आफन्त नै बन्दैछन् काल, कता जाँदैछ नेपाली समाज ?

गत सोमबार काठमाडौंको तारकेश्वर नगरपालिका–२ पदमसालमा एकै परिवारका ४ सदस्य मृत भेटिए । बिहान अबेरसम्म पनि घरको दैलो नखुलेपछि छिमेकीले प्रहरीलाई खबर गरे । प्रहरीले ढोका फोडेर भित्र जाँदा ४१ वर्षीय दिनेश पाण्डे, उनकी श्रीमती ३९ वर्षीया सुनीता, १३ वर्षीया छोरी आशिका र ८ वर्षीय छोरा आशिकको शव फेला पर्यो । साथै, घटनास्थलमा प्रहरीले एउटा ‘सुसाइड नोट’ पनि फेला पार्‍यो ।

काभ्रेस्थली घटना अपडेट : सुनिताका माइती पक्षले शव उठाउन दिएनन्, घटनास्थलमा नाराबाजी « News of Nepal

जसमा दिनेशले नै परिवारका तीनजना सदस्यको हत्या गरी आफूले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ । दिनेश रोजगारीका सिलसिलामा झण्डै १२ वर्ष कुवेतमा बसेर केही वर्षअघि मात्र नेपाल फर्किएका थिए । दिनेश र सुनीताबीच राम्रो सम्बन्ध नरहेको स्थानीयहरुले सुनाएका छन् । त्यहीबाट उत्पन्न मनमुटावले यो घटनाको सिर्जना गरेका प्रहरीको अनुमान छ । यो घटनालाई प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

२०७८ भदौ २६ गते रातको १ बजे रुपन्देहीको गैडहवा ६ स्थित घरको छतमा आमा बाबुले आफ्नै ८ महिने शिशुको घाँटी रेटी हत्या गरे । बाबु श्रीराम मल्लाह र आमा रेनुले ८ महिने शिशुको हसियाँले घाँटी रेटेर विभत्स हत्या गरेर प्रहरीसमक्ष छिमेकीले आफ्नो बच्चाको हत्या गरेको उजुरी दिनसमेत भ्याए ।

तर, प्रहरीको अनुसन्धानमा आमाबाबु मिलेर नै बच्चाको हत्या गर्ने अनि आफूहरुले पनि आत्महत्या गर्ने योजना बनाएको पत्ता लाग्यो । सोही योजना अनुसार उनीहरुले रातको १ बजे बच्चाको हत्या गरे । त्यसपछि रेनुले पनि आफूले आफैँलाई हँसियाले घाँटी रेट्न खोजिन् । तर, सकिनन् । आत्महत्या गर्न नसकेपछि उनीहरुले छिमेकीलाई फसाउने योजना बनाए । यद्यपि, प्रहरी अनुसन्धानले अपराधको पोल खुल्यो ।

यो पनि पढ्नुहोस् : आमाबुबाले गरे ८ महिने शिशुकाे घाँटी रेटी हत्या, तीनै जना मर्ने थियाे ‘प्लान’

२०७७ भदौ १९ गते शुक्रबार भक्तपुरको मध्यपुर थिमि नगरपालिका ९ मा एकै परिवारका तीन जना घरभित्र मृत फेला परे । ३६ वर्षीय सुदीप अधिकारी, उनकी ३४ वर्षीया पत्नी सम्झना र १५ वर्षीय छोरा सुशान्तसहित घरमा पालिएको कुकुरको शव भेटिएको थियो ।

सुदीपले नै आफ्नी श्रीमती र छोराको हत्या गरेर आत्महत्या गरेका प्रहरीको अनुसन्धानबाट खुलेको थियो ।

यो पनि पढ्नुहोस् : भक्तपुर घटनाकाे नालीबेली  

महोत्तरी लोहारपट्टी नगरपालिका वडा नम्वर ७ भ्रमरपुराकी सुजिता ठाकुर २०७८ जेठ २० गते एकाएक बेपत्ता भइन् । हराएको ३८ दिनपछि आफ्नै घडेरीमा निर्माणाधीन शौचालयको ट्याङ्की भित्र गाडिएको सुजिताको शव फेला पर्‍यो ।

प्रहरीको अनुसन्धानले सुजिताको आफ्नै देवरले हत्या गरेको पत्ता लगायो । पारिवारिक विवाद र अंशबण्डाका कारण रूपेशले आफूले हत्या गरेको प्रहरीसमक्ष स्वीकारेका थिए ।

यो पनि पढ्नुहोस् : सुजिता ठाकुर घटना 

माथिका यी ४ घटना त प्रतिनिधिमात्र हुन् । परिवारकै सदस्यबाट हत्या भएका थुप्रै घटनाका चाङ प्रहरीसामू छन् । यसरी घरै भित्र हत्याका शृंखला बढ्नु ठूलो चिन्ताको विषय रहेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरिक्षक टेकप्रसाद राई बताउँछन् ।

पारिवारिक किचलो मदिरा तथा लागूऔषधको सेवन, असन्तोष, अतृप्त चाहना, शंका, उपशंका, परिवारभित्र धनसम्पत्तिको बाँडफाँड विवाद, विवाहेत्तर सम्बन्ध, मानसिक समस्यालगायतले यस्तो घटना हुने गरेको राईको भनाइ छ ।
‘पारिवारिक किचलो हुँदा पनि हत्यासम्मकै घटना हुनुमा मदिरा तथा लागूऔषधको सेवन नै कारक तत्व भएको पाएका छौँ,’ उनी भन्छन्, ‘यस्ता घटना धेरै छन् जसमा सामान्य विवाद हुँदा पनि मानिसहरुले ज्यान गुमाइरहेका छन् । जसकारण हो मदिरा तथा लागूऔषधको सेवन ।’

तथ्यांकले झस्काउँछ 

आर्थिक वर्ष २०७८/०७९ मा भएका घटनाहरुको प्रहरी तथ्यांक हेर्ने हो भने नाताको आधारमा कर्तव्य ज्यानका २ सय ५२ मुद्दा दर्ता भएका छन् । जसमा २ सय ४० जना पुरुष र ८२ महिला गरी ३ सय २२ जना पक्राउ परेका छन् ।

प्रहरी तथ्यांकलाई पल्ट्याउदा आर्थिक वर्ष २०७८/७९ मा श्रीमानबाट ९७ जना श्रीमतीको हत्या भएको छ भने श्रीमतीद्वारा २८ जना श्रीमानहरुले ज्यान गुमाएका छन् । त्यस्तै, बाबुआमाबाट ११ जना छोराछोरी, छोराबाट ३२ जना आमाबाबुले ज्यान गुमाएका छन् । आमाले ६ नवजात शिसुको हत्या गरेका छन् । आमाद्वारा हत्या भएका छोराछोरीको संख्या ४ रहेको छ भने बाबुद्वार हत्या भएका छोराछोरीको संख्या २ रहेको छ । हजुरबा हजुरआमाबाट पनि एक जना नाती नातीनाको हत्या भएको छ ।

आर्थिक वर्ष २०७७/०७८ को तुलनामा आर्थिक वर्ष २०७८/०७९मा नाताको आधारमा कर्तव्य ज्यान मुद्दामा पक्राउ पर्नेहरुको संख्यामा थोरै कमी आएको छ । आर्थिक वर्ष २०७८/०७९ मा २ सय ४० जना पुरुष र ८२ जना महिला गरी ३ सय २२ जना पक्राउ परेका थिए । भने, आर्थिक वर्ष २०७८/०७९ मा २ सय ७७ पुरुष र ८६ जना महिला गरी ३ सय ६३ जना पक्राउ परेका छन् ।

पछिल्लो समय विकसित नेपालको सामाजिक संरचनाका कारण पनि आफन्तहरुबाट आफन्तहरु नै मारिने गरेको समाजशास्त्री तथा त्रिभुवन विश्वविद्यालयका सह–प्राध्यापक डा. टीकाराम गौतमको बुझाई छ ।

‘पछिल्लो समय मानिसहरुको बदलिँदो इच्छा, आकांक्षाले पनि आन्तरिक द्वन्द्व निम्त्याउने र त्यसैले हत्याको बाटो सिर्जना गर्ने गरेको छ,’ डा. गौतम भन्छन्, ‘मानिसहरुले आफ्ना आफन्त वा घरपरिवारका सदस्यहरुसँगै आफ्ना कुराहरु सेयर गर्ने र गोप्य कुराहरु खोल्ने गर्छन् । जसका कारण मन मिल्ने बेलासम्म ठीक हुँदै जाने र मनमुटाब सुरु भएपछि घटनाले विभिन्न रुप लिने गर्छ ।’

मानसिक पाटोमा ध्यानै दिइएन  

यो त भयो सामाजिक पाटो । कतिपय अवस्थामा यस्ता घटनालाई मानसिक पाटोबाट पनि हेरिनुपर्ने मनोविद् करुणा कुँवरको मत छ । ‘हामी मानिसलाई शारीरिक रुपमा फिट देख्दैमा उसलाई स्वस्थ, हट्टाकट्टा छ भन्ने सोच्छौं,’ कुँवर भन्छिन्, ‘मानिसको हरेक क्रियाकलापले उसको मानसिक पाटोलाई उजागर गरिरहेको हुन्छ त्यसैले उसको व्यवहारलाई बुझ्न जरुरी हुन्छ ।’

कुनैपनि मानिसको व्यवहारमा आएको परिवर्तनलाई बेलैमा आँकलन गर्न सकिएन भने यसले बिकराल रुप लिन सक्ने कुँवर बताउँछिन् । ‘मानसिक स्वास्थ्य समस्याका कुराहरु तत्कालै देखिँदैनन् यसले त बिस्तारै आफ्नो रुप बढाउँदै जान्छ,’ उनले भनिन्, ‘पछिल्लो काभ्रेस्थलीको घटनालाई हेर्ने हो भने पनि दिनेश लामो समयदेखि डिप्रेसनको बिरामी थिए जस्तो देखिन्छ, उनीहरुको श्रीमान श्रीमतीबीचमा लामो समयदेखि वादविवाद हुँदै आएको र प्रहरीले मेलमिलाप गराएको कुरा आएको छ । तर, त्यहाँ मानसिक सचेतनाका कुरामा ध्यानै दिइएन भन्ने बुझिन्छ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?