पूर्वस्थायी समितिबाट काम चलाउँदै माओवादी

लोकपथ
0
Shares

नेकपा माओवादी केन्द्रको महाधिवेशनपछि पदाधिकारी चयन हुन नसक्दा पूर्वस्थायी समिति सदस्यको बैठकबाट काम चलाउन थालिएको छ। पार्टीका लागि आवश्यक निर्णय गर्नुपर्ने भएपछि पूर्वस्थायी समिति सदस्यको बैठक राखेर काम चलाउन थालिएको हो।

माओवादी केन्द्रले शनिबार आयोजना गरेको एउटा बैठकमा पूर्व स्थायी समितिका सदस्य मात्रै सहभागी थिए। पार्टी विधानमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्षको व्यवस्था भए पनि पदाधिकारी चयन हुन सकेको छैन। पदाधिकारी चयन नहुँदा स्थायी समिति र पोलिटब्युरो गठन हुन सकेको छैन।

पुस ११ देखि एक साता लगाएर भएको महाधिवेशन केन्द्रीय कमिटी चयनबाहेक पदाधिकारी, स्थायी कमिटी, पोलिटब्युरो चयन नगरी सकिएको थियो।

‘अहिले स्थायी समिति बनेको छैन। पदाधिकारीहरू चयन नहुँदासम्म पूर्वसंरचनामा रहेको स्थायी समितिकै बैठकबाट निर्णय हुन थालेको छ’, एक पूर्व स्थायी समिति सदस्यले भने, ‘कसका लागि रोकिएको, किन रोकिएको भन्ने पनि जानकारी छैन।’

माओवादी केन्द्रका कार्यालय सचिव श्रीराम ढकालका अनुसार अहिलेलाई पुरानै संरचनाको स्थायी कमिटीबाट काम चलाइएको छ।

‘कोरोना संक्रमणदर बढेको छ। यस्तो अवस्थामा केन्द्रीय समितिको बैठक बस्न सकेको छैन। संक्रमणदर कम भएपछि केन्द्रीय कमिटीको बैठक बस्नेछ। त्यसबाट पदाधिकारी र स्थायी कमिटी चयन हुनेछ’, उनले भने। नागरिक दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?