राजनीतिक प्रतिशोधको शिकार बन्दै शिक्षक

लोकपथ
12k
Shares

काठमाडौं । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकामा यतीबेला शिक्षकको विषयालाई लिएर विवाद सिर्जना भएको छ । गाउँपालिकाको वडा नं १ मा नौलेख स्वीस फाउण्डेशनको सहयोगमा संचालन हुँदै आएको नौलेख आधारभूत विद्यालयमा विगत १३ वर्षदेखि अध्यापन गराउँदै आएका दुई शिक्षकलाई पालिकाले हटाउने निर्णय गरेसँगै विवाद उत्कर्षमा पुगेको हो ।

दुई शिक्षकमध्ये आङ काण्डी शेर्पालाई पालिकाले वैशाख १५ देखि ३१ गतेसम्म विद्यालयमा अनुपस्थित रही राजनीतिक दलको कार्यक्रममा सहभागी भएको प्रति स्पष्टिकरण सोधेको थियो । त्यस्तै अर्का शिक्षक जाङ्बु शेर्पालाई भने लामो समयसम्म पटकपटक विद्यालयमा हाजिरी नहुनुको कारण खुलाएर लिखित स्पष्टीकरण सोधेको थियो ।

पालिकाको जेठ ३१ गतेको पत्र अनुसार दुवै शिक्षकले स्पष्टीकरण पनि बुझए । तर, शिक्षकले दिएको स्पष्टीकरण चित्तबुझ्दो भएन भन्दै पालिकाले दुवै शिक्षकलाई साउन १ गतेदेपखि हटाउने निर्णय गर्यो । अहिले ती शिक्षकलाई विद्यालयमा हाजिर गर्न दिइएको छैन ।

शिक्षकको पुनर्बहलीको विषयलाई लिएर साउन १० गते उक्त विद्यालय रहेको पैंयाका स्थानीय, विद्यार्थी, अभिभावक तथा सरोकारवालाहरको भेला पनि बस्यो । उक्त भेलाले गरेको निर्णय आज (बुधबार) गाउँपालिकामा पनि बुझाइएको छ ।

पालिकालाई बुझाएको पत्रमा ‘यदी गाउँपालिकाले हाम्रो माग सम्बोधन नगरे नौलेख स्वीस फाउण्डेशनमार्फत विद्यार्थीहरुले पाउँदै आएको छात्रवृत्ति तथा पैंयाबासी पाउँदै आएको सबै सेवाहरु नौलेख स्वीस फाउण्डेशनले कटौती गर्नेछ’ भनिएको छ ।

पैंयाबासीले पत्रमार्फत गाउँपालिकाले शिक्षकको पुनर्बहलीको विषयलाई साउन १४ गतेभित्र सुनुवाई नगरे विद्यालयमा ताला लगाएर पालिकाको कार्यालयमा आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् ।

शिक्षकलाई हटाउने विषयमा पालिकाले राजनीतिक प्रतिशोध साँधेको स्थानीयको आरोप छ । उक्त गाउँपालिकामा एमालेको बहुमत छ । पाँच वटा वडा रहेको पालिकामा वडा नं १ मा नेपालीका कांग्रेसका वडाध्यक्ष छन् भने बाँकी सबैमा एमाले रहेको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?