी स्वतन्त्र हैसियतमा चुनाव जितेको अमरेश सिंह, एमालेबाट विद्रोह गरेका प्रभु साहसमेत यो कित्तामा पुगेका छन् ।

ओलीले संसद विघटन गरेपछि जन्मिएको गठबन्धन

तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ पुस ५ गते संसद विघटन गरेपछि नेपालमा राजनीतिमा नयाँ अध्याय शुरु भएको थियो । दुई/दुई पटक संसद विघटन गर्ने ओलीको कदमविरुद्ध उनीहरु एक ठाउँमा उभिएका थिए । ओलीको संसद विघटनविरुद्धमा रहेकाहरु मिलेर कांग्रेसको नेतृत्वमा वर्तमान गठबन्धन बनाउँदा माओवादी केन्द्र, नेकपा एमालेबाट फुटेको माधव नेपालको नेकपा एस, जसपा र जनमोर्चा एक ठाउँमा जुटेका थिए ।

ओलीको असंवैधानिक कदमको विरोधमा पाँच दलको गठबन्धन बनेको थियो । सोही गठबन्धनले स्थानीयदेखि गत मंसिर ४ गते प्रतिनिधि र प्रदेश सभाको निर्वाचन सम्पन्न गराएको थियो । पाँचै दलले एमालेविरुद्धमा देशैभर चुनावी गठबन्धन पनि गरेका थिए ।

निर्वाचनमा सबैभन्दा धेरै ८९ सिट जितेको नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाउन खोज्नु स्वाभाविक थियो । तर, चुनावमा जानुअघि देउवाले आफूलाई नयाँ सरकारमा प्रधानमन्त्री बनाउन बचन दिएको भन्दै प्रचण्डले आफूले प्रधानमन्त्री नपाए गठबन्धन त्याग्ने चेतावनी दिए ।
एकातिर बहुमतसहित सरकारको नेतृत्वमा दाबी गर्न राष्ट्रपति दिएको समयसीमा घर्कंदो अर्कातिर देउवा–दाहालमा कुरा नमिलेपछि माओवादीले एमालेसँग संवाद बढायो । अझ प्रधानमन्त्री र राष्ट्रपति दुबै पदमा कांग्रेसले दाबी नछाडेको भन्दै प्रचण्ड गठबन्धनको औचित्य सकिएको भन्दै ओली निवास बालकोट पुगे ।

बालकोटमा प्रचण्ड पुग्नुअगावै यो सबै परिदृष्य छामेर बसेका ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र जसपाका वरिष्ठ नेता अशोक राईलाई बोलाएर छलफल थालिसकेका थिए । प्रचण्ड बालुवाटारबाट निस्कनेबित्तिकै ओलीले जनमत पार्टीका अध्यक्ष डा. सिके राउत र नागरिक उन्मुक्ति पार्टीका रञ्जिता चौधरीलाई पनि छलफलमा बोलाए र प्रचण्डलाई प्रधानमन्त्रीका रुपमा स्वीकार्ने सहमति गर्दै शितलनिवास पठाए ।

देउवाको गल्ती जसले कांग्रसलाई घरको न घाटको बनायो

निर्वाचनमा पहिलो दल बनेको नेपाली कांग्रेस यसरी प्रतिपक्षमा खुम्चिनु पर्ला भन्ने तिनका नेताले सोचेका थिएनन् । हाल सरकारको नेतृत्व गरिरहेको कांग्रेसको केन्द्रमा मात्रै नभइ देशका सात वटै प्रदेशमा सरकार बनाउने र एमालेलाई प्रतिपक्षमा ठिंगुराउने सपना चकनाचूर भएको छ ।

जसको मूल कारक पार्टी सभापति शेरबहादुर देउवाको अधिक सत्तालिप्सा नै होभन्दा फरक नपर्ला । किनभने निर्वाचन भन्दा अगावै प्रधानमन्त्री बनिसकेका देउवा निर्वाचनपछि पनि फेरि आफै प्रधानमन्त्री बन्ने होडमा रहे । त्यतिमात्र होइन, उनले यो सारा प्रक्रियामा पार्टीमा अर्को समूहलाई सहभागि नै गराएनन् । महामन्त्रीसमेतलाई कुनै बैठकमा बोलाइएन । दलहरुको बैठकमा मात्र नभई प्रचण्डलगायतसँग सहमति खोज्न भन्दै आफ्नै अनुचरहरुलाई दौडाइयो ।

देउवाले पहिलो चरणमा प्रचण्डलाई प्रधानमन्त्री बनाएर पार्टीले राष्ट्रपति–सभामुख लगायत संवैधानिक पद लिनसक्थे । सात वटा प्रदेशमा आफूनुकूलको सरकार बन्नसक्थ्यो । जसले देउवालाई नायक बनाउन सक्थ्यो तर आफू नै प्रधानमन्त्रीमा रहनुपर्ने हठले पार्टीलाई सत्ताबाट एकाएक सडकमा पुर्‍याएपछि उनको निर्णय क्षमता र नेतृत्वमा प्रश्न उठ्ने भएको छ ।

अर्कातिर यो परिस्थिति बन्दा मुखमा आइसकेको राष्ट्रपति पदबाट नेता रामचन्द्र पौडेल बिमुख हुनुपरेको छ । उनले त प्रचण्डलाई देउवाले धोका दिएको भन्दै आफ्नो मुखबाट राष्ट्रपति पद गुमेकामा तीब्र रुष्टता व्यक्त गरिसकेका छन् ।

अहिलेको संसदको अंक गणीत

नेपाली कांग्रेस ८९
नेकपा एमाले ७९
नेकपा माओवादी ३२
राष्ट्रिय स्वतन्त्र पार्टी २०
राष्ट्रिय प्रजातन्त्र पार्टी १४
जनता समाजवादी पार्टी १२
नेकपा एकृकित समाजवादी १०
लोकतान्त्रिक समाजवादी पार्टी ४
नागरिक उन्मुक्ती पार्टी ४

भिडियो :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?