उपत्यकामा हराएका मोबाईल यसरी भेटिन्छन् दुर्गम गाउँगाउँमा !

काठमाडौं । राजधानीको खिचापोखरीबाट हराएको मोबाइल महिना दिनपछि नेपाल–भारत सीमाना नजिक रुपन्देहीमा फेला पर्यो ।

आईएमई नम्बर परीक्षण गर्दा एनसेलको सीम प्रयोग गरेको अवस्थामा सो मोबाइल फेलापरेको हो । हराएको मोबाइल बरामद गर्न रुपन्देही पुगेको प्रहरीले मोवाइल सेट र व्यक्तिलाई भने पक्रन सकेन ।
महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार, हराएको मोवाइल सेटमा सीम प्रयोग गर्ने व्यक्ति भारतीय नागरिक थिए । मोटरसाइकलका पार्टपूर्जा आयात–निर्यात व्यापारमा संलग्न ती व्यक्तिले नेपाल मै रहेको वेला एनसेलको सीम प्रयोग गरेका थिए ।  

त्यस्तै, स्वयंभूबाट हराएको एउटा आइफोन पर्साको ग्रामीण क्षेत्रमा प्रयोग भएको अवस्थामा पाइएको छ । कतिपय सेटहरु नेपालकै दुर्गम ग्रामीणक्षेत्रमा प्रयोग अवस्थामा फेला परेका छन् ।
पीडितको आग्रहमा स्थानीय प्रहरी आइफोन सेटमा प्रयोग भएको सीमकार्ड धनीको घरसम्म पुग्यो तर त्यो सीम उनले भारतीयलाई प्रयोग गर्न दिएकाले मोवाइल सेट बरामद हुन सकेन ।

काठमाडौं उपत्यकाबाट हराएका तथा चोरी भएका अधिकांश मोबाइल सेट नेपाल–भारत सीमाक्षेत्रमा प्रयोग हुनेगरेका छन् ।

विभिन्न कम्पनीका महँगो मोवाइल सेटहरु काठमाडौंमा सक्रिय आपराधिक समूहले चोरी गरी भारत पु¥याउने गरेका छन् ।

नेपालमै प्रयोग गर्दा प्रहरीले पत्ता लगाउने डरले उनीहरुले चोरीका सेट नेपालको सीमाना नजिकका भारतीय बजारमा सस्तो मूल्यमा बिक्री गर्छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता मोहन थापा भन्छन्– “उपत्यकामा हराएको मध्ये धेरैजसो मोवाइल सेट फेला नपर्नुको मुख्य कारण सीमा पारि विक्री हुनु नