घटस्थापनासँगै सुरु भयो दसैँ : आज घर-घरमा जमरा राखिँदै

लोकपथ
390
Shares

आज आश्विन शुक्ल प्रतिपदा अर्थात् बडादसैँको पहिलो दिन । आज (सोमबार)देखि नेपालीहरुको महानचाड बडादसैँ सुरु भएको छ । बडादसैँ आश्विन शुक्लपक्षको प्रतिपदा अर्थात् घटस्थापनाबाट सुरु भई दशमीको दिन समाप्त हुन्छ । घटस्थापनाको दिनदेखि नवमीको दिनसम्मलाई नवरात्र अर्थात् नौरथाको रूपमा मनाइन्छ । बडादसैँमा नवरात्रको छुट्टै महत्व रही आएको छ ।

यस पटकको घटस्थापनाको साइत बिहान १० बजेर २३ मिनेटमा रहेको छ । दसैँको पहिलो दिन घटस्थापना गरिन्छ । घटः स्थापना अर्थात घैंटो, घडा वा कलश स्थापना गर्नु नै घटस्थापनाको मूल अर्थ हो ।

आजका दिन स्थापना गरिएको घडाको जल, नौ दिनसम्म देवीलाई पूजा गरिएको टीका प्रसाद र घडामा राखिएको जमरा विजयादशमीका दिन दुर्गादेवीको प्रसादको रुपमा मान्यजनबाट ग्रहण गरिन्छ । घटस्थापना गरेर राखिएको जमरा कोजाग्रत पूर्णिमाकै दिन चोखो स्थानमा लगि बिसर्जन गरिन्छ । नवरात्रको अवधिभर पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छैठौँ दिन कात्यायनी, सातौ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ ।

संस्कृत भाषामा यव भनेको जौ हो । वेदको मन्त्रमा भने यवलाई ज्यव भनेर उच्चारण गरिन्छ । यसरी ज्यव उमार्नुलाई नै जमरा भनिएको हो ।

जौ नै किन उमार्ने ? धान, गहुँ किन नउमार्ने भन्ने विषयमा फरक–फरक मत छ । विशेषगरी अन्नमा पनि जौलाई सबैभन्दा पुरानो अन्नको रुपमा लिइन्छ र जौ भगवानको प्रिय वस्तुसमेत भएकाले यसको प्रयोग गरिएको हो ।
शास्त्रमा पनि जौको निकै महत्व रहेको छ । जौलाई एकदमै पौष्टिक आहारको रुपमा लिइन्छ । घिउमा मिसाएको जौले हवन गर्दा वातावरणमा रहेको विषालु पदार्थ नष्ट हुनुको साथै पानी पार्नसमेत यसले मद्दत गर्दछ । यसलाई पछिल्लो समय वैज्ञानिकले पनि पुष्टि गरेका छन् ।

यिनै कारणले गर्दा जौको प्रयोग गरिएको हो । तर, जमरा नै उमार्नु, कानमा नै सिउरिनु भनेर चाहिँ कुनै पनि शास्त्रले भनेका छैनन् । यो संस्कार हो । सभ्यतासँग जोडिएको छ ।

दसैँ मनाउने विषयमा कुनै शास्त्र पुराणमा उल्लेख नभएपनि नवरात्रको नौ दिन देवीको पूजा आराधना गरि दसौं दिन नौ दिनसम्म पूजा गरेको देवीको प्रसाद ग्रहण गर्ने भएकाले नै यसलाई दसैंका रुपमा मनाइँदै आएको हो ।
आसुरी प्रवृत्तिको प्रतीकका रुपमा रहेका चण्ड, मुण्ड, शुम्भ, निशुम्भ, रक्तबीज लगायतका राक्षसको बध गर्न दुर्गाले लिएका नौ रुपको यस अवसरमा विशेष पूजा आराधना हुन्छ । नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्देवीभागवत र अन्य देवी स्तोत्रको समेत पाठ गरिन्छ ।

दसैँ पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकको रुपमा मनाउने गरिन्छ ।
मार्कण्डेय पुराणमा पनि नवरात्रको विषयमा चर्चा गरिएको छ । नवरात्रको नौ दिनसम्म आफ्नो मनोकांक्षा पूर्तिका लागि कुन दिन कुन देवीकोे पूजा गर्ने भन्नेबारे पनि उल्लेख गरिएको छ ।

वैदिक युगमा मातादुर्गाले दानव महिसासुरको बध गरी देवगणहरूको रक्षा गरेको हुनाले यस पर्वलाई मातृशक्तिका रूपमा पनि मनाउने गरिन्छ । यसरी हेर्दा शोषित, पीडित र दुःखमा परेकालाई शक्ति दिई अन्यायी, अत्याचारीहरूलाई परास्त गरी सत्यको विजय गराउने मातृशक्तिको मुख्य रूप दुर्गामातालाई मानिन्छ ।

नवरात्रमा देवता र दानव अर्थात् विशेष गरेर देवी दुर्गा र दानव महिसासुरबीच भएको युद्धको प्रकृति हेर्दा अहिलेको वैज्ञानिक युगमा गरिने अनुसन्धानमूलक कार्यको उच्चतम बिन्दु हो भन्न सकिन्छ । देवी दुर्गाले हरेक दिन आफ्नो रूप परिवर्तन गरी सोहीअनुसार दानव महिसासुरको व्यवहारको अध्ययन गरी उसलाई नष्ट गरेको किम्बदन्ती धार्मिक ग्रन्थहरूमा भेटिन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?