मनाङे एकीकृत समाजवादीमा प्रवेश कार्यक्रममा किन पुगे सीके राउत ?

लोकपथ
182
Shares

काठमाडौं । गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजिव गुरुङ उर्फ दिपक मनाङे एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।

आइतबार एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबाट माला लगाएर पार्टी प्रवेश गरेका हुन् ।

मंसिर ४ को निर्वाचनमा मनाङ प्रदेश सभा ‘ख’ बाट स्वतन्त्र निर्वाचित सांसद हुन् उनी ।

आफू स्वतन्त्र रुपमा जनताको सेवामा लागे पनि राजनीतिक दलको नीति, सिद्धान्तमा रही संगठनको बलमा काम गर्न सहज हुने भन्दै पार्टी प्रवेश गरेको बताएका छन् ।

‘मैले स्वतन्त्र रुपमा रही जनताको सेवा गर्ने निर्णय गरेको थिएँ । तर परिवर्तित परिस्थितीमा एक्लै रहनुभन्दा राजनीतिक पार्टीको संगठनमा आवद्ध भइ त्यसको नीति, विचार र सिद्धान्तबाट निर्देशित हुँदै त्यसको बलमा गरिने पहलकदमी तथा जनसेवा थप प्रभावकारी हुने निश्कर्षमा म पुगेको छु ।’ उनले भनेका छन् ।

नेपाल निवास कोटेश्वरमा अध्यक्ष नेपालसहित एकीकृत समाजवादीका नेता एवं सांसद कृष्णकुमार श्रेष्ठसहित नेतारुको उपस्थिती रहेको थियो ।

सो क्रममा जनमत पार्टीका अध्यक्ष एवं सप्तरी–२ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य चन्द्रकान्त राउत (सीके) को समेत उपस्थिती रहेको थियो ।

मनाङे एसमा प्रवेश कार्यक्रममा सीके पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

पहिलो प्रहरमै प्रतिनिधि सभामा १ सिटसहित प्रदेश सभामा राम्रो उपस्थिती देखाएका उनको दल कतै एकीकृत समाजवादीमा मिल्न लागेको त होइन भन्ने आशंका समेत गरिएको छ ।

तर उनी सो समारोहमा उपस्थित हुनु संयोग मात्रै रहेको एकीकृत समाजवादीका महासचिव वेदुराम भुसालले लोकपथलाई बताए । उनका अनुसार निर्वाचित राउत नेपाललाई बधाई दिन तथा राजनीतिक विषयमा छलफलका लागि नेपाल निवास पुगेका थिए राउत । आइतबार दिउँसो भेटघाटको लागि राउत पुगेका बखत नै मनाङेको प्रवेश कार्यक्रम परेको उनले बताए ।

‘राजिव गुरुङ नेकपा एसमा प्रवेश गर्ने कार्यक्रम र जनमत पार्टीका अध्यक्षले हाम्रो पार्टीका अध्यक्षसँग भेटघाट गर्ने समय एकै मात्र परेको हो ।’ उनले भने ।

कतै सीके राउत पनि एकीकृत समाजवादीमा प्रवेश गर्न लागेका हुन् कि भन्ने बाहिर हल्ला चल्न थालेको छ ? भन्ने लोकपथको प्रश्नमा भुसालले भने, ‘त्यो संयोग मात्रै हो । संयोगमा भएको भेटलाई त्यसरी हल्ला गर्न मिल्दैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?