बलात्कार विरुद्धको संकल्प प्रस्ताव ३५ दिनपछि आज संसदमा पेश हुँदै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद वृन्दा पाण्डेले गत असार २१ गते महिला हिंसा र बलात्कार विरुद्ध पाठ्यक्रम बनाउन संसदमा दर्ता गराएको संकल्प प्रस्ताव ३५ दिनपछि सम्भावित कार्यसूचीमा समेटिएको छ । 

संकल्पल प्रस्तावलाई सोमबारको संसदको कार्यसूचीमा समेटिएको हो । मुल प्रस्तावक पाण्डे भएपनि २८ सांसदले उनलाई साथ दिएका छन् । 

सांसद पाण्डेले दर्ता गराएको उक्त संकल्प प्रस्ताव सभामुख कृष्णबहादुर महराले असार ३२ गतेको सम्भावित कार्यसूचीमा राखेका थिए । तर, प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रहमा उक्त प्रस्ताव सभामुख महराले छलफलमा लैजानबाट रोकेका थिए । 

सभामुख महराले संसदीय दलको नेतालाई थाहै नदिइ प्रस्ताव अगाडि बढाइएको भन्दै प्रधनमन्त्री ओली असन्तुष्ट भएका थिए ।

पाण्डेको प्रस्तावमा महिला हिंसा, शोषण र बलात्कारमा परेकालाई तत्काल क्षतिपूर्ति दिन, स्थानीय तहदेखि संघीय स्तरसम्म जनचेतनाका कार्यक्रम ल्याउन र सामाजिक न्यायको कुरा विद्यालयस्तरको पाठ्यक्रममा समावेश गर्न संसदले सरकारलाई निर्देशन दिनु पर्ने उल्लेख छ ।

महिलामाथि हुने सबै प्रकारका विभेदविरूद्धको महासन्धि (सिड) अन्तर्गत समावेश शारिरिक, मानसिक, यौनजन्य, मनोवैज्ञानिक एवं कुनै किसिमको हिंसाजन्य कार्य र शोषणलाई दण्डनीय भनेकाले महिलामाथि हुने जघन्य अपराध (हत्या बलात्कार बोक्सी आरोपमा उत्पीडन, दाइजोको निहुँमा हुने कुटपीट)बाट पीडितलाई उपचार र क्षतिपूर्तिको व्यवस्था कार्यान्वयनमा ल्याउन पाण्डेले प्रस्ताव राखेकी हुन् । 

संसद बैठक सोमबार दिउँसो एक बजे बोलाइएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?