बेलकोटगढीमा मेयर छान्न कांग्रेसलाई सकस : आकांक्षीमा १ दर्जन नाम

नुवाकोट । जिल्लाको बेलकोटगढी नगरपालिका नुवाकोटभित्रको आन्तरिक राजनीतिमा सधैँ चर्चामा रहने गर्दछ । सरकारले घोषणा गरेको स्थानीय निर्वाचनको मिति नजिकिएसँगै बेलकोटगढीको माहोल गर्माएको छ । विभिन्न राजनीतिक पार्टीका नेता–कार्यकर्ताहरू चुनावकेन्द्रित भएर गाउँ–गाउँ पुगेका छन् ।

सो क्रममा ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ भन्ने एकमहिने अभियान लिएर गाउँ–गाउँमा खटिएको छ कांग्रेस । यसअघिको स्थानीय निर्वाचनमा पराजय बेहोरेको कांग्रेसले यस पटक नगरमा पार्टीलाई जिताउन कम्मर कसेर लागेको छ ।

निर्वाचनको मिति नजिकिएसँगै एक दर्जनको नाम कांग्रेसबाट मेयरको आकांक्षीमा आएको छ । पार्टीका विभिन्न जिम्मेवारीमा रहेर काम गरेका र गरिरहेकाहरू आकांक्षीको रूपमा अघि देखिएका छन् ।

अघिल्लो पटक धेरै आकांक्षी रहेको र निर्वाचनको मनोनयनका क्रममा टिकटमा भएको राजनीतिको चर्चा देशभर चलेको थियो । यस पटकको निर्वाचनमा समेत मेयरको आकांक्षा गर्नेहरू धेरै देखिएका छन् । जसको कारण नेतृत्वलाई टिकट वितरणमा सकस पर्ने देखिन्छ । हाल मेयरको आकांक्षीको रूपमा एक दर्जनको नाम चर्चामा रहेको छ ।

को–को छन् आकांक्षी ?

प्रतापसिंह लामा

बेलकोटगढी नगरपालिकामा आगामी स्थानीय तहको निर्वाचनमा मेयरको आकांक्षीको रूपमा आएको नाम हो, प्रतापसिंह लामा । लामो समय नेपाली कांग्रेसका विभिन्न तहमा रहेर काम गरेका लामाले यसअघि नै मेयरको टिकट पाए पनि पार्टीको आन्तरिक विवादपछि ब्याक भएका थिए ।

पञ्चायतकालबाटै राजनीतिमा लागेका लामा २०४३ सालमा काठमाडौंको सरस्वती क्याम्पसमा पढ्दादेखि नै सक्रिय थिए । २०४६ सालको जनआन्दोलनमा समेत उनले सहभागी भएका थिए ।

२०४८ सालमा नेपाल तरुण दल नुवाकोटको संस्थापक सदस्य रहेका लामा ३ पटक नेपाली कांग्रेस नुवाकोटको कार्यसमिति सदस्य बनिसकेका छन् । पार्टीको १२औँ र १३औँ महाधिवेशनमा पार्टीको महासमिति सदस्य बनेका उनी १४औँ महाधिवेशनमा भने महाधिवेशन प्रतिनिधिमा पराजित भए ।

शान्त स्वभावका लामाको २०६४ सालको संविधानसभाको निर्वाचनमा संविधानसभा सदस्यका लागि प्रत्यक्षतर्फ तेस्रो नम्बरमा नाम आएको थियो भने २०७० को निर्वाचनमा संविधानसभा सदस्यका लागि समानुपातिकतर्फ र २०७४ को निर्वाचनमा प्रदेशसभाअन्तर्गत समानुपातिकतर्फको उम्मेदवार बनेका थिए ।

जिल्लामा पूर्वमन्त्री समेत रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजुननरसिंह केसीनिकट मानिने लामा निर्वाचनको मिति नजिकिएसँगै चुनावी अभियानमा सक्रिय छन् ।

बैकुन्ठ बहादुर पाण्डे

आगामी स्थानीय तहको निर्वाचनमा बेलकोटगढी नगरपालिकाबाट मेयरको आकांक्षीको रूपमा अगाडि आएको अर्को नाम हो, बैकुण्ठ बहादुर पाण्डे । पाण्डे पार्टीको १४औँ महाधिवशेनबाट नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं २ ‘क’ निर्वाचित प्रदेशसभापति हुन् ।

२०४२ सालबाट राजनीतिमा सक्रिय भएका पाण्डे २०४६ को जनआन्दोलनमा सहभागी हुँदै २०५७ सालमा नेपाली कांग्रेसका तर्फबाट साबिक बेलकोट गाविसको गाउँ इकाइ सदस्य बनेका थिए ।

त्यस्तै २०६० मा साबिक क्षेत्र नं १ को क्षेत्रीय सदस्य बनेका पाण्डे २०६३ मा नेपाली कांग्रेस नुवाकोटको जिल्ला कार्यसमिति सदस्य निर्वाचित हुँदै कांग्रेसको १२औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधिमा निर्वाचित भए । साबिक बेलकोट गाविसको गाउँ कार्यसमितिको २ कार्यकाल सभापति बनिसकेका छन् । कांग्रेसको वर्तमान संस्थापन पक्ष मानिने नेता पाण्डे जिल्लामा महत परिवारसँग नजिक मानिन्छन् ।

यादव नेपाल

बेलकोटगढीबाट कांग्रेसका तर्फबाट मेयरको आकांक्षीको रूपमा यादव नेपालको नाम पनि चर्चामा छ । यसअघि २०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा मेयरको प्रत्यासी रहेका नेपाल आगामी स्थानीय निर्वाचनमा स्वाभाविक उम्मेदवार मानिन्छन् ।

२०५१ सालमा पढ्दै गर्दा नेपाल विद्यार्थी संघमा आबद्ध हुँदै राजनीतिमा सक्रिय थिए । त्यसपछि २०५७ मा नेपाल नुवाकोट क्षेत्र १ को नेविसंघको क्षेत्रीय सदस्य बने । पछि नेविसंघ नुवाकोटको जिल्ला सदस्य हुँदै नेपाल साबिक दुईपीपल गाविसको उपसभापति समेत बने । विद्यार्थी राजनीतिबाट पार्टीको राजनीतिमा आएका नेपाल २०६७ सालमा सम्पन्न पार्टीको १२औँ महाधिवेशनमा तत्कालीन क्षेत्र नं १ नेपाली कांग्रेसको क्षेत्रीय सदस्य बने ।

कांग्रेसको संस्थापननिकट मानिने नेपाल जिल्लामा कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतनिकट मानिन्छन् । पार्टीको १३औँ महाधिवेशनमा साबिक क्षेत्र नं १ बाट क्षेत्रीय सचिव निर्वाचित नेपाल मंसिरमा सम्पन्न कांग्रेसको १४औँ महाधिवेशनमा नेपाली कांग्रेस नुवाकोटको जिल्ला सहसचिव निर्वाचित भएका छन् ।

शिव दाहाल

बेलकोटगढीमा मेयरको आकांक्षीको रूपमा आएको अर्को नाम हो, शिव दाहाल । दाहाल २०४६ सालमा देवीघाटको रणभुवनेश्वरी उच्च माध्यामिक विद्यालयमा नेविसंघको इकाइ सचिव बनेका थिए । पछि जिल्लामा नेविसंघको क्षेत्रीय सदस्य, जिल्ला सदस्यसहित साबिक जिलिङ गाउँ कार्यसमितिको सदस्य हुँदै २०५६ मा जिलिङ गाउँ कार्यसमितिको उपसभापति बने ।

जिल्लामा पूर्वमन्त्री समेत रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीनिकट मानिने दाहाल पार्टीको १२औँ महाधिवेशन साबिक क्षेत्र नं १ को क्षेत्रीय सचिव र १३औँ महाधिवेशनमा जिल्ला सचिव बने भने १४औँ महाधिवेशनमा जिल्ला सचिवको प्रत्यासी रहेका थिए ।

बद्रीप्रसाद मुडभरी

आगामी स्थानीय तहको निर्वाचनमा बेलकोटगढीबाट मेयरको आकांक्षीको रूपमा बद्रीप्रसाद मुडभरीको नाम समेत चर्चामा छ । विद्यार्थी राजनीतिबाट आएका मुडभरी पार्टीको १४औँ महाधिवेशनमा बागमती प्रदेश सदस्य बनेका छन् ।

२०५१ सालमा वीरेन्द्र माविबाट राजनीतिमा सक्रिय रहेका उनी २०५७ मा नुवाकोट क्षेत्र नं १ बाट नेविसंघको क्षेत्रीय सदस्य, २०५७ मै मनोहरा बहुमुखी क्याम्पसमा इकाइ सचिव हुँदै सोही वर्ष स्वतन्त्र विद्यार्थी युनियनको सचिवको प्रत्यासी बनेका थिए ।

२०५९ सालमा जिल्ला कार्यसमिति नुवाकोटको सदस्य बनेका मुडभरी २०६० सालमा ग्रामीण आदर्श बहुमुखी क्याम्पसको इकाइ सभापति बनेका थिए । सोही वर्ष भएको स्वतन्त्र विद्यार्थी युनियनको सभापतिको प्रत्यासी बनेका मुडभरी २०६२ सालमा ग्रामीण आदर्श बहुमुखी क्याम्पसबाट स्वतन्त्र विद्यार्थी युनियन सभापति बनेका थिए ।

२०६४ मा नेविसंघ नुवाकोटको उपसभापति, पार्टीको १२औँ महाधिवेशनमा नेपाली कांग्रेस क्षेत्र नं १ का सचिवको प्रत्यासी, २०६८ सालमा नेविसंघको केन्द्रीय सदस्य, पार्टीको १३औँ महाधिवेशनमा नुवाकोट क्षेत्र नं १ बाट महाधिवेशन प्रतिनिधि भएका उनी नेविसंघको केन्द्रीय सहमहामन्त्री बनेका थिए ।

केन्द्रमा संस्थापन पक्ष मानिने नेता मुडभरी कांग्रेस पार्टी प्रवक्ता डा. प्रकाशशरण महतनिकट मानिन्छन् ।

सानुकान्छा (एसके) नेपाल

बेलकोटगढीमा मेयरको आकांक्षीको रूपमा आएको अर्को नाम हो, सानुकान्छा (एसके) नेपाल । विद्यार्थी राजनीतिबाट आएका नेपाल २०४२ सालतिरबाट पञ्चायतविरोधी आन्दोलनमा सहभागी हुँदै राजनीतिमा सक्रिय भए । २०४५ सालबाट शिक्षण पेसामा आकद्ध नेपाल नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल शिक्षक संघको संस्थापक सदस्य हुन् । २०४८ सालमा नुवाकोटमा पहिलो पटक नेपाल प्रजातान्त्रिक विचार समाजको संस्थापक बनेका उनी त्यसबेला उपाध्यक्ष भए ।

उनी २०४८ सालमा भएको पार्टीको ८औँ, २०५७ को महाधिवेशनमा, १०औँ महाधिवेशन र २०६२ सालमा सम्पन्न ११औँ महाधिवेशनमा समेत पर्यवेक्षकको रूपमा रहेका थिए । जिल्लामा पूर्वमन्त्री समेत रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीनिकट मानिने नेपाल पार्टीको १३औँ महाधिवेशनमा नुवाकोट क्षेत्र नं १ बाट महाधिवेशन प्रतिनिधि बनेका थिए ।

जयराम दाहाल

आगामी स्थानीय तहको निर्वाचनमा बेलकोटगढीबाट मेयरको आकांक्षीको रूपमा आएको अर्को नाम हो, जयराम दाहाल । नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गरेका दाहाल पार्टीको १४औँ महाधिवेशनबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भए ।

२०५५ मा साबिक जिलिङमा रहेको कल्याणी देवी माध्यामिक विद्यालयमा इकाइ अध्यक्ष बन्दै राजनीतिमा थप सक्रिय बनेका उनी २०५७ मा साबिक क्षेत्र नं १ को क्षेत्रीय सदस्य हुँदै २०६१ सालमा सोही क्षेत्रबाट नेविसंघको क्षेत्रीय सभापतिमा निर्वाचित भएका थिए ।

दाहालले रत्नराज्य क्याम्पसमा पढ्दै गर्दा विभिन्न जिम्मेवारीमा रहेर काम गरेका छन् । २०६२/६३ को जनआन्दोलनमा सक्रिय सहभागिता रहेका उनी आरआर क्याम्पसमा नेविसंघको सचिव हुँदै कार्यवाहक इकाइ सभापति र २०६५ को स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा सभापतिको उम्मेदावर समेत बनेका थिए ।त्यसैगरी नेपाल विध्यार्थी संघको ११ औं  महाधिवेशन बाट नेविसंघको केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए।

सबैसँग हितैसी व्यवहार राख्ने दाहाल जिल्लामा लामा–महत समूहसँग निकट मानिन्छन् । पार्टीको १४औँ महाधिवेशनमा नुवाकोट क्षेत्र नं २ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।

दिपक लामा

बेलकोटगढीबाट आगामी स्थानीय निर्वाचनमा मेयरको आकांक्षीको रूपमा आएको अर्को नाम हो, दिपक लामा । विद्यार्थी राजनीतिबाट आएका लामा २०४६ सालमा च्वाडी पब्लिक स्कुलमा पढ्दै बेलाबाट नेपाल विद्यार्थी संघमा आबद्ध थिए । २०५१ मा काठमाडौंको महेन्द्ररत्न क्याम्पसमा नेविसंघको इकाइ सदस्य, २०५५ मा नेविसंघको इकाइ उपसभापति भए ।

२०५७ सालमा नेविसंघ खेलकुद विभागको सदस्य बनेका लामा २०६३ मा ताहाचल क्याम्पसमा नेविसंघ इकाइ सभापति हुँदै २०६४ मा सम्पन्न नेपाल विद्यार्थी संघ नुवकोटको अध्यक्षका प्रत्यासी रहेका थिए ।

त्यसैगरी २०६७ सालमा सम्पन्न पार्टीको १२औँ महाधिवेशनबाट जिल्ला सहसचिव बनेका नेता लामा १४औँ महाधिवेशनमा नुवाकोट क्षेत्र २ बाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् । लामा जिल्लामा संस्थापननिकट मानिन्छन् ।

लेखनाथ मुडभरी

नेपाली कांग्रेस बेलकोटगढी नगर कार्यसमितिका सभापति हुन्, लेखनाथ मुडभरी । पार्टीको १४औँ महाधिवेशनबाट बेलकोटगढी नगर कार्यसमितिको सभापति बनेका मुडभरी आगामी स्थानीय तहको निर्वाचनमा बेलकोटगढीबाट मेयरको आकांक्षी रहेका छन् ।

विद्यार्थी राजनीतिबाट आएका उनी २०५२ सालमा कुमरीको विरेन्द्र माविमा नेपाल विद्यार्थी संघको इकाइ अध्यक्ष हुँदै राजनीतिमा सक्रिय भएका उनी २०५७ सालमा सोही विद्यालयमा नेपाल तरुण दलको अध्यक्ष बनेका थिए ।

जनआन्दोलनमा घाइते समेत भएका उनी २०६१ सालबाट निरन्तर कुमरी गाविसमा कांग्रेसको सभापति बने । मुडभरी जिल्लामा पूर्वमन्त्री समेत रहेका कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीसँग निकट मानिन्छन् । उनी २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा बेलकोटगढी वडा नं ३ बाट वडाध्यक्षको प्रत्यासी रहेका थिए ।

अक्कल बहादुर ढुंगाना (श्याम)

काठमाडौं–बेलकोटगढी सम्पर्क समितिका सभापति हुन्, अक्कल बहादुर ढुंगाना (श्याम) । स्थानीय तहको निर्वाचन नजिकिएसँगै बेलकोटगढीबाट मेयरको आकांक्षीको रूपमा उनको पनि नाम अगाडि आएको छ ।

विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा आएका ढुंगाना २०४६ सालमा नुवाकोटको च्वाडी पब्लिक स्कुल पढ्दा नेपाल विद्यार्थी संघको राजनीतिमा सक्रिय थिए । २०५४ सालमा कांग्रेसको कियाशील सदस्यता लिँदै राजनीतिमा थप सक्रिय भएका उनी जिल्लामा पूर्वमन्त्री समेत रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीसँग नजिक मानिन्छन् ।

ढुंगाना पार्टीको १४औँ महाधिवेशनमा नेपाली कांग्रेस क्षेत्र नं २ प्रदेशसभा ‘क’का सभापतिको प्रत्यासी रहेका थिए ।

किरण गजुरेल

बेलकोटगढीबाट मेयरको आकांक्षीको रूपमा चर्चामा आएको अर्को नाम हो, किरण गजुरेल । गजुरेल हाल कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको भाषण, मन्तव्य तथा वक्तव्यविज्ञको रूपमा रहेका छन् ।

२०६३ सालमा नेपाल विद्यार्थी संघ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको इकाइ सचिव बनेका गजुरेल २०६५ मा सम्पन्न नेविसंघको महाधिवेशनमा महाधिवेशन प्रतिनिधि बनेका थिए । त्यस्तै नेपाल विध्यार्थी संघको जिल्ला सदस्यमा निर्वाचित गजुरेल २०६३ सालमा पार्टी समायोजन हुँदा साबिक बेलकोट गाबिसको गाउँ इकाइ सभापती समेत बनेका थिए। नेपाली कांग्रेस स्थानीय तह समन्वय विभागको पूर्वकेन्द्रीय सदस्य रहेका उनी केन्द्रमा संस्थापननिकट र प्रवक्ता डा. प्रकाशशरण महतनिकट मानिन्छन् ।

इन्द्र लामा

आगामी स्थानीय तहको निर्वाचनमा बेलकोटगढीबाट मेयरमा आकांक्षी राख्ने अर्का व्यक्ति हुन्, इन्द्र लामा ।

२०५४ सालमा एमालेबाट साबिक दुईपीपल गाविसको अध्यक्षमा निर्वाचित लामा २०६४ मा कांग्रेसमा प्रवेश गरे । २०६४ पछि कांग्रेसमा सक्रिय रहेका उनी आमन्त्रित जिल्ला सदस्य बनेका थिए । पार्टीको १४औँ महाधिवेशनमा क्षेत्रीय प्रतिनिधि बनेका लामाले मालिका माध्यामिक विद्यालय व्यवस्थापन समितिको २ कार्यकाल अध्यक्ष र कामरु माविको १ कार्यकाल अध्यक्ष बनेर काम गरेका छन् । जिल्लामा पूर्वमन्त्री समेत रहेका कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीसँग निकट मानिन्छन् ।

त्यसैगरी आगामी स्थानीय तहको निर्वाचनमा बेलकोटगढीबाट मेयरको आकांक्षीमा हिरा पाण्डेलगायत अन्यको नाम समेत चर्चामा छ ।

यो पनि

नुवाकोटको पञ्चकन्यामा चुनावी चर्चा : कांग्रेसबाट मेयरमा यी पाँच आकांक्षी

नुवाकोटको सुर्यगढीमा कांग्रेसबाट गाउँपालिका प्रमुखमा आधा दर्जन आकांक्षी

दुप्चेश्वरमा स्थानीय निर्वाचनको रौनक : यी हुन् कांग्रेसबाट गाउँपालिका प्रमुखको दाबेदार

ककनीमा स्थानीय निर्वाचन : कांग्रेसबाट को-को छन् गाउँपालिका प्रमुखको दाबेदार ?

स्थानीय निर्वाचनमा जुट्यो तादी कांग्रेस : गाउँपालिका हाँक्न चर्चामा यी अनुहार

शिवपुरीमा स्थानीय निर्वाचन : कांग्रेसबाट गाउँपालिका प्रमुखमा को-को छन् दाबेदार ?

लिखुमा बढ्यो चुनावी सरगर्मी : गाउँपालिकाको नेतृत्व गर्न यी हुन् कांग्रेसबाट आकांक्षी

स्थानीय निर्वाचनले गर्मायो विदुरको माहोल : कांग्रेसबाट यी हुन् मेयरका आकांक्षीहरू

तारकेश्वरमा तात्यो चुनावी माहोल : कांग्रेसबाट गाउँपालिका प्रमुखको आकांक्षीमा ६ जनाको चर्चा

म्यागङमा चुनावी सरगर्मी : गाउँपालिका प्रमुखको लागि कांग्रेसबाट को–को छन् आकांक्षी ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?