तारकेश्वरमा तात्यो चुनावी माहोल : कांग्रेसबाट गाउँपालिका प्रमुखको आकांक्षीमा ६ जनाको चर्चा

नुवाकोट । नुवाकोट जिल्ला क्षेत्र नं २ मा पर्दछ तारकेश्वर गाउँपालिका । जिल्लाको पश्चिमी भागमा रहेको तारकेश्वरको पूर्वमा विदुर नगरपालिका, उत्तरमा मेघाङ गाउँपालिका र दक्षिणमा बेलकोटगढी नगरपालिका पर्दछ । माघे संक्रान्तीमा गोरु जुधाउने ठाउँ रहेको कारण पनि यस ठाउँको विशेष चर्चा हुनेगरेको छ ।

सरकारले स्थानीय निर्वाचन घोषणा गरेसँगै तारकेश्वरको माहोल तातेको छ । विभिन्न राजनीतिक दलहरूले आ–आफ्नो तयारी तीव्र पारेका छन् । चुनावको मिति नजिकिएसँगै गाउँपालिका प्रमुखको आकांक्षीहरूको चर्चा चल्न थालेको छ । अघिल्लो निर्वाचनमा प्रत्यासी रहेकाहरूदेखि वडा र जिल्लातहमा काम गरेकाहरू गाउँपालिका प्रमुखको दाबी गरिरहेका छन् ।

तारकेश्वरमा २०७४ को निर्वाचनमा एमालेले जितेको थियो । एमालेलाई अघिल्लो परिणामलाई कायम राख्नुपर्ने चुनौती छ भने अन्य दलहरू पनि यस पटकको निर्वाचनमा जसरी पनि जित्ने होड छन् ।

सो क्रममा ‘घरघर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान लिएर चुनावी अभियानमा होमिएको छ नेपाली कांग्रेस । अघिल्लो निर्वाचनमा दोस्रो मतसहित पराजित भएको कांग्रेस यस पटक गाउँपालिकाको सत्ता आफ्नो हातमा ल्याउने दाउमा छ ।

निर्वाचनको मिति नजिकिँदै गर्दा नेपाली कांग्रेसबाट गाउँपालिका प्रमुखको आकांक्षीको रुपमा चोकराज शाक्य, शिव अधिकारी ‘अविरल’, राजकुमार भट्टराई, केशवराज अर्याल, हरि श्रेष्ठ, होम बहादुर तामाङ आदिको नाम चर्चामा छ । नेताहरू गाउँमा केन्द्रित हुँदै पार्टी जिताउने अभियानमा होमिएका छन् ।

के छ आकांक्षीहरूको राजनीतिक इतिहास ?

चोकराज शाक्य

आगामी स्थानीय तहको निर्वाचनमा तारकेश्वरबाट गाउँपालिका प्रमुखमा आकांक्षीको रूपमा आएको पहिलो नाम हो, चोकराज शाक्य । अघिल्लो निर्वाचनमा तारकेश्वरबाट गाउँपालिका प्रमुखमा पराजित शाक्य यस पटकको स्वाभाविक उम्मेदवार मानिन्छन् ।

२०४२ सालदेखि नेपाल विद्यार्थी संघको राजनीतिमा सक्रिय शाक्यले २०४३ देखि २०५३ सालसम्म नेपाली कांग्रेस जिल्ला कार्यसमिति नुवाकोटको सदस्य रहेर काम गरेका छन् ।

त्यसअघि २०४६ कात्तिकमा नेविसंघको जिल्ला अध्यक्ष भई काम गरेका नेता शाक्य २०४८ मा पार्टीको आठौँ महाधिवेशनपछि हालसम्म महाधिवेशन प्रतिनिधि रहेका छन् ।

त्यसो त २०५३ देखि २०५६ सम्म जिल्ला कार्यसमिति नुवाकोटका उपसभापति बनेका शाक्य २०५६ देखि २०५९ सम्म जिल्ला तरुण दलको अध्यक्ष भएर काम गरेका छन् । शाही शासनकालमा पटक–पटक गिरफ्तारीमा परेका शाक्य २०५९ देखि २०६४ सालसम्म नेपाल तरुण दलको केन्द्रीय सदस्य रहँदै २०६२ देखि २०७२ र हाल महासमिति सदस्य रहेका छन् ।

हाल नेपाली कांग्रेस संघीय मामिला तथा प्रदेश समन्वय विभागको केन्द्रीय सदस्य रहेका शाक्य संस्थापन निकट नेता मानिन्छन् । लामो राजनीतिक जीवन बिताएका उनले आगामी स्थानीय तहको निर्वाचनमा गाउँपालिका प्रमुखको प्रत्यासीको रुपमा राजनीतिक भेटलाई तीव्रता दिएका छन् ।

शिव अधिकारी ‘अविरल’

आगामी स्थानीय तहको निर्वाचनमा तारकेश्वरमा नेपाली कांग्रेसबाट गाउँपालिका प्रमुखको आकांक्षीको रूपमा आएको अर्को नाम हो, शिव अधिकारी ‘अविरल’ । अन्य आकांक्षीभन्दा उमेरले कान्छा भए पनि समाजसेवाका हिसाबले अगाडि देखिन्छन् ।

विगत २ दशकदेखि नेपाली कांग्रेसको राजनीतिमा जोडिएका अविरल पार्टीको १४औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधिको प्रत्यासीको रूपमा रहेका थिए । पत्रकारिताबाट पर्यटन व्यवसायतिर लागेका अधिकारी राजनीतिसँगै समाजसेवामा सक्रिय रहेका छन् ।

२०७२ को भूकम्प होस् या कोरोनाकालमा आफूले तारकेश्वरमा पु¥याएको योगदान नै गाउँपालिका जित्ने मुख्य आधार भएको अधिकारीको दाबी छ । जिल्लाका विभिन्न ठाउँमा पुगेर शैक्षिकदेखि स्वास्थ्य र अन्य सामग्री पुर्‍याउने काममा सक्रिय अधिकारी पार्टीको १४औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधि लडेका थिए ।

राजनीतिलाई समाजसेवाको हिसाबले हेर्न जोड दिने अधिकारी गाउँपालिकामा आए पार्टीभित्र र बाहिरबाट समेत उत्तिकै सहयोग मिल्ने त्यहाँको स्थानीयको भनाइ रहेको छ ।

राजकुमार भट्टराई

आगामी स्थानीय तहको निर्वाचनमा तारकेश्वरबाट गाउँपालिका प्रमुखको आकांक्षीको रूपमा आएको अर्को नाम हो, राजकुमार भट्टराई ।

पार्टीका विभिन्न जिम्मेवारीमा रहेका भट्टराई २०५४ सालमा साबिक बुधसिङ गाविस नेपाली कांग्रेसको तर्फबाट उपाध्यक्ष उम्मेदवार रहेका थिए । साबिक बुधसिङ गाविसको २ कार्यकाल पार्टी इकाइ सभापति बनेका भट्टराई तत्कालीन क्षेत्र नं ३ को क्षेत्रीय सभापति हुँदै हाल जिल्ला कार्यसमिति सदस्य रहेका छन् । जिल्लामा पार्टी प्रवक्ता डा. प्रकाशशरण महत र केन्द्रीय सदस्य बहादुर सिंह निकट मानिने नेता भट्टराई राजनीतिसँगसँगै विभिन्न सामाजिक संघसंस्थाहरूमा समेत आबद्ध रहेका छन् ।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नुवाकोटमा १६ वर्षभन्दा बढी समय रहेका भट्टराई ८ वर्ष जिल्ला शाखाको उपसभापति भई काम गरेका छन् ।

ग्रामीण जागरण तथा पूर्वाधार विकास केन्द्रको अध्यक्ष समेत रही सामाजिक कार्यमा संलग्न भट्टराई स्थानीय निर्वाचन नजिकिएसँगै गाउँपालिका प्रमुखको आकांक्षीको रूपमा देखिएका छन् ।

केशव अर्याल

नेपाली कांग्रेस तारकेश्वर गाउँपालिकाका सभापति हुन्, केशव अर्याल । पार्टीको १४औँ महाधिवेशनबाट तारकेश्वर गाउँपालिका सभापतिमा निर्वाचित अर्याल आगामी स्थानीय तहको निर्वाचनमा गाउँपालिका प्रमुखको आकांक्षीको रूपमा देखिएका छन् ।

लामो समयदेखि पार्टी राजनीतिमा सक्रिय अर्याल जिल्लामा पूर्वमन्त्री समेत रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसी निकट मानिन्छन् । पार्टीको विभिन्न जिम्मेवारीमा रही काम गरेका अर्याल पार्टीको १३औँ महाधिवेशनमा जिल्ला कार्यसमितिको सदस्यको प्रत्यासी रहेका थिए ।

तारकेश्वरमा स्थानीय निर्वाचनको सरगर्मी बढेसँगै नेता अर्यालले भेटघाट र छलफललाई तीव्रता दिएका छन् ।

हरि श्रेष्ठ

आगामी स्थानीय तहको निर्वाचनमा तारकेश्वरबाट गाउँपालिका प्रमुखको आकांक्षीको रूपमा आएको अर्को नाम हो, हरि श्रेष्ठ । नेपाली कांग्रेस पार्टी संगठनको विभिन्न जिम्मेवारीमा रहेर काम गरेको श्रेष्ठ १४औँ महाधिवेशनमा तारकेश्वरको सभापतिका आकांक्षी रहेका थिए ।

जिल्लामा पार्टी प्रवक्ता डा. प्रकाशशरण महत र केन्द्रीय सदस्य बहादुर सिंह लामा निकट मानिने श्रेष्ठ लामो समय पार्टीमा बिताएका छन् । राजनीतिसँगै सामाजिक संघसंस्थामा आबद्ध श्रेष्ठ हाल नेपाल रेडक्रस जिल्ला शाखा नुवाकोटको शाखामन्त्रीको रूपमा क्रियाशील छन् ।

स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै नेता श्रेष्ठले छलफल र भेटघाटलाई तीव्रता दिएका छन् ।

होम बहादुर तामाङ

आगामी स्थानीय तहको निर्वाचनमा तारकेश्वरबाट गाउँपालिका प्रमुखको आकांक्षीको रूपमा आएको अर्को नाम हो, होम बहादुर तामाङ । नेपाली कांग्रेस तारकेश्वरका निवर्तमान सभापति समेत रहेका नेता तामाङ पार्टीको १४औँ महाधिवेशनमा जिल्ला उपसभापतिको उम्मेदवार समेत रहेका थिए ।

१४औँ महाधिवेशनमा डा. केदार नरसिंह केसीको समूहबाट जिल्ला उपसभापति बनेका तामाङ निर्माण व्यवसायमा समेत आबद्ध रहेका छन् । पार्टीमा लामो समय काम गरेका नेता तामाङ स्थानीय निर्वाचनको मिति नजिकिएसँगै छलफल र भेटघाटलाई तीव्रता दिएका छन् ।

यो पनि

नुवाकोटको पञ्चकन्यामा चुनावी चर्चा : कांग्रेसबाट मेयरमा यी पाँच आकांक्षी

नुवाकोटको सुर्यगढीमा कांग्रेसबाट गाउँपालिका प्रमुखमा आधा दर्जन आकांक्षी

दुप्चेश्वरमा स्थानीय निर्वाचनको रौनक : यी हुन् कांग्रेसबाट गाउँपालिका प्रमुखको दाबेदार

ककनीमा स्थानीय निर्वाचन : कांग्रेसबाट को-को छन् गाउँपालिका प्रमुखको दाबेदार ?

स्थानीय निर्वाचनमा जुट्यो तादी कांग्रेस : गाउँपालिका हाँक्न चर्चामा यी अनुहार

शिवपुरीमा स्थानीय निर्वाचन : कांग्रेसबाट गाउँपालिका प्रमुखमा को-को छन् दाबेदार ?

लिखुमा बढ्यो चुनावी सरगर्मी : गाउँपालिकाको नेतृत्व गर्न यी हुन् कांग्रेसबाट आकांक्षी

स्थानीय निर्वाचनले गर्मायो विदुरको माहोल : कांग्रेसबाट यी हुन् मेयरका आकांक्षीहरू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?