स्थानीय तहको निर्वाचन जित्न के-के छन् कांग्रेसका योजना ? (पूर्णपाठ)

लोकपथ
221
Shares

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले आगामी स्थानीय तहको निर्वाचनमा विभिन्न योजनासहित गाउँगाउँ जाने भएको छ ।

सोही अनुरुप कांग्रेसले ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान सुरु गर्ने भएको छ ।

कांग्रेसले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई केन्द्रीत गरेर एक महिने ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान सञ्चालन गर्ने भएको हो । बुधबार पार्टीको केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै प्रवक्ता डा. प्रकाशशरण महतले फागुन २९ गतेदेखि चैत्र २९ गतेसम्म सो अभियान सञ्चालन गर्न लागिएको जानकारी दिए । अभियानका क्रममा कांग्रेसले स्थानीय तह निर्वाचनमा सहभागि भई लोकतान्त्रिक अधिकार प्रयोग गर्न सम्पूर्ण मतदाताहरुलाई अपिल गर्ने तथा कांग्रेसका नेता, कार्याकर्ताहरुलाई एकतावद्ध बनाएर परिचालन गर्ने उनले बताए । त्यस्तै सो अवधिमा ‘हरेक काँधलाई भारी, हरेक हातलाई जिम्मेवारी’ भन्ने नाराका साथमा पार्टीको सबै संरचनालाई पूर्णता दिइने भएको छ । प्रवक्ता महतका अनुसार कांग्रेसले हालसम्म गरेको राजनीतिक तथा आर्थिक उपलब्धीहरुलाई जनताको माझमा राख्ने, कांग्रेसले वर्तमान सरकारको नेतृत्व गर्नुपर्नाको कारण र यस अघिको सरकारले गरेका गैरसंवैधानिक काम तथा भ्रष्टाचारहरुको सम्बन्धमा जनतालाई सुसुचित गराउने लक्ष्य राखिएको छ ।

प्रवक्ता महतले एमसीसी सम्झौताको सम्बन्धमा अन्य राजनीतिक दलहरुले फैलाएको भ्रमको सम्बन्धमा पनि जनतालाई सुसुचित गर्नका लागि यस सम्बन्धमा प्रशिक्षण समेत सञ्चालन गर्ने बताए । एमसीसी नेपालको आवश्यकता र हितमा रहेको कुरा जनतालाई कांग्रेसले स्पष्ट रुपमा बुझाउने उनले उल्लेख गरे । उनले भने– ‘एमसीसीको बारेमा अत्यन्त नकारात्मक प्रचार गरिएको छ । दुष्प्रचार गरिएको छ । भ्रम फैलाइएको छ । त्यो भ्रमलाई चिर्नु हाम्रो जिम्मेवारी हो । किनभने नेपाली कांग्रेस पार्टी यथार्थ कुरामा विश्वास गर्छ । सत्य कुरामा विश्वास गर्छ । सत्तामा हुँदा एउटा कुरा, सत्ता बाहिर अर्को कुरा हामी गर्दैनौँ । त्यसो हुनाले यो हाम्रो जिम्मेवारी हो । कर्तव्य हो । जति बाँकी बचेको भ्रम र दुष्प्रचार छ त्यसलाई हामी चिर्छौ । यो विकास सहयोग हो । अनुदान सहयोग हो । अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट ठेक्का लाग्छ । नेपालकै संयन्त्र अर्थ मन्त्रालय अन्र्तगतको सचिवको नेतृत्वको संयन्त्रले यो कार्यान्वयन गर्छ । र अरु खाले अनुदान सहयोग सँग हामीले तुलना गर्ने हो भने यो धेरै उदार प्रकृतिको छ । हामीलाई थाहा छ अहिलेसम्म हामीले प्राप्त गरिराखेको अनुदान सहयोगमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धा हुँदैन । उनीहरुकै देशको ठेकेदार, उनीहरुकै कानून अनुसार आउँछ । उनीहरुकै सामग्री, उनीहरुकै मेशिनरी, उनीहरुकै कामदार समेत आउँछ । त्यति मात्रै होइन ऋण सहयोगमा समेत उनीहरुकै ठेकेदार आउने प्रवन्ध छ । जबकी यो एमसीसी अन्र्तगत आउने अनुदान जुन सडक र ट्रान्समिशन लाइनमा आउँदैछ, हाम्रै प्राथमिकता अनुसार हामीले नै मागे अनुसार, हामीले नै प्रस्ताव गरे अनुसार सहयोग आउँदैछ ६० अर्ब भन्दा ज्यादा अहिलको सटही दर अन्र्तगत आउँदैछ । यो ठुलो रकम हो । यो हाम्रो आवश्यकता अनुसार आइरहेको छ । यो अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट सम्पन्न हुन्छ । त्यसकारण एउटा नयाँ नजिर यो सहयोगको इतिहासमा नयाँ नजिर स्थापित हुन्छ । र यो स्थापित भयो भने अरु दातृ राष्ट्रहरुलाई पनि आफ्नो ऋण सहयोगको जुन सर्तहरु छ, अनुदानका जुन सर्तहरु छ, ति सर्तहरुमा पुर्नविचार गर्नुपर्ने स्थिति आउँछ । त्यसले मलाई लाग्छ एउटा सकारात्मक दिशातर्फ विदेशी सहयोग जुन हामीले लिन्छौँ, त्यसमा सकारात्मक प्रभाव पर्छ । यो सम्बन्धमा जुन भ्रमहरु छन् अमेरिकाको सेना आउँछ भन्ने जस्ता हुँदै नभएका कुराहरु जबकी त्यसमा कुनैपनि सैन्य प्रयोजनका लागि यो सहयोग उपयोग गर्न पाइदैन भनेर स्पष्ट छ । त्यसका बाबजुद यो भ्रम छ यि तमाम कुराहरु चिर्न प्रशिक्षण दिने ।’

