ललितपुर–३ मा गठबन्धनलाई सकस : कांग्रेसको अडानले पम्फालाई धक्का !

लोकपथ
10.7k
Shares

काठमाडाैं । यतिबेला कुन नेतालाई कहाँ व्यवस्थापन गर्ने भन्ने दोधारमा परेको ५ दलीय गठबन्धन । १६५ प्रत्यक्ष निर्वाचन क्षेत्रलाई ५ दलको भागबण्डा मिलाउनुपर्ने सकसका कारण हालसम्म पनि गठबन्धनले सिट टुंग्याउन सकेको छैन ।

तल्लो तहबाट नेताहरुले आ– आफ्नो क्षेत्र नछोडेका कारण पनि केन्द्रमा गठबन्धनलाई थप सकस परिरहेको छ । देशका धेरै निर्वाचन क्षेत्रमा गठबन्धनका ‘हेबी वेट’ नेताहरु एकै ठाउँमा रहेका कारण पनि थप सकस पर्ने देखिन्छ । धेरै क्षेत्रमा स्थानीय तहको निर्वाचनको मतको आधारमा भागबण्डा मिलाउनुपर्ने कांग्रेसका नेताहरुको अडान रहेको छ ।

त्यही मध्येको एक हो ललितपुरको क्षेत्र नं ३ । सो क्षेत्र हालको उर्जामन्त्री समेत रहेकी माओवादी केन्द्रकी नेतृ पम्झा भुसालको क्षेत्र हो । तर सो क्षेत्रमा नेपाली कांग्रेसको नेताहरुले आफ्नो दाबी प्रस्तुत गरिरहँदा भुसाललाई कठिन पर्ने संकेत देखिएको छ ।

यसअघि उनले निरन्तर जित्दै आइरहेको क्षेत्र भए पनि आगामी निर्वाचनको लागि भने सर्वसम्मत हुन सकेकी छैनन् । गृह जिल्ला अर्घाखाँची भए पनि उनी २०६४ र २०७४ मा ललितपुरबाट प्रत्यक्ष निर्वाचित भएकी थिइन् । आगामी निर्वाचनमा भने उनीसहित रामगोपाल सिंह र श्यामकृष्ण श्रेष्ठको नाम समेत सिफारिसमा परेको छ । जसको कारण पनि उनलाई त्यति सहज भने नहुने धेरैको बुझाइ रहेको छ ।

यता गठबन्धनमा आवद्ध दल नेपाली कांग्रेसको पकड रहेको सो क्षेत्रमा कांग्रेसका नेताहरु उनलाई स्वीकार नगर्ने सार्वजनिक नै गरिसकेका छन् ।

सो क्षेत्रबाट नेपाली कांग्रेसबाट केन्द्रीय सदस्य जीतजंग बस्नेतसहित केन्द्रीय सदस्यहरु मदनकुमार अमात्य, धना खतिवडा र प्रदेश सांसद विजया श्रेष्ठको नाम सिफारिसमा परेको छ ।

ती मध्ये बस्नेतको सम्भावना बलियो रहेको छ । नेपाल तरुण दलमा लामो समय काम गरेको कारण पनि उनी युवाहरु माझ लोकप्रीय छन् । पोखरामा भएको तरुण दलको ४औँ महाधिवेशनबाट तरुण दलको अध्यक्ष बनेका उनी कांग्रेसको १४औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचितन भएका हुन् ।
पार्टीले गठबनधन गरेर गए पनि आफूहरुले कुनै पनि हालतमा सो क्षेत्र नछोड्ने अडानमा छन् उनी । सार्वजनिक कार्यक्रमहरुमै ललितपुर–३ आफूहरुले पाउनुपर्ने नत्र गठबन्धन नहुने चेतावनी दिँदै आइरहेका छन् ।

‘हामी (कांग्रेस) माओवादी र समाजवादी गठबन्धन हुन्छ । टिकट चाँही नेपाली कांग्रेसको हातमा यो सिट हुन्छ । टिकटमा मेरो दाबी मुख्य रहन्छ ।’ बस्नेत भन्छन् ।

