गौचन हत्या र हाम्रो सुरक्षा अवस्था

राज्यलक्ष्मी शाक्यसोमबार काठमाडौंको व्यस्त स्थानमा निर्माण व्यवसायी शरदकुमार गौचनको हत्या भएको दुःखद खबर आयो । देशकै राजधानीको मुटु मानिने बानेश्वरमा भएको उक्त घटनाले सम्पूर्ण व्यावसायिक नागरिकहरूलाई एकपटक नराम्ररी झस्काएको छ । घटना आफैँमा अकल्पनीय र दुःखद त छँदै छ नै हाम्रो सुरक्षा अवस्थाप्रति प्रश्नचिह्न समेत खडा गरेको छ । डाँफे कन्स्ट्रक्सनका प्रबन्ध निर्देशकसमेत रहेका गौचनलाई घरबाट निस्किएपछि अज्ञात समूहले गोली प्रहार गरेको थियो । प्रत्यक्षदर्शीका अनुसार बानेश्वरको प्रयाग मार्गमा बा१३च ४९४८ नम्बरको ल्यान्डक्रुजर प्राडो गाडीमा सवार भएर आउँदै गर्दा सुरुमा उनी सवार गाडीमाथि मास्क लगाएर बसेका अग्लो कद भएका एक आक्रमणकारीले इँटा र ढुंगा प्रहार गरेका थिए । लगत्तै अर्का आक्रमणकारीले गौचनमाथि तीनवटा गोली प्रहार गरेका थिए । गौचनको उपचारको क्रममा मृत्यु भएको थियो ।गौचनको हत्यालगत्तै निर्माण व्यवसाय, परिवार तथा सर्वसाधारणले बानेश्वर सडक अवरुद्ध गर्दै हत्यारालाई छिटोभन्दा छिटो पक्रन सरकारसँग माग गरेको थियो । तर, हत्या भएको दुई दिनसम्म पनि प्रहरीले दोषीलाई पक्राउ गर्न सकेको छैन । गौचन हत्याले हाम्रो सुरक्षा अवस्था अत्यन्तै नाजुक रहेको प्रष्ट पारेको छ । साथै, काठमाडौं पनि असुरक्षित बन्दै गएको देखिएको छ । केही वर्षयता विभिन्न आपराधिक समूहका व्यक्तिहरूले व्यवसायीहरूलाई आफ्नो टार्गेट बनाउँदै आएका छन् । त्यस्तो टार्गेट काठमाडौंका हाइप्रोफाइलका व्यक्तिहरूलाई गरिएको पाइएको छ । तर, यसरी आपराधिक समूहले व्यवसायीलाई आफ्नो निशाना बनाउँदा पनि सरकार र सुरक्षा निकाय भने मस्त निद्रामा नै छ । अझ जनसमुदायलाई भ्रममा पार्ने मनोदशामा रहेको गृहमन्त्री जनार्दन शर्माको गौचन हत्या प्रकरणमा दिएको अभिव्यक्तिले पुष्टि हुन्छ । गृहमन्त्री शर्माले गौचन हत्यामा संलग्न ३ जनालाई पक्राउ गरेको बताएका थिए । तर, प्रहरीका अनुसार उक्त घटना हुनुभन्दा केही समयअघि नै नै पेस्तोलसहित ३ जनालाई पक्राउ गरिएको थियो । हत्या हुनुभन्दा अघि नै पक्राउ परेका व्यक्तिलाई हत्यामा संलग्न व्यक्ति पक्राउ परेको भनेर आम जनसमुदायलाई भ्रममा पार्ने गलत काम गृहमन्त्रीबाट भएको छ । यसले सरकार र सुरक्षा निकायमाथि सर्वसाधारणको विश्वास घटाउने निश्चित नै छ ।यो घटनाबारे पूर्वसूचना पाएर पनि सुरक्षा निकायले लापरबाही गर्दा घटना घट्न पुगेको अर्को रहस्य खुलेको छ । घटना घटाउनुमा आपराधिक गिरोहका नाइके मनोज पुनले जिम्मेवारी लिएका छन् । घटना घटेलगत्तै उक्त समूहले प्रहरीलाई फोन गरी आफूले घटना घटाएको जिम्मेवारी लिएका थिए । मनोज पुन बुटवलका व्यक्ति हुन् । उनले युवा संघ रूपन्देहीका दुर्गा तिवारीको हत्या गरी फरार भएका थिए । त्यसपश्चात् भारतलगायतका देशमा बसी पुनले आफ्नो निर्देशनमा नेपालमा आतंक मच्चाउने काम गर्दै आएका छन् । बुटवल क्षेत्रमा व्यवसायीहरूलाई धम्क्याउँदै रकम असुल्दै आएका छन् । त्यही क्रममा पक्राउ परेका पुन समूहका व्यक्तिहरूले आफ्नो टार्गेट अब काठमाडौं रहेको प्रहरीलाई जानकारी दिएका थिए । उक्त समयमा बुटवल प्रहरी प्रमुख हालका एसएसपी रवीन्द्रसिंह धानुक थिए र उनी अहिले काठमाडौं प्रहरी प्रमुख छन् । यदि उनी नेतृत्वको प्रहरीले यस विषयलाई गम्भीरताका साथ लिएको भए सायद यो घटना नघट्न पनि सक्थ्यो । तर, यस विषयमा पनि प्रहरी चुकेको छ ।घटना घटेसँगै सबै व्यवसायीहरूमा अहिले त्रास फैलिरहेको छ । उनीहरूलाई विभिन्न आपराधिक समूहबाट ज्यान मार्नेसम्मका धम्की आउन थालेको छ । तर, प्रहरीले गौचन हत्या भएको दुई दिनसम्म पनि एक जनालाई पनि पक्राउ गर्न सकेको छैन । त्यसकारण यस प्रकरणमा प्रहरीको असफलता साबित भइसकेको छ । शान्तिसुरक्षाका लागि सरकार गम्भीर नरहेको पनि पुष्टि भएको छ । यसले व्यवसायीहरूलाई राज्यमाथि नै भरोसा उठेको छ । व्यवसाय गरेर राज्यलाई कर तिरी देश विकासमा योगदान पु¥याउने व्यवसायीको शान्तिसुरक्षामा सरकारको ध्यान आकर्षण हुन जरुरी छ । सरकार आफ्नो उपस्थिति बोध नागरिकमाझ गराउनु पहिलो कर्तव्य हो ।[email protected]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?