अभियान सफल पार्नका लागि कांग्रेसले ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि पठाउने भएको छ । फागुन २९ गते सबै जिल्लाबाट अभियानको शुभारम्भ गरिने प्रवक्ता महतले बताए । अभियानलाई सफल बनाउन पार्टी प्रदेश कमिटी र जिल्ला कमिटीले कार्ययोजना बनाउने उनको भनाई छ । स्थानीय कमिटीले स्थानीय तह निर्वाचनका लागि घोषणापत्र तयार गर्ने पनि प्रवक्ता महतले जानकारी दिए ।

पत्रकार सम्मेलनमा बोल्दै नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले आसन्न स्थानिय तह निर्वाचनमा गठबन्धन गर्ने सम्बन्धमा अहिले कांग्रेसले कुनै निर्णय नगरेको बताए । कांग्रेसको अभियानमा समेत गठबन्धनको सम्बन्धमा कुनै छलफल नहुने उनले स्पष्ट पारे । आगमी दिनमा पार्टीको केन्द्रीय समिति र केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेर मात्रै यस सम्बन्धमा आधिकारिक निर्णय गरिने र सोही निर्णयको आधारमा अघि बढ्ने उनले बताए । उनले भने– ‘गठबन्धनको विषयमा निर्वाचनको प्रक्रियाको छलफलको क्रममा हाम्रो पार्टीको केन्द्रीय कार्यसमितिको बैठक बस्छ । केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्छ । कार्यसमितिको बैठकले चुनावका बारेमा, चुनावी तालमेलका बारेमा, चुनावी गठबन्धनका बारेमा व्यापक छलफल गरेर निष्कर्षमा हामी पुग्छौँ । पार्टीको त्यो निष्कर्षभन्दा अगाडी अहिले गठबन्धन हुन्छ कि हुन्न ? तालमेल हुन्छ कि हुन्न ? भनेर छलफलको विषय हामी बनाउँदैनौँ । त्यो अपरिपक्व छलफल हुन्छ । त्यसैले पार्टीको केन्द्रीय कार्यसमिति, कार्य सम्पादन समितिको बैठक बस्छ । त्यो बैठकमा व्यापक छलफल हुन्छ । जसरी एमसीसीमा कांग्रेस सर्वसम्मतिले एउटा निर्णयमा पुग्यो, त्यसैरी यो चर्चामा आएको गठबन्धन चुनावी तालमेलको सम्बन्धमा सर्वसहमतीले हामी एउटा निर्णय गर्छौ । त्यो निर्णय लिएर जनताको बिचमा जान्छौँ । यसबाहेक कांग्रेस अल्मल्लिने पक्षमा छैन ।’

देशको परिस्थिति, गठबन्धन सरकारको भविष्य लगायतका तत्कालिन परिस्थितिको अध्ययन गरेर मात्रै गठबन्धनबारे सुविचारित निर्णय लिइने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?