न्यायको माग गर्दै काँग्रेसको केन्द्रीय कार्यालयमा अनशन

पोखरा– नेपाली काँग्रेसका नेता रामजी पौडेल हत्यामा आफूलाई दोषी बनाइएको भनी न्यायको माग गर्दै पार्टीका तत्कालीन लेखनाथ नगर सभापति राजेन्द्रमणि लामिछाने आजदेखि सानेपास्थित काँग्रेसको केन्द्रीय कार्यालयमा आमरण अनशन बसेको छन् ।

घटनामा आफू निर्दोष रहेपनि विभिन्न तवरबाट हत्याको आरोप आइरहेका अवस्थामा त्यसबाट मुक्त गरियोस् भनेर पटकपटक माग गर्दा पनि पार्टीबाट न्याय नपाएपछि अनशन बस्न बाध्य भएको लामिछानेको भनाइ छ । विसं २०७२ साउन २८ गते राति काँग्रेसका कार्यकर्ताद्वारा आफ्नै पार्टीका नेता रामजीको  हत्या भएको थियो ।

हत्यापछि नेता रामजीका दाजु राममणि पौडेलले जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएकामा घटनामा संलग्नमध्ये छ जनालाई कास्की जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको छ । आफूलाई लगाइएको आरोप पार्टीले सार्वजनिक रुपमा फिर्ता लिनुपर्ने माग गर्दै उनले कानूनीरुपमा मुद्दा फिर्ता भए पनि परिवारका साथै काँग्रेस पार्टीका केहीले अझै पनि हत्याकाण्डको योजनाकार बनाएको बताए ।  घटनाको सत्यतथ्य छानबिन गरी यथार्थ कुरा बाहिर आउनुपर्नेमा उनले जोड दिए ।

हत्या आरोपमा किटानी जाहेरीपछि २६ दिनसम्म कास्की प्रहरीको हिरासतमा राखिएका लामिछानेलाई आरोप प्रमाणित हुन नसकेपछि रिहा गरिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?