स्थानीय निर्वाचनमा नेपाली कांग्रेसले धेरै स्थानमा जित हासिल गरेको कारण आफूहरुको दाबी रहने उनले प्रष्ट्याए । आफूले जित्ने दाबी गर्दै भुसाललाई गृह जिल्ला अर्घाखाँची वा समानुपातिकमा बस्न समेत आग्रह गरेका छन् । आफ्नो जन्मस्थान नै ललितपुर भएको र अन्त जाने ठाउँ नभएको भन्दै कुनै पनि हालतमा सो क्षेत्र नछोड्ने उनको तर्क रहेको छ ।

‘मैले हार्छु जस्तो लागेको छैन । त्यस्तो लागेको थियो भने म चुनाव लड्ने थिइन् । म पम्फा दिदिलाई शुभकामना दिन्छु । समानुपातिक पनि छ उहाँ अर्घाखाँचीबाट लडे पनि भयो । म त कहाँ जानु ? कुन ठाउँ छ त मेरो ?’ उनले भने ।

यता भुसाल भने गठबन्धन भएको अवस्थामा अघिल्लो निर्वाचनमा जुन क्षेत्रमा जसले जितेको हो सोही पार्टीले टिकट पाउनेमा ढुक्क छिन् । आफू आगामी निर्वाचनमा ललितपुर–३ बाटै चुनाव लड्ने दाबी गर्छिन् ।

‘जसले जहाँ जितेको हो त्यसले त्यहाँ लिने भन्ने छ । त्यसैले ललितपुर–३ चाँही माओवादीको हो । सम्वत म नै अब एकपटक लतिलपुर ३ बाटै उठ्छु ।’ भुसालको भनाइ रहेको छ ।

२०७४ को निर्वाचनमा भुसालले २४ हजार ३६ मतसहित जित हासिल गरेकी थिइन् । उनका निकटमत प्रतिद्धन्दी नेपाली कांग्रेसका मदनबहादुर अमात्यले २२ हजार ३ सय २८ मत प्राप्त गरेका थिए । यसरी हेर्दा उनीहरुबीचको मतान्तर १ हजाार ७ सय ८ मत मात्र रहेको छ । माओवादीको धेरै राम्रो नमानिने ललितपुरमा गत निर्वाचनमा भुसाल तत्कालिन वाम गठबन्धनको समेत साथ रहेको थियो । तर एकल लडेको अवस्थामा अघिल्लो निर्वाचनमा नै भुसाललाई जित निकाल्न सहज थिएन ।

गत स्थानीय निर्वाचनको कुरा गर्ने हो भने वडाध्यक्षहरुले पाएको मतको आधारमा नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा रहेको छ । ३० वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा नेपाली कांग्रेसका वडाध्यक्षहरुले पाएको मत २१ हजार ८१ रहेको छ । दोस्रो स्थानमा रहेको नेकपा एमालेका उम्मेदवारले १७ हजार ७ सय १२ मत प्राप्त गरेको छ । भने तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रका उम्मेदवारले ७ हजार ७ सय २७ मत प्राप्त गरेको छ । यता एकीकृत समाजवादीका वडाध्यक्षहरुले पाएको मत ५ हजार १ सय २९ रहेको छ । यसरी हेर्दा सो क्षेत्रमा मतका आधारमा पनि नेपाली कांग्रेसको दाबी बलियो देखिन्छ ।

गृह जिल्ला अर्घाखाँची रहेका कारण उनलाई ललितपुर–३ मा टुरिस्ट उम्मेदवारको रुपमा आलोचना हुँदै आइरहेको छ । त्यति मात्र नभइ उनले काम गर्न नसकेको समेत अराोप रहेको छ । भुसाल पटकपटक मन्त्री हुँदा पनि आफ्नो क्षेत्र र समग्र जिल्लामा कुनै पनि यथेष्ट काम गर्न नसकेको आरोप रहेको छ ।

उनी २०६५ सालमा पहिलोपटक महिला, बालबालिका तथा समाजकल्याणमन्त्री बनेकी थिइन् । त्यसैगरी मन्त्रीमण्डल पुनर्गठन हुँदा २०६५ मै पुनः सामान्य प्रशासनमन्त्री बनेकी थिइन् भने २०६८ सालमा शान्ति तथा पुनर्निमाण मन्त्री समेत भएकी थिइन् । २०७८ साल असार २९ गतेबाट उनी उर्जा तथा जलस्रोत मन्त्री रहेकी छिन् । तर उनले आफ्नो निर्वाचन क्षेत्रलाई नहेरेको भन्दै आलोचना भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?