स्थानीय निर्वाचनले गर्मायो विदुरको माहोल : कांग्रेसबाट यी हुन् मेयरका आकांक्षीहरू

विदुर । नुवाकोटको राजनीतिमा हरेक राजनीतिक दलका लागि केन्द्रको रूपमा हेरिन्छ जिल्लाको विदुर नगरपालिका । सदरमुकाम यसै नगरपालिकाभित्र पर्ने भएकाले पनि नुवाकोटको लागि महत्वपूर्ण छ विदुर ।

राजनीतिकरूपमा सधैँ चर्चामा रहने नुवाकोटमा यतिबेला भने स्थानीय निर्वाचनको सरगर्मी ह्वात्तै बढेको छ । सबै राजनीतिक दलले स्थानीय निर्वाचनको तयारीलाई व्यापक बनाएका छन् ।

विदुर नगरभित्रको मत नै प्रदेश र संघको निर्वाचनमा निर्णायक मानिने भएकोले समेत हरेक राजनीतिक दलका लागि मेयर कसले जित्छ भन्ने चासो रहन्छ ।

सरकारले घोषणा गरेको चुनावको मिति वैशाख ३० नजिकिएसँगै विभिन्न राजनीतिक दलबाट मेयरमा आकांक्षा राख्नेहरूको चर्चा चल्न थालेको छ ।

सो क्रममा विदुर नगरपालिकामा नेपाली कांग्रेसबाट मेयरका आकांक्षीहरूको नाम समेत बाहिरिन थालेको छ । तर २०४९, २०५४ र २०७४ को स्थानीय निर्वाचनमा एमालेका उम्मेदवारहरू निर्वाचित भएकाले विदुरमा नेकपा एमालेकै राम्रो छाप रहेको मानिन्छ ।

कांग्रेसका केन्द्रीय नेताहरू रहेको र आगामी निर्वाचनमा विदुरको मत निर्णायक मानिने भएका कारण जसरी पनि जित हासिल गर्नुपर्ने दबाबमा छ नेपाली कांग्रेस । सो क्रममा पार्टीका विभिन्न जिम्मेवारी वहन गरेको नेताहरूको नाम मेयरको आकांक्षीको रूपमा अघि आएको छ ।

हाल विदुरमा कांग्रेसबाट मेयरको आकांक्षीको रूपमा नेताहरू धुव्र अधिकारी, मोहन खड्का, भरत खड्का, सुरेन्द्र अधिकारी, हरिलाल श्रेष्ठ,  मछिन्द्र नरसिंह प्याकुरेल, फैसिङ तामाङलगायतको चर्चा रहेको छ । अन्तिम अवस्थामा एक जना प्रतिस्पर्धामा आउने भए पनि नेताहरूले आ–आफ्नो तर्फबाट तयारी व्यापक बनाएका छन् ।

यस्तो छ मेयरका आकांक्षीहरूको राजनीतिक इतिहास :

धुव्र अधिकारी

अघिल्लो पटक विदुर नगरबाट मेयरको प्रत्यासी रहेका थिए, कांग्रेस नेता धुव्र अधिकारी । स्थानीय निर्वाचनको सरगर्मी बढेसँगै नेता अधिकारीको नाम स्वाभाविक रूपमा अघि आएको छ । विद्यार्थी राजनीति हुँदै पार्टी राजनीतिमा आएका नेता अधिकारीले आगामी स्थानीय निर्वाचनमा पुनः मेयरको आकांक्षीको रूपमा अगाडि आउने तयारी थालेका छन् ।

विसं २०३६ को विद्यार्थी आन्दोलनबाट प्रभावित हुँदै राजनीतिमा सक्रिय बनेका बताउँछन् । तत्कालीन समयमा जनमत संग्रहमा बहुदललाई जिताउने अभियानमा जिल्लामा थप सक्रिय बनेका नेता अधिकारी २०३९ सालमा नेपाल विद्यार्थी संघ नुवाकोटको अध्यक्ष भए ।

त्यसअघि जिल्ला कार्यसमिति सदस्य बनेका अधिकारी २०४२ को सत्याग्रहमा काठमाडौंमा पक्राउ परेर नुवाकोट कारागारमा ६ महिना बसेका थिए । २०४३ मा काठमाडौंको शंकरदेव क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको सभापति बनेका उनी २०४४ मा नेपाली कांग्रेस नुवाकोटको सचिव हुँदै २०४६ को जनआन्दोलन परिचालन समितिको सदस्य बने ।

२०४६ पछि जिल्लाको राजनीतिमा सक्रिय हुँदै गर्दा २०४८ मा पहिलो पटक नेपाली कांग्रेस जिल्ला कार्यसमिति सभापति बनेका अधिकारी २०५३/५४ को अधिवेशनबाट दोस्रो पटक र २०६२/६३ आन्दोलनपछि तेस्रो पटक नुवाकोटको सभापति बने ।

२०५६ सालमा तत्कालीन क्षेत्र नं १ मा नेपाली कांग्रेसबाट प्रतिनिधिसभाको उम्मेदवार बनेका नेता अधिकारी २०६७ को कांग्रेसको महाधिवेशनपछि लगातार महासमिति सदस्य निर्वाचित हुँदै आइरहेका छन् । पार्टीको १४औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधि हुँदै महासमिति सदस्यमा निर्वाचित उनी पार्टीको केन्द्रीय सदस्यको उम्मेदवार समेत बनेका थिए ।

हाल सभापति शेरबहादुर देउवानिकट मानिने उनी विभिन्न संघसंस्थामा समेत आबद्ध छन् । राजनीतिसँगै समाजसेवामा सक्रिय अधिकारीले निर्वाचनको मिति नजिकिएसँगै भेटघाट र छलफललाई तीव्रता दिएका छन् ।

मोहन खड्का

आगामी स्थानीय तहको निर्वाचनमा विदुर नगरपालिकाबाट मेयरको आकांक्षीको रूपमा आएको अर्को नाम हो, मोहन खड्का । यसअघि पनि विदुर नगरपालिकामा कांग्रेसका तर्फबाट आकांक्षीको रूपमा खड्काको नाम अगाडि आएको थियो ।

कांग्रेसको भातृ संगठन हुँदै पार्टीको राजनीतिमा आएका खड्का २०४० सालबाट नेपाल विद्यार्थी संघको रत्नज्योति क्याम्पसको सदस्य हुँदै राजनीतिमा थप सक्रिय बने । बहुदल स्थापनापछि २०४८ मा भएको निर्वाचनमा विद्यार्थी सर्कलबाट काम गरेका नेता खड्का २०५२ सालमा तरुणदल तदर्थ कमिटी गठन हुँदा जिल्ला कोषाध्यक्ष बनेका थिए । त्यसैगरी २०५४ मा तत्कालिन क्षेत्र नं ३ को क्षेत्रीय कोषाध्यक्ष बनेका थिए भने २०५७ मा पार्टीको १०औँ पोखरा महाधिवेशनबाट महाधिवेशन प्रतिनिधि हुँदै महासमिति सदस्य निर्वाचित भएका थिए ।

त्यस्तै पार्टीको ११औँ महाधिवेशनबाट महाधिवेशन प्रतिनिधि, १२औँमा महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य हुँदै नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य बनेका थिए ।

नेता खड्का जिल्लामा अर्जुननरसिंह केसीनिकट मानिन्छन् । पार्टीको १३औँ र १४औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधिका प्रत्यासी रहेका खड्का विदुर खानेपानीको सचिव प्रबन्धक हुँदै २०६० देखि २०६४ सालसम्म अध्यक्ष निर्वाचित भएका हुन् ।

त्यस्तै उनको पहलमा बट्टारको हावाघरमा रसुवा, नुवाकोट र धादिङको नमुनाको लायक बट्टार किरियापुत्री कल्याणकारी प्रतिष्ठान समेत निर्माण हुने क्रममा रहेको छ ।

स्थानीय निर्वाचनको सरगर्मी बढेसँगै नेता खड्काले छलफल र भेटघाटलाई तीव्रता दिएका छन् । अघिल्लो पटक अन्तिम अवस्थासम्म आफ्नो अडान कायम रहे पनि आफूले त्याग गर्न सकेको बताउँदै यस पटकको निर्वाचनमा भने आफूले दाबी कायम राख्ने उनी बताउँछन् ।

भरत खड्का

नेपाली कांग्रेस नुवाकोटमा परिचित नाम हो, भरत खड्का । आगामी स्थानीय तहको निर्वाचनमा कांग्रेसबाट विदुर नगरपालिकामा मेयरका लागि आकांक्षीको रूपमा खड्काको नाम अगाडि आएको छ । २०३८ देखि नै कांग्रेसको राजनीतिमा सक्रिय खड्का तत्कालीन तुप्चे गाउँ प्रधानपञ्चमा २०४३ सालमा प्रधानपञ्च भएका थिए ।

२०४६ को जनआन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका खड्का २०४९ मा तुप्चे गाविसमा कांग्रेसबाट अध्यक्षका उम्मेदवार बनेका थिए । नुवाकोट निर्माण व्यवसायी संघको संस्थापक अध्यक्ष भएर ३ कार्यकाल काम गरिसकेका नेता खड्का राजनीति सँगसँगै समाजसेवामा पनि सक्रिय छन् ।

२०४९ मा नेपाली कांग्रेस जिल्ला कार्यसमितिका सदस्य बनेका खड्का त्यसपछि पटक–पटक जिल्ला सदस्य बने । २०६० पछि पार्टी राजनीतिमा भन्दा व्यावसायिक काममा सक्रिय रहे । १३औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधि बनेका नेता खड्का १४औँ महाधिवेशनमा समेत महाधिवेशन प्रतिनिधिमा प्रत्यासी थिए ।

सबै नेतासँग समदूरी सम्बन्ध राख्न रुचाउने खड्काले जिल्लाका विभिन्न स्थानमा सिँचाइको सुविधा पुर्‍याउन महत्वपूर्ण भूमिका खेलेका छन् । जिल्ला सहकारी संघको अध्यक्ष भएर डेड वर्ष काम गरेका उनले जिल्लाका विभिन्न ठाउँमा आर्थिकदेखि विभिन्न सहयोगहरू पुर्‍याउँदै आएका छन् ।

निर्वाचनको मिति नजिकिएसँगै नेता खड्काले आफूलाई आकांक्षीको रूपमा अघि सार्ने तयारी थालेका छन् ।

मछिन्द्र नरसिंह प्याकुरेल

आगामी स्थानीय तहको निर्वाचनमा विदुर नगरपालिकामा कांग्रेसबाट मेयरको आकांक्षीको रूपमा आएको अर्को नाम हो, मछिन्द्र नरसिंह प्याकुरेल । समाजसेवामा खटिने प्याकुरेल पार्टी संगठन र निजामती क्षेत्रमा समेत आबद्ध भएर हाल पूर्णकालीन राजनीतिमा आएका छन् ।

विद्यार्थी जीवनकालदेखि नै राजनीतिमा रुचि राख्ने प्याकुरेल २०५८ सालमा निलकण्ठ उच्च मावि रसुवामा नेपाल विद्यार्थी संघको अध्यक्ष हुँदै राजनीतिमा थप सक्रिय भए । २०६० सालमा पार्टीको क्रियाशील सदस्यता लिएका उनी २०६६ मा त्रिभुवन त्रिशुली बहुमुखी क्याम्पसबाट स्ववियु सचिवमा निर्वाचित भए ।

२०६२/६३ को जनआन्दोलनमा सहभागिता जनाएका प्याकुरेलसँग १४ वर्षसम्म निजामती कर्मचारीको रूपमा रहेर काम गरेको अनुभव छ । निजामती सेवाका सिलसिलामा सिन्धुपाल्चोक, काठमाडौं दोलखा हुँदै नुवाकोट जिल्ला प्रशासन कार्यालयमा कार्यरत रहँदा राजीनामा दिएर उनी पूर्णकालीन राजनीतिमा आएका हुन् ।

पार्टीको १४औँ महाधिवेशनमा नुवाकोट क्षेत्र नं २ बाट क्षेत्रीय सभापतिको उम्मेदवार रहेका उनी पराजित भए । राजनीतिमा सेवामुखी भावना खोज्ने प्याकुरेल विभिन्न व्यावसायिक क्रियाकलापहरूमा समेत आबद्ध छन् ।

जिल्लाका हरेक क्षेत्रमा विभिन्न किसिमबाट सेवा गरिरहेका प्याकुरेल कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीनिकट मानिन्छन् । राजनीतिलाई व्यवसाय नभई सेवाभावबाट गर्ने बनाउनका लागि युवाहरू अगाडि आउनुपर्छ भन्ने मान्यता छ उनको ।

सुरेन्द्रराज अधिकारी

राजनीतिसँगै कानुन व्यवसायीको रूपमा समेत जिल्लामा परिचय बनाएका व्यक्ति हुन् सुरेन्द्रराज अधिकारी । स्थानीय निर्वाचनको मिति नजिकिएसँगै उनले छलफल र भेटघाटलाई तीव्रता दिएका छन् ।

२०३८ सालमा त्रिशुली स्कुलमा नेपाल विद्यार्थी संघको सदस्य हुँदै नेपाली कांग्रेस जिल्ला कार्यसमिति नुवाकोटका सचिव समेत बनेका अधिकारी आगामी स्थानीय तहको निर्वाचनमा विदुर नगरपालिकाबाट मेयरको आकांक्षीको रूपमा अगाडि देखिएका छन् ।

विद्यार्थी राजनीति हुँदै पार्टी राजनीतिमा आएका अधिकारी २०४० मा एसएलसी पास गरेपछि त्रिचन्द्र क्याम्पसमा इकाइ सदस्य हुँदै २०४२ मा सत्याग्रहको समयमा जेल परेका थिए । २०४५ मा त्रिचन्द्र क्याम्पसमा स्वतन्त्र विद्यार्थी संघको सदस्य बनेका उनी केन्द्रीय क्याम्पस कीर्तिपुरमा समेत स्वतन्त्र विद्यार्थी युनियनको सदस्य भए । २०४६ को आन्दोलनमा सक्रिय सहभागिता जनाएका उनी २०४८ मा नेविसंघ नुवाकोटको अध्यक्ष समेत भएका थिए ।

त्यस्तै २०५१ मा नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्यमा मनोनीत अधिकारी २०५७ को १०औँ अधिवेशनमा निर्वाचित जिल्ला कार्यसमिति सदस्य बनेका थिए । २०६१ सालको ११औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधि बनेका अधिकारी १२औँ मा कुनै पनि जिम्मेवारीमा नरहेको र २०७२ मा भएको १३औँ महाधिवेशन जिल्ला सचिवमा निर्वाचित भए ।

जिल्लामा पूर्वमन्त्री समेत रहेका कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीनिकट रहेका उनी १४औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधिको प्रत्यासी थिए । नुवाकोट आदर्श बहुमुखी क्याम्पसमा प्राध्यापकको रूपमा समेत काम गरेका अधिकारीसँग २०५५ सालबाट कानुन व्यवसायीको रूपमा काम गरेको अनुभव छ ।

हरिलाल श्रेष्ठ

हाल नेपाली कांग्रेस विदुर नगरपालिकाको नगरसभापति हुन्, हरिलाल श्रेष्ठ । पार्टीको १४औँ महाधिवेशनबाट नगरसभापतिमा निर्वाचित श्रेष्ठ आगामी स्थानीय निर्वाचनमा मेयरको आकांक्षीको रूपमा देखिएका छन् ।

२०२७ सालमा विद्यार्थीकालदेखि नै राजनीतिप्रति झुकाव राख्दै आएका उनले पञ्चायत कालमा नेपाल विद्यार्थी संघमा रहेर काम गरेका छन् । बहुदलअघिसम्म विभिन्न आन्दोलनमा सहभागी हुँदै आएका श्रेष्ठ २०४६ को परिवर्तनपछि भने खुलेर राजनीतिमा लागेका छन् ।

राजनीतिसँगै सामाजिक काममा समेत सक्रिय रहने श्रेष्ठ २०५७ मा पार्टीको १०औँ महाधिवेशन प्रतिनिधि हुँदै महासमिति सदस्य भएका थिए भने २०५८ बाट जिल्ला सदस्य बनेका उनी २०६४ सालमा महासमिति सदस्य हुँदै जिल्ला कोषाध्यक्ष भएका थिए ।

तर १२औँ महाधिवेशनमा विवाद भएपछि उनी रहेको वडा नं ९ ले भोट हाल्न सहभागी हुन नपाएका उनीले बताए । जिल्लामा पूर्वमन्त्री समेत रहेका कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीनिकट मानिने नेता श्रेष्ठ १३औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधिको प्रत्यासी रहेका थिए । हालै सम्पन्न पार्टीको १४औँ महाधिवेशनबाट नगरसभापतिमा निर्वाचित भएका श्रेष्ठ निर्वाचनको मिति नजिकिँदै गर्दा भेटघाट र छलफललाई तीव्रता दिएका छन् ।

फइसिङ तामाङ

आगामी स्थानीय तहको निर्वाचनमा विदुर नगरपालिकाबाट मेयरको आकांक्षीको रूपमा आएको अर्को नाम हो, फइसिङ तामाङ । २०७४ को स्थानीय तहको निर्वाचनमा विदुर ८ बाट वडाध्यक्ष बनेका नेता तामाङ संगठन र पार्टीका विभिन्न जिम्मेवारीमा रहेर काम गरेका छन् ।

२०४६ मा नेपाल विद्यार्थी संघमा आबद्ध रहँदै राजनीतिमा सक्रिय रहेका नेता तामाङ २०५२ सालदेखि २०५६ सम्म नेविसंघको क्षेत्रीय सभापति भएर काम गरेका थिए । त्यस्तै पार्टीको १२औँ महाधिवेशनमा जिल्ला कोषाध्यक्ष बनेका नेता तामाङ १३औँ महाधिवेशनमा महासमिति सदस्य बनेका छन् ।

जिल्लामा कांग्रेस केन्द्रीय सदस्य एवं सांसद बहादुर सिंह लामासँग निकट मानिने तामाङ पार्टीको १४औँ महाधिवेशनबाट पुनः महासमिति सदस्य निर्वाचित भएका छन् । राजनीतिसँगै समाजसेवामा समेत अघि रहेका तामाङले निर्वाचनको मिति नजिकिएसँगै भेटघाट र छलफललाई तीव्रता दिएका छन् ।

यो पनि

नुवाकोटको पञ्चकन्यामा चुनावी चर्चा : कांग्रेसबाट मेयरमा यी पाँच आकांक्षी

नुवाकोटको सुर्यगढीमा कांग्रेसबाट गाउँपालिका प्रमुखमा आधा दर्जन आकांक्षी

दुप्चेश्वरमा स्थानीय निर्वाचनको रौनक : यी हुन् कांग्रेसबाट गाउँपालिका प्रमुखको दाबेदार

ककनीमा स्थानीय निर्वाचन : कांग्रेसबाट को-को छन् गाउँपालिका प्रमुखको दाबेदार ?

स्थानीय निर्वाचनमा जुट्यो तादी कांग्रेस : गाउँपालिका हाँक्न चर्चामा यी अनुहार

शिवपुरीमा स्थानीय निर्वाचन : कांग्रेसबाट गाउँपालिका प्रमुखमा को-को छन् दाबेदार ?

लिखुमा बढ्यो चुनावी सरगर्मी : गाउँपालिकाको नेतृत्व गर्न यी हुन् कांग्रेसबाट आकांक्षी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?