म्यागङमा चुनावी सरगर्मी : गाउँपालिका प्रमुखको लागि कांग्रेसबाट को–को छन् आकांक्षी ?

नुवाकोट । साबिकको बर्सुन्चेत, किम्ताङ, देउराली, बुङताङ र सामरी गाविस मिलेर बनेको छ, नुवाकोटको म्यागङ गाउँपालिका । तामाङ समुदायको बाहुल्यता रहेको म्यागङमा सरकारले घोषणा गरेको स्थानीय निर्वाचनको मिति नजिकिएसँगै चुनावी सरगर्मी ह्वात्तै बढेको छ ।

विभिन्न पार्टीका नेता–कार्यकर्ताहरू निर्वाचनकेन्द्रित कार्यक्रमहरू गरिहेका छन् । २०७४ को निर्वाचनमा प्रमुख र उपप्रमुख नै कांग्रेसले जितेको म्यागङमा आगामी निर्वाचनमा पनि आफ्नो शान जोगाउनुपर्ने दबाबमा कांग्रेस छ भने कांग्रेसको सत्ता पल्टाएर आफू स्थापित हुने चुनौतीमा छन्, अन्य दलहरू ।

पार्टीको ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानमा व्यस्त छ, म्यागङ कांग्रेस । टोल–टोलमा विभिन्न कार्यक्रमहरू गरी कांग्रेस जिताउने अभियान चल्दै गर्दा पालिकाको नेतृत्वका लागि आकांक्षीहरूको नाम बाहिरिन थालेको छ । वर्तमान गाउँपालिका नेतृत्व गरिरहेकादेखि विभिन्न जिम्मेवारीमा रहेकाहरू पालिका नेतृत्वका लागि आकांक्षीको रूपमा बाहिर आएका छन् ।

म्यागङमा नेपाली कांग्रेसबाट आशा तामाङ, शान्ति लामा तामाङ, गणबहादुर तामाङ, विजय गुरुङ (वाइबा), धनबहादुर गुरुङ, गणेश बहादुर वाइवा तामाङलगायतको नाम गाउँपालिका प्रमुखको लागि आकांक्षीको रूपमा आएको छ ।

यस्तो छ आकांक्षीहरूको विगत

आशा तामाङ

हाल म्यागङ गाउँपालिकाका प्रमुख हुन्, आशा तामाङ । आगामी स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै पुनः गाउँपालिका प्रमुखको आकांक्षीको रूपमा तामाङको नाम आएको छ ।

विद्यार्थी जीवनकालदेखि नै राजनीतिमा रुचि राखे पनि कांग्रेसको राजनीतिमा भने उनी पछि आएका हुन् । २०६४ सालमा नेपाली कांग्रेसमा प्रवेश गरेका तामाङ त्यसपछि लामो समय सामरी गाविसको उपसभापति भए भने २ कार्यकाल साबिक सामरी गाविसको इकाइ सभापति बनेर काम गरे ।

२०७४ मा सम्पन्न निर्वाचनमा गाउँपालिका प्रमुखमा निर्वाचित तामाङ पार्टीको १४औँ महाधिवेशनबाट नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्यमा निर्वाचित भएका हुन् । केन्द्रमा संस्थापननिकट तामाङ जिल्लामा भने कांग्रेस केन्द्रीय सदस्य एवं सांसद बहादुर सिंह लामानिकट मानिन्छन् ।

शान्ति लामा तामाङ

आगामी स्थानीय तहको निर्वाचनमा म्याघङ गाउँपालिकाबाट गाउँपालिका प्रमुखको आकांक्षीको रूपमा आएको अर्को नाम हो, शान्ति लामा गुरुङ । हाल म्यागन गाउँपालिकाकी उपप्रमुख हुन् उनी ।

अघिल्लो निर्वाचनमा गाउँपालिका उपाध्यक्ष बनेकी लामा आगामी स्थानीय निर्वाचनमा गाउँपालिका प्रमुखको रूपमा अघि आउने तयारीमा छिन् । २०७४ सालको स्थानीय निर्वाचनमा गाउँपालिका लड्नका लागि शिक्षकबाट राजीनामा दिएकी तामाङ विभिन्न संघसंस्थामा बसेर काम गरेको अनुभव रहेको छ ।

साबिक किम्ताङ गाविसमा महिला संघको संयोजक समेत बनेर काम गरेकी तामाङ लामो समय शिक्षण पेसामा आबद्ध थिइन् । विद्यार्थी जीवनदेखि नै राजनीतिमा रुचि राख्ने तामाङ १४औँ महाधिवेशनबाट महासमिति सदस्य निर्वाचित भएकी छिन् ।

केन्द्रमा संस्थापननिकट मानिने तामाङ जिल्लामा कांग्रेस केन्द्रीय सदस्य एवं सांसद बहादुर सिंह लामानिकट मानिन्छिन् । निर्वाचनको मिति नजिकिएसँगै तामाङले राजनीतिक छलफल र भेटघाटलाई तीव्रता दिएकी छिन् ।

गरबहादुर तामाङ

राजनीतिसँगै कृषिकर्ममा समेत सक्रिय छन्, गरबहादुर तामाङ । स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै म्याघङमा कांग्रेसबाट गाउँपालिका प्रमुखको आकांक्षीको रूपमा उनको नाम पनि चर्चामा छ । २०६४ सालमा कांग्रेस प्रवेश गरेका उनी पार्टीप्रवेश गरेसँगै साबिक बुङताङ गाउँ कार्यसमितिको सभापति भएर काम गरेका छन् ।

पार्टीको १२औँ र १३औँ महाधिवेशनमा बुङताङको सभापति बनेका उनी पार्टीको १४औँ महाधिवेशनबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।

पार्टीमा कांग्रेस केन्द्रीय सदस्य एवं सांसद बहादुर सिंह लामानिकट मानिने तामाङलाई पालिकामा नमूना कृषकको रूपमा चिनिन्छ । आफ्नै ठाउँमा बाख्रापालनसहित सुन्तला, एभोकाडोलगायत विभिन्न कृषिकर्ममा आबद्ध रहेका तामाङ पार्टीलाई जिताउने उम्मेदवार अघि सार्नुपर्ने बताउँछन् ।

विजय गुरुङ (वाइबा)

आगामी स्थानीय तहको निर्वाचनमा म्यागङमा कांग्रेसबाट गाउँपालिका प्रमुखको आकांक्षीको रूपमा आएको अर्को नाम हो, विजय गुरुङ (वाइबा) । नेपाली कांग्रेसका विभिन्न भातृ संगठन हुँदै पार्टीको राजनीतिमा अघि देखिएका उनी साबिक देउराली गाविस वडा नं ७ मा जन्मिएका गुरुङ २०६४ सालमा तरुण दल क्षेत्रीय सदस्य बनेका थिए ।

त्यसैगरी २०७० सालमा तत्कालीन नुवाकोट क्षेत्र नं बाट नेपाल विद्यार्थी संघ नुवाकोटको क्षेत्रीय सभापति बनेका थिए । राजनीतिसँगै खेलकुदमा समेत सक्रिय गुरुङले थ्रीडी युवा क्लबको अध्यक्ष, कराँते ब्ल्याक बेल्ट कमिटी अध्यक्ष, जिल्ला फुटबल संघको प्रवक्ता, म्यागङ गाउँपालिका युवा क्लब अध्यक्ष, जिल्ला फुटबल संघ सदस्यमा समेत रहेर काम गरेका छन् ।

त्यस्तै पार्टीको १४औँ महाधिवेशनपछि नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं २ को प्रवक्तामा नियुत्त भएका छन् । ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानमा सक्रिय रहेका गुरुङ युवाआकांक्षीका रुपमा अगाडि आएका छन् । केन्द्रमा संस्थापननिकट मानिने नेता गुरुङ जिल्लामा केन्द्रीय सदस्य एवं सांसद बहादुर सिंह लामानिकट मानिन्छन् ।

धनबहादुर गुरुङ

आगामी स्थानीय निर्वाचनमा म्यागङबाट गाउँपालिका प्रमुखको आकांक्षीको रूपमा आएको अर्को नाम हो, धनबहादुर गुरुङ । हाल म्यागङ काठमाडौं सम्पर्क समितिका अध्यक्ष रहेका गुरुङ पार्टीको १४औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधिको आकांक्षीको रूपमा रहेका थिए ।

ब्रिटिस आर्मीमा कार्यरत उनी २८ वर्ष सिंगापुर पुलिस फोर्समा काम गरेका गुरुङ नमस्ते पासाङ ल्हामु यातायातको २०६७ सालदेखि नै कोषाध्यक्ष हुँदै हाल नमस्ते पासाङ ल्हामु यातायातको प्रबन्धकको रूपमा रहेका छन् ।

जागिरको सिलसिलामा आर्मीमा रहेका कारण पार्टीमा आबद्ध नभई जागिर छाडेपछि क्रियाशील सदस्य बनेका तामाङ स्थानीय निर्वाचनमा गाउँपालिका प्रमुखको आकांक्षीको रूपमा अगाडि आउने सुरसारमा छन् ।

गणेश बहादुर वाइबा तामाङ

आगामी स्थानीय तहको निर्वाचनमा म्यागङबाट गाउँपालिका प्रमुखको आकांक्षीको रूपमा आएको अर्को नाम हो, गणेश बहादुर वाइबा तामाङ । विद्यालय पढ्दादेखि नै कांग्रेसमा आस्था राख्ने तामाङ हाल नेपाली कांग्रेस क्षेत्र नं २ को सल्लाहकार रहेका छन् । २०१७ सालको प्रजातान्त्रिक कमाण्डर धर्म सिंह तामाङको भतिज समेत रहेका छन् ।

कांग्रेस केन्द्रीय सदस्य एवं सांसद बहादुर सिंह लामानिकट मानिने तामाङ रोजगारीको सिलसिलामा विभिन्न देशमा बसेर फर्किएका हुन् । गाउँमा पुराना कांग्रेसमध्येका एक तामाङ निर्वाचनको मिति नजिकिएसँगै पार्टीको नाराअनुसार संगठन विस्तारमा लागेका छन् ।

त्यस्तै माथि उल्लेखितसहित अन्यको नाम समेत गाउँपालिका प्रमुखको आकांक्षीको रुपमा अघि आएको छ । हाल म्यागङ गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष आतम सिंह गोले तामाङको नाम समेत गाउँपालिका प्रमुखको आकांक्षीको रुपमा आएको छ । उनी जिल्लामा पूर्वमन्त्री समेत रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसी निकट मानिन्छन् ।

त्यसैगरी निर्वाचनको मिति नजिकिएसँगै पालिका प्रमुखसहित उपप्रमुखहरूमा आकांक्षा राख्नेहरूको समेत चर्चा चल्न थालेको छ । आगामी निर्वाचनमा म्यागङबाट उपप्रमुखको आकांक्षीको रुपमा सीता तामाङको नाम चर्चामा छ ।

पार्टीको भातृ तथा शुभेच्छुक संस्थामा समेत बसेर काम गरेकी तामाङ शिक्षण पेसा हुँदै राजनीतिमा आएकी हुन् । पार्टीको १४औँ नेपाली कांग्रेस जिल्ला कार्यसमिति नुवाकोटको सदस्यमा निर्वाचित भएकी छिन् ।

जिल्लामा संस्थापन समूहमा रहेकी तामाङ नेपाल महिला संघ, तरुण दल हुँदै ट्रेड युनियन कांग्रेसमा समेत आबद्ध रहेकी थिइन् । निर्वाचनको मिति नजिकिएसँगै तामाङले उपाध्यक्षमा आफ्नो दाबी रहेको भन्दै थप सक्रियता बढाएकी छिन् ।

यो पनि

नुवाकोटको पञ्चकन्यामा चुनावी चर्चा : कांग्रेसबाट मेयरमा यी पाँच आकांक्षी

नुवाकोटको सुर्यगढीमा कांग्रेसबाट गाउँपालिका प्रमुखमा आधा दर्जन आकांक्षी

दुप्चेश्वरमा स्थानीय निर्वाचनको रौनक : यी हुन् कांग्रेसबाट गाउँपालिका प्रमुखको दाबेदार

ककनीमा स्थानीय निर्वाचन : कांग्रेसबाट को-को छन् गाउँपालिका प्रमुखको दाबेदार ?

स्थानीय निर्वाचनमा जुट्यो तादी कांग्रेस : गाउँपालिका हाँक्न चर्चामा यी अनुहार

शिवपुरीमा स्थानीय निर्वाचन : कांग्रेसबाट गाउँपालिका प्रमुखमा को-को छन् दाबेदार ?

लिखुमा बढ्यो चुनावी सरगर्मी : गाउँपालिकाको नेतृत्व गर्न यी हुन् कांग्रेसबाट आकांक्षी

स्थानीय निर्वाचनले गर्मायो विदुरको माहोल : कांग्रेसबाट यी हुन् मेयरका आकांक्षीहरू

तारकेश्वरमा तात्यो चुनावी माहोल : कांग्रेसबाट गाउँपालिका प्रमुखको आकांक्षीमा ६ जनाको चर्चा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?