काठमाडौं । ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनको मतपरिणाम आउनेक्रम जारी रहेको छ ।
देशभरको ७५३ पालिकामध्ये हालसम्म ४५० भन्दा बढी स्थानको मतपरिणाम आइसकेको छ । भने धेरै स्थानीय तहको मतपरिणाम आउने अन्तिम चरणमा रहेको छ ।
मतपरिणाम आउँदै गर्दा कतै अघिल्लो निर्वाचनकै जस्तो परिणाम आएका छन् भने कतिपय स्थानमा अघिल्लो पटकको भन्दा फरक नतिजा आएको छ । त्यसो त निर्वाचनको परिदृष्य फरक भएका कारण सोचेभन्दा फरक परिणाम आइरहेको अनुमान गरिन्छ।
सत्ताको नेतृत्व गरिरहेका दलहरुको गठबन्धन, अघिल्ला स्थानीय सरकारले घोषणा अनुसार काम गर्न नसक्नु नै सोचेजस्तो परिणाम आउन नसक्नुको मुख्य कारण हो।
हालसम्म आएको परिणामलाई आँकलन गर्ने हो भने अघिल्लो निर्वाचन भन्दा कतिपय राजनीति दलको पल्लाभारी हुने देखिन्छ भने कतिपय राजनीतिक दल खुम्चिने आँकलन गरिएको छ । मतपरिणाम अनुसार अघिल्लो निर्वाचनमा सबैभन्दा बढी स्थानमा जितेको नेकपा एमाले यसपटकको निर्वाचनमा केही खुम्चिने देखिएको छ । त्यसो त प्रारम्भिक नतिजा अनुसार माओवादी केन्द्रले भने केही सुधार गरेर जाने आँकलन गरिएको छ ।
अघिल्लो स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले २९४, नेपाली कांग्रेसले २६६, माओवादी केन्द्रले १०६ स्थानमा जित हासिल गरेको थियो ।
त्यसो त हालसम्म आएको मतपरिणाम अनुसार नेपाली कांग्रेसले अग्रता कायम गरेको छ । हालसम्म नेपाली कांग्रेसले देशभरको २२२ स्थानीय तहको प्रमुखमा जित हासिल गरिसकेको छ । भने ९५ स्थानमा अग्रता कायम रहेको छ । त्यसो हुँदा निर्वाचनको अन्तिम परिणाम आइसक्दा पनि नेपाली कांग्रेसले अग्रता कायम गर्ने संकेत देखिएको छ । सरकारको नेतृत्व गरिरहेको सत्तारुढ गठबन्धन तालमेल गरेर अघि बढेका कारण पनि यस निर्वाचनमा कांग्रेससहित अन्य सत्तारुढ दलहरुलाई जितको लागि सहज भएको हो । मुख्य रुपमा जसको फाइदा नेपाली कांग्रेसलाई पर्ने देखिन्छ ।
यता हालसम्म आएको परिणामलाई आधार मान्ने हो भने २०७४ को निर्वाचनमा २९४ सिटसहित अग्र स्थानमा रहेको नेकपा एमाले खुम्चिने देखिन्छ । हालसम्म नेकपा एमालेले देशभर १४४ स्थानमा मात्र जित हासिल गरेको छ भने ५६ स्थानमा अग्रता कायम गरेको छ । पार्टी विभाजन भएको र अन्य दलहरु गठबन्धन गरेर गएका कारण धेरै स्थानहरुमा नेकपा एमालेले पराजय भोगेको छ । गठबन्धन र पार्टी विभाजनका कारण दशकौँदेखि लालकिल्लाको रुपमा रहेका धेरै पालिकादेखि वडासम्म एमालेले पराजय भोगेको छ । भने धेरै महानगर र उपमहानगरमा समेत जितको लागि सकस देखिन्छ।
यता गठबन्धन गरेर निर्वाचनमा होमिएको नेकपा माओवादी केन्द्रले भने यस निर्वाचनमा केही सुधार गरेर जाने संकेत देखिएको छ । अझै करिब ३०० स्थानको मतपरिणाम आउँन बाँकी रहँदा माओवादी केन्द्रले अहिले आएको आधारमा मत ल्याएमा अघिल्लो निर्वाचनमा भन्दा सिट संख्यामा सुधार हुने प्रक्षेपण गरिएको छ । अघिल्लो स्थानीय निर्वाचनमा देशभर १०६ स्थानमा खुम्चिएको माओवादीले यो समाचार तयार पार्दासम्म ९६ स्थानमा जित हासिल गरिसकेको छ । भने २४ स्थानमा अग्रता कायमै रहेको छ। त्यसो हुँदा हाल अग्रता रहेका स्थानमध्ये केही स्थानमा जित जोगाउन नसके पनि अन्य स्थानमा जितेमा पनि माओवादी केन्द्रले अघिल्लो निर्वाचनमा भन्दा केही सुधार हुने देखिएको छ ।
यता गठबन्धनमा आवद्ध भए पनि एकीकृत समाजवादीले भने सन्तोषजनक मत ल्याउन सकेको छैन । चुनावी भागबण्डा मिलाउँदा १ महानगर, केही उपमहानगरसहित देशका धेरै पालिकाहरुमा टिकट पाएको एसले उत्साहजनक मत भने ल्याउन सकेको छैन । नेकपा एमालेबाट फुटेको र देशका धेरै जिल्लामा संगठन नभएको कारण पनि एकीकृत समाजवादीले सन्तोषजनक मत पाउन नसकेको कतिपयको बुझाइ रहेको छ । यो समाचार तयार पार्दासम्म एसले देशभर ९ स्थानमा जित हासिल गरेको छ भने ११ स्थानमा अग्रता कायम गरेको छ ।
निर्वाचन सकिएको ५ दिन बितिसक्दा पनि हालसम्म सबै पालिकाको मतपरिणाम आउन सकेको छैन । कर्मचारीको अभाव लगायतका समस्याहरुको कारण अन्तिम मतपरिणाम आउन अझै केही दिन लाग्ने अनुमान गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया