लिखुमा बढ्यो चुनावी सरगर्मी : गाउँपालिकाको नेतृत्व गर्न यी हुन् कांग्रेसबाट आकांक्षी

यतिबेला ‘गाउँ–गाउँ जाऔँ, कांग्रेस जिताऔँ’ भन्ने नारासहित नेपाली कांग्रेस स्थानीय निर्वाचनको तयारीमा जुटेको छ । अघिल्लो निर्वाचनमा पराजय भोगेका धेरै स्थानीय तहमा जित हासिल गर्न कम्मर कसेर लागेको छ कांग्रेस ।

सरकारले आगामी स्थानीय तहको निर्वाचनको घोषणा गरेसँगै नेता तथा कार्यकर्ताहरू गाउँकेन्द्रित भएका छन् ।

नेपाली कांग्रेसको किल्ला मानिने नुवाकोटमा संघीय निर्वाचनमा सबै क्षेत्रमा पराजय भोगेको कांग्रेसले स्थानीय तहमा पनि सोचेजस्तो नतिजा ल्याउन सकेको थिएन ।

साबिक खानीगाउँ गाविसको सबै वडा, सुर्यमती गाविसको सबै वडा, चौघडा गाविसको वडा नं. १, २, ५, ६, ७ र ८, थानसिंह गाविसको १, २, ३, ४, ५, ६ र ७ र थानपति गाविसको ५ समेटेर ६ वडा बनाई बनाइएकाे जिल्लाको सबैभन्दा सानो लिखु गाउँपालिकामा पनि स्थानीय निर्वाचनको सरगर्मी बढेको छ ।

सरकारको घोषणाअनुसार गाउँपालिकाको नेतृत्वको लागि को आउने भन्ने चर्चा चल्न थालेको छ । यसअघि पनि कांग्रेसले जितेको गाउँपालिकामा वर्तमान प्रमुखदेखि पार्टीका क्षेत्र र स्थानीय तहमा विभिन्न जिम्मेवारीमा रहेकाहरू पालिकाप्रमुखको दाबेदारको रूपमा अगाडि आएका छन् ।

सो क्रममा धुव्र श्रेष्ठ, विनोद पाठक, उत्तम पाठक र सिताराम पुलामी मगर (राम), प्रल्हाद पन्त लगायत पालिकाप्रमुखको दाबेदारका रूपमा अघि आएका छन् ।

यस्तो छ आकांक्षीहरुको राजनीतिक इतिहास

ध्रुव श्रेष्ठ

लिखु गाउँपालिकाको वर्तमान प्रमुख हुन्, ध्रुव श्रेष्ठ । स्थानीय तहको निर्वाचनको सरगर्मी बढेसँगै श्रेष्ठ नेतृत्व दोहोर्‍याउने सुरमा छन् । श्रेष्ठ नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं १ का वर्तमान क्षेत्रीय सभापति हुन् ।

पार्टीको १४औँ महाधिवेशनबाट क्षेत्रीय सभापति बनेका श्रेष्ठसँग यसअघि पनि क्षेत्रीय सभापति बनेर काम गरेको अनुभव रहेको छ । जिल्लामा महत परिवारसँग नजिक मानिने श्रेष्ठले राजनीतिसँगै निर्माण व्यवसायलाई पनि अगाडि बढाएका छन् ।

निर्माण व्यवसायी महासंघको पूर्वकेन्द्रीय सदस्य समेत रहेका नेता श्रेष्ठ आगामी स्थानीय तहको निर्वाचनका लागि लिखुबाट स्वभाविक उम्मेदवार मानिन्छन् । निर्वाचनको सरगर्मी बढेसँगै नेता श्रेष्ठले राजनीतिक भेटघाट र छलफललाई तीव्रता दिएका छन् ।

उत्तम पाठक

आगामी स्थानीय तहको निर्वाचनमा लिखु गाउँपालिकाको प्रमुखको आकांक्षीको रूपमा आएको अर्को नाम हो, उत्तम पाठक । विद्यार्थी राजनीति हुँदै पार्टी राजनीतिमा आएका पाठक पार्टीको १४औँ महाधिवेशनबाट नेपाली कांग्रेस जिल्ला कार्यसमिति सहसचिवमा निर्वाचित भएका छन् ।

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतको विश्वास पात्रका रूपमा रहेका नेता पाठक नेपाल विद्यार्थी संघ नुवाकोटका सभापति बनेका छन् । २०७१ सालमा भएको नेविसंघको महाधिवेशनबाट जिल्ला सभापतिमा निर्वाचित भएका पाठकले जिल्ला सहसचिव निर्वाचित भएपछि कार्यवाहक दिएर पार्टीको काममा सक्रिय छन् ।

२०६० सालमा काठमाडौंको सरस्वती क्याम्पसको नेविसंघको इकाइ सभापति बनेका पाठक २०६५ सालको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा उपसभापतिका प्रत्यासी रहेका थिए । स्थानीय निर्वाचनको मिति नजिकिएसँगै नेता पाठकले जिल्ला र गाउँतिर भेटघाटलाई तीव्रता दिएका छन् ।

विनोद पाठक

नेपाली कांग्रेस लिखु गाउँपालिकाका सभापति हुन्, विनोद पाठक । पार्टीको १४औँ महाधिवेशनबाट सर्वसम्मत लिखुको सभापति बनेका पाठक आगामी स्थानीय तहको निर्वाचनमा गाउँपालिका प्रमुखको आकांक्षीको रूपमा अघि आएका छन् ।

हक्की स्वभावका पाठक पार्टीका विभिन्न जिम्मेवारीमा रहेर काम गरिसकेका छन् । २०५९ देखि २०६७ सालसम्म जिल्ला कार्यसमिति नुवाकोटको सदस्य रहेका पाठक जिल्लामा कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीनिकट मानिन्छन् ।

नेपाल रेडक्रस सोसाइटी नुवाकोट, शिक्षा समिति नुवाकोट र एन्जीयो फेडेरेसन नुवाकोटका पूर्वसदस्य समेत हुन्, नेता पाठक । माओवादी द्वन्द्वकालमा अपहरणमा समेत परेका पाठकले पनि स्थानीय निर्वाचनको मिति नजिकिएसँगै भेटघाट र छलफललाई तीव्रता दिएका छन् ।

सिताराम पुलामी मगर (राम)

नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलको राजनीतिबाट पार्टी राजनीतिमा आएका हुन्, सिताराम पुलामी मगर (राम) । जिल्लामा स्थानीय निर्वाचनको सरगर्मी बढेसँगै मगर पनि लिखु गाउँपालिकाबाट प्रमुखको आकांक्षीको रूपमा अगाडि आएका छन् ।

मगर जिल्लामा पूर्वमन्त्री समेत रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीनिकट मानिन्छन् ।

पार्टीको १४औँ महाधिवेशन लोकप्रीय मतसहित महासमिति सदस्य निर्वाचित भएका मगर सामाजिक काममा समेत सक्रिय छन् । स्थानीय निर्वाचनको सरगर्मी बढेसँगै उनले पनि भेटघाट र छलफलाई तीव्रता दिएका छन् ।

प्रल्हाद पन्त

आगामी स्थानीय तहको निर्वाचनको सरगर्मी बढेसँगै लिखुमा गाउँपालिकाप्रमुखको आकांक्षीको रुपमा आएको अर्को नाम हो, प्रल्हाद पन्त । पार्टीको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) हुँदै पार्टीको राजनीतिमा आएका पन्त भद्र स्वभावका मानिन्छन् ।

पार्टीको १४औँ महाधिवेशनबाट नेपाली कांग्रेस नुवाकोटका जिल्ला कार्यसमिति सदस्यमा निर्वाचित पन्त कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतनिकट मानिन्छन् ।

राजनीतिसँगै विभिन्न संस्थामा आबद्ध रहेर काम गरेका पन्त यसअघि पनि लिखुबाट प्रमुखको दाबेदारको रुपमा रहेका थिए । स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै नेता पन्तले भेटघाट र छलफललाई तीव्रता दिएका छन् । कुनै पदमा नरहे पनि लामो समयसम्म राजनीतिमा रहेका कारण पार्टीले उचित जिम्मेवारी दिनुपर्नेमा नेता पन्तको जोड छ ।

यो पनि

नुवाकोटको पञ्चकन्यामा चुनावी चर्चा : कांग्रेसबाट मेयरमा यी पाँच आकांक्षी

नुवाकोटको सुर्यगढीमा कांग्रेसबाट गाउँपालिका प्रमुखमा आधा दर्जन आकांक्षी

दुप्चेश्वरमा स्थानीय निर्वाचनको रौनक : यी हुन् कांग्रेसबाट गाउँपालिका प्रमुखको दाबेदार

ककनीमा स्थानीय निर्वाचन : कांग्रेसबाट को-को छन् गाउँपालिका प्रमुखको दाबेदार ?

स्थानीय निर्वाचनमा जुट्यो तादी कांग्रेस : गाउँपालिका हाँक्न चर्चामा यी अनुहार

शिवपुरीमा स्थानीय निर्वाचन : कांग्रेसबाट गाउँपालिका प्रमुखमा को-को छन् दाबेदार ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?