झाँक्रीको जोखना : गुल्मी कि काठमाडौं ?

निर्वाचन रौनक

नेकपा एमालेबाट छुट्टिने घोषणा गरेपछि माधवकुमार नेपाललाई सबैभन्दा अग्र मोर्चामा रहेर साथ दिने पात्र हुन् –रामकुमारी झाँक्री । विद्यार्थी राजनीतिबाट उदाएर राष्ट्रिय राजनीतिमा फड्को मार्ने महिला नेतृ झाँक्री हाल एकीकृत समाजवादीको केन्द्रीय सचिव छिन् । साथै, शेरबहादुर देउवा नेतृत्वको सरकारमा ८ महिनाभन्दा बढी समय शहरी विकास मन्त्रालयको बागडोरसमेत सम्हालिन् ।

यसअघिको निर्वाचनमा नेकपा एमालेले उनलाई समानुपातिक कोटाबाट संसद छिराएको थियो । तर, आगामी निर्वाचनमा झाँक्री कसरी अघि बढ्छिन् भन्ने चर्चा चल्न थालेको छ ।

यद्यपि, झाँक्री भने अब प्रत्यक्ष निर्वाचनमै लड्ने तयारीमा छिन् । ‘मलाई जनतासँग प्रत्यक्ष जोडिएर सांसद बन्न मन छ,’ लोकपथसँगको कुराकानीमा उनले भनिन्, ‘कहाँबाट निर्वाचन लड्ने भन्ने कुराको निचोड निकाल्न सकेको छैन तर, काठमाडौं वा गृह जिल्ला गुल्मीमध्ये एक ठाउँबाट चुनाव लड्ने तयारीमा छु ।’

झाँक्रीले दुई मध्ये एक ठाउँबाट निर्वाचन लड्ने तयारी गरेपनि पूर्ण अधिकार भने उनको हातमा रहेको छैन। किनकी उनी सम्बद्ध पार्टी यतिबेला गठबन्धनमा छ । त्यसैले उनको रोजाइमा परेको काठमाडौं वा गुल्मीमा नेकपा एकीकृत समाजवादीको भागमा पर्यो भने मात्र झाँक्रीको दाबी सही साबित होला ।

‘हाम्रो पार्टी गठबन्धनमा भएकाले गठबन्धनबाटै निर्वाचन लड्ने कुरामा दुइमत नै भएन,’ उनी भन्दै थिइन्, ‘मुख्य कुरा गठबन्धनका दलले कहाँबाट टिकट दिन्छ भन्ने हो ।’

यतिबेला समाजवादीले प्रत्यक्षमा २४ सिटको दाबी गर्न सक्ने झाँक्रीले संकेत गरिन् । ‘एमालेबाट विद्रोह गरी एकीकृत समाजवादीमा आएका २४ सांसदहरुसहित अन्य सुरक्षित हुनेगरी भागबण्डा हुनुपर्ने हाम्रो माग छ,’ उनले भनिन् ।

झाँक्रीको रोजाइमा काठमाडौं–२

झाँक्रीले काठमाडौंबाट निर्वाचन लड्ने सोच बनाउँदा २ नम्बर क्षेत्रलाई रोज्ने संकेत गरिसकेकी छन् । यो क्षेत्रबाट यसअघि २०७० र २०७४ को निर्वाचनमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल विजयी बनेका थिए ।

त्यसैले यो क्षेत्र एकीकृत समाजवादीका लागि बलियो क्षेत्रका रुपमा पनि मानिन्छ । २०७४ को निर्वाचनमा बाम गठबन्धनका उम्मेदवार बनेका नेता नेपालले १२ हजार बढी मतान्तरसहित जित निकालेका थिए । उनले २७ हजार ३ सय ६६ मत ल्याउँदा नेपाली कांग्रेसका उम्मेद्वार दिपक कुइँकेलले १४ हजार ९ सय ३ मत प्राप्त गरेका थिए । माधव नेपाल आगामी निर्वाचनमा उनको गृह जिल्ला रौतहतबाट चुनाव लड्ने तयारी गरेसँगै झाँक्रीको नजर यतातिर गढिएको हो । यद्यपि, अध्यक्ष नेपाल काठमाडौं–२ बाटै चुनाव लड्ने भएमा भने झाँक्रीले गुल्मी—२ तिरको बाटो तताउने उनका निकटस्थ बताउँछन् ।

काठमाडौंमा एकीकृत समाजवादीलाई कत्तिको सहज ?

स्थानीय तहको निर्वाचनको कुरा गर्ने हो भने काठमाडौं क्षेत्र नं २ मा एकीकृत समाजवादीको मत कमजोर छ । सो निर्वाचन क्षेत्रमा शंखरापुर नगरपालिकासहित काठमाडौं महानगरपालिकाको वडा नं ९ र ३२ सहित कागेश्वरी मनोहरा नगरपालिकाको वडा नं ४, ५, ६, ७, ८ र ९ पर्दछ । सबै वडाहरुमा वडाध्यक्षले पाएको मतको हिसाब गर्ने हो भने एकीकृत समाजवादी तेस्रो नम्बरमा छ । सो क्षेत्रमा एकीकृत समाजवादीले ७ हजार ९ सय ११ मत प्राप्त गरेको छ । त्यस्तै नेकपा एमालेबाट वडाध्यक्षका उम्मेदवारहरुले कुल १७ हजार ३ सय २८, नेपाली कांग्रेसले १४ हजार १ सय २८, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले ७२ सय र नेकपा माओवादी केन्द्रले ३ हजार १ सय ३१ मत प्राप्त गरेका छन् । वडाध्यक्षहरुले ल्याएको मतको आधारमा तेस्रो रहेको नेकपा एसबाट चुनाव उठ्दा झाँक्रीलाई चुनौतीपूर्ण देखिन्छ । तर, काठमाडौंमा लामो समय राजनीति गरेको साथै मन्त्री हुँदा काठमाडौं केन्द्रीत काम गरेको कारण उनलाई केही सहज भने पक्कै देखिन्छ ।

एमाले विभाजनअघि र पछि एमाले अध्यक्ष केपी शर्मा ओलीको सबैभन्दा विरोध गर्ने पात्रमध्ये एक भएका कारण पनि एमालेले उनलाई कठिनाई खडा गर्ने खालको उम्मेदवार पक्कै उठाउनेछ ।

झाँक्रीलाई गुल्मी–२ मा कति सहज ?

काठमाडौंबाट टिकट नपाएको अवस्थामा उनी गुल्मी–२ बाट निर्वाचन लड्नेछिन् । गुल्मीबाट निर्वाचन लडेको अवस्थामा उनको प्रतिष्पर्धा एमालेका गोकर्ण विष्टसँग पर्ने देखिन्छ । यसअघि विष्ट सोही निर्वाचन क्षेत्रबाट निर्वाचित सांसद हुन् । त्यसैले पनि विष्टलाई नै एमालेले उम्मेदवार बनाउने सम्भावना बलियो छ । विष्टसँगको प्रतिष्पर्धा झाँक्रीका लागि फलामको च्युरा नहोला भन्न सकिन्न ।

स्थानीय निर्वाचनको कुरा गर्ने हो भने गठबन्धनका अन्य दलहरुले ल्याएको मत र नेकपा एमालेको एक्लैले ल्याएको मत झण्डै बराबर छ । स्थानीय निर्वाचनमा नेकपा एमालेका वडाध्यक्षका उम्मेदवारले ३१ हजार २ सय ५३ मत प्राप्त गरेको छन् । तर, एकीकृत समाजवादीका उम्मेदवारले जम्मा ६ सय ५८ मत मात्र प्राप्त गरेको अवस्था छ । यता नेपाली कांग्रेसका उम्मेदवारले २९ हजार ८ सय २१ र माओवादी केन्द्रले १ हजार ८ सय ४१ मत प्राप्त गरेको थियो । यसरी गठबन्धन भएको अवस्थामा पनि झाँक्रीलाई सो क्षेत्रबाट निर्वाचन जित्न मुस्किल पर्ने देखिन्छ ।

उसो त, विद्यार्थी राजनीतिबाट राष्ट्रिय राजनीतिमा छलाङ मारेकी झाँक्रीले यो निर्वाचनमा गतिलो जोखना हेर्नुपर्ने देखिन्छ ।

 

यो पनि

‘काठमाडौं क्षेत्र नं ६ मेरो रोजाइ हो, भीमसेन सरको सहयोग मलाई रहन्छ’ (भिडियोसहित)

आम निर्वाचन : के छ विश्वप्रकाश शर्माको तयारी ?

प्रतिष्पर्धी एउटै मोर्चामा : सिन्धुपाल्चोक-१ मा अग्नि कि मोहन ?

काभ्रेपलाञ्चोक–२ मा गोकुल बाँस्कोटालाई यसकारण हम्मे–हम्मे !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?