भक्तपुर घटना रहस्यमय बन्दै : आमा छोराको शवमा ओढाईएको थियो ‘पिताम्बर’ !  

काठमाडौं – शुक्रवार भक्तपुर मध्यपुर थिमि नगरपालिका – ९ स्थित निकोसेरामा रहेको एउटा घरभित्र सोही घरधनी ३६ वर्षीय सुदीप अधिकारी, उनकी ३४ वर्षीया पत्नी सम्झना अधिकारी र १५ वर्षीय छोरा सुशान्त अधिकारी सहित घरमा पालिएको सेतो रङको कुकुरको शव भेटिएको घटना रहस्यमय बनेको छ ।

हिजो शुक्रवार करिब ५ बजेतिर एकै परिवारका तीन जनाको शव भेटिएको घटनामा मृतक सुशान्त अधिकारी (छोरा) को शवमा रामनाम लेखिएको पहेँलो रङको पिताम्बर ओढाईएको अवस्थामा भेटिएपछि घटना रहस्यमय बन्दै गएको हो । यस्तै उनको आमा सम्झनाको शवमा सेतो बुट्टे पिताम्बर ओढाइएको अवस्थामा फेला परेको हो ।

क्राइमसिन हेरेपछि घटनास्थल पुगेका छिमेकी, जनप्रतिनिधिले घटना ‘हत्या’ नै हो भन्ने अनुमान गरेका छन् ।

आफ्नै घरमा भेटिएका परीवारका तिनजना सदस्य र कुकुरको हत्या विषयमा अनुसन्धान गर्न पुगेको प्रहरी टोलीले सो घटना बारे दिएको जानकारी यस्तो छ ।
घटना थाहा भएको समय : शुक्रवार साँझपख (५ बजेको समयमा)

स्थान : भक्तपुर, मध्यपुर थिमि नगरपालिका – ९ निकोसेरा

घटनास्थल :  महानगरीय प्रहरी वृत्त थिमिदेखि करिब ७०० मिटर पर

घटना : पहिलो, दोस्रो र तेस्रो तलामा परिवारका तीन सदस्यसहित कुकुरको शव (३६ वर्षीय सुदीप अधिकारी, उनकी ३४ वर्षीया पत्नी सम्झना अधिकारी र १५ वर्षीय छोरा सुशान्त अधिकारी र सेतो रङको कुकुर)

दृष्य : घरको मुल ढोका उघारै, शवहरुबाट दुर्गन्ध आईरहेको

मृतक सुदीप अधिकारीका भाइ सुनिल अधिकारी भक्तपुर मध्यपुर थिमि नगरपालिका–९ निकोसेरास्थित दाइको घरमा जाँदा देखेको विभत्स दृष्य हो यो । परिवारका सदस्यको विभत्स शव तलैपिच्छे भेटिनु र शवबाट दुर्गन्ध आइरहेको अकल्पनिय दृष्य देखेपछि सुदीपका भाईले प्रहरीलाई खबर गर्छन् ।

महानगरीय प्रहरी परिसर भक्तपुर, अपराध महाशाखा र सिआईबीको टोली घटनास्थल पुग्छ ।

स्थानीय पनि भेला हुन्छन् ।

जनप्रतिनीधि पनि घटनास्थल पुग्छन् ।

विभत्स घटनाको विषयमा प्रहरीले मिहिन ढंगले जाँचपड्तालसहित अनुसन्धान शुरु गर्छ ।

मृतकको घर नजिकैका एक छिमेकीले दिएको जानकारी अनुसार उनीहरुको परिवार तीन दिनदेखी बाहिर निस्किएका थिएनन् । मृतकले आफ्नै घरको पहिलो तल्लामा रहेको सटरमा सञ्चालन गर्दै आएको किराना पसल पनि तीन दिन देखि बन्द रहेको छिमेकीले बयान दिएका छन् ।

मृतकका छिमेकी लक्ष्मी लामाले तीन दिनदेखि पसल बन्द रहेको र लकडाउनका कारण नखोलिएको होला भन्ने आफूले ठानेको बताएकी छिन् । मृतकका अर्का एकजना छिमेकीले तीन दिन देखि सो घर सुनसान देखेको बयान दिएका छन् ।

सडकसँगै जोडीएको साढे तीन तले घरको भुई तलामा अधिकारी दम्पतीले किराना पसल संचालन गर्दै आएका थिए।

यसबाहेक उनीहरु अन्य कुनै पेशा व्यवसायमा संलग्न /आवद्ध रहेको गतिविधि देखिएको छैन।

प्रहरी स्रोतले दिएको जानकारी अनुसार मृतक सुदीप एक वर्षअघि औषधी पसलमा काम गर्थे पछि सो किराना पसल मात्रै सञ्चालन गर्दै आइरहेका थिए ।

उनका छिमेकीले कहिलेकाँही मृतक सुदीपले मादक पदार्थ सेवन गर्ने गरेको र सो घरमा जहिल्यै पनि झगडा परिरहेको आफूहरुलाई थाहा भएको बताएका छन् ।

मृतक सुदीपको आफ्नो छोरा सुशान्तसँग पनि बारम्बार अनेकन विषयमा झगडा परिरहन्थ्यो । मृतकका आफन्तले दिएको जानकारीअनुसार पछिल्लो समय मृतक करिब ६ महिनायता भएको लकडाउनका कारण पसल पनि खोल्न नपाएको र अन्य काममा नगएको भन्दै मृतककी श्रीमतीले बारम्बार श्रीमान् लाई टोकसो गरिरहन्थीन् ।

विभत्स दृश्य देखेका धेरैले उनको रिसईबी हुनसक्ने र कसैले परिवारकै नरसंहार गरिदिएको अनुमान गरेतापनि प्रहरीले पछिल्लो समय फेला पारेको केहि ‘क्ल्यू’ का कारण मृतक सुदीप अधिकारीले श्रीमती र छोराको निर्मम हत्या गरी कुकुरलाई विष खुवाएर मारी आफूले पनि विष सेवन गरी आत्महत्या गरेको हुनसक्ने निचोड नजिक पुगेको छ ।

घटना भएको घरको ढोकामा लगाउने साँचोसहितको ताल्चा मृतक सुदीपले प्रयोग गर्ने मोटरसाइकलमाथि भेटिएको छ।

घरको मूलढोका खुलै रहेको अवस्थाले बाहिरी पक्षबाट घटना घटाएको आशंका पनि गर्न सकिने प्रहरीले जनाएको छ । घरभित्रै भएपनि वा बाहिरबाट घटाएको भएपनि घटना केहि योजनाबद्ध ढंगले भएको देखिएको प्रहरीको भनाई छ ।

मृतक ३ सहित कुकुरको पनि शव परिक्षणका लागि केएमसी अस्पताल लगिएको छ । त्यसपछि शवको भिसेरा टेष्ट गरिनेछ ।

मृत अवस्थामा भेटिएकी महिलाको शव खाटमा लमतन्न अवस्थामा देखिन्छ । उनको शरिरभरि रगत लागेको र पिडौलामा केही खत जस्तो र शरिर गलेको देखिन्छ । रिपोर्टका क्रममा उनीमाथि धारिलो हतियार प्रयोग भएको समेत देखिएको छ । उनको शरीरमा सेतो बुट्टे पिताम्बर ओढाइएको छ । उनको शव फुलेको, छालाबाट पानी बगिरहेको, शरीरको रङ निलो भएको र शव निकै गन्हाउने देखिन्छ । यो शवको हत्या पनि केहि दिन अघिकै हुनुपर्ने प्रहरीको भनाई छ ।

त्यस्तै मृत अवस्थामा भेटिएको उनका छोराको शव खाटमा लमतन्न अवस्थामा भेटिएको छ । उनले केहि प्रतिकार गरेजस्तो देखिन्छ । उनको खाटको भित्तामा पनि रगत लत्तपतिएको छ । पहिलो तलामा भेटिएको छोराको शव रगतको आहलमा डुबेको जस्तो देखिन्छ । पोष्टमार्टमका क्रममा उनको टाउकोमा चोट देखिएको छ। उनको शवमा रामनाम लेखिएको पहेँलो रङको पिताम्बर ओढाइएको छ। उनले ओच्छ्याएको तन्ना पनि च्यातिएको अवस्थामा छ। मृतकमध्ये सबैभन्दा विभत्स शव छोरा सुशान्तकै देखिन्छ । उनको शव निकै गलेको र गन्हाउने भइसकेको कारण केहि दिन अघि हतया भएजस्ता देखिएको अनुसन्धानमा खटिएको प्रहरी स्रोतले जनाएको छ ।

घटनास्थलमा एउटा धारिलो हतियार समेत फेला परेको छ ।

मृत अवस्थामा भेटिएको सेतो रङको कुकुर कालो रङको झोला जस्तो देखिने वस्तु नजिकै सिक्रीबाट नजिकै तर नबाँधिएको अवस्थामा देखिन्छ । कुकुरको मुखमा फिँज आएजस्तो देखिएको प्रहरीले जनाएको छ । प्रहरीको अनुमानमा यस कुकुरलाई विष खुवाएर मारेको जस्तो देखिन्छ ।

भान्छामा केहि खानेकुरा पनि भेटिएका छन् । ति खानेकुराबाट विषको गन्ध आईरहेको प्रहरीको भनाई छ । ति खानेकुरा पनि अनुसन्धानका लागि प्रयोगशाला पठाइएको छ ।

घरमुली अर्थात् घरको सबैभन्दा माथिल्लो तल्लामा सुदीप अधिकारीको शव भेटिएको हो। सुदीपको तुलनामा बाँकी दुई शवबाट बढी गन्ध निस्किरहेको थियो। यसैले अनुसन्धान अधिकारीले घरधनीको मृत्यु अन्य ३ शवभन्दा केही ढिलो भएको देखिएको बताएका छन् । सुदिपको शरीरमा भने कुनै बाहिरी चोटपटक छैन । बरु बाथरुममा बान्ता गरेको, कमिजमा रगतका छिटा देखिएको, शव घोप्टिएको अवस्थामा छ । ढोकामा घोप्टो परेको अवस्थामा देखिन्छ, उनको शव । उनको कमिजमा रगतका छिटाहरु समेत देखिएको छ। सो शव नजिकै पिठो पनि भेटिएको छ । कचौराको पिठो आदी पोखिएको छ ।

घरको मूल ढोका आधा खुल्ला आधा बन्द जस्तो ढप्काएको जस्तो र माथिका सबै कोठाको चुकुल खुल्ला गरिएको अवस्थामा थियो ।

यी तमाम प्रमाण फेला पारेको प्रहरीले सम्झना र सुशान्तको सुतेकै अवस्थामा धारिलो हतियार प्रयोग गरी हत्या गरेर सुदिप अधिकारी आफूले पनि विष सेवन गरी आत्महत्या गरेको र कुकुरले पनि विष मिसीएको खानेकुरा खाएर आत्महत्या गरेको हुनसक्ने प्रहरीको अनुसन्धानले देखाएको हो ।

यद्यपी विभिन्न प्राविधीक पाटो र कोणबाट घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  घटनाको अनुसन्धानमा महानगरीय प्रहरी परिसर भक्तपुर, केन्द्रीय अनुसन्धान ब्युरो, महानगरीय अपराध महशाखाको टोली लागिपरेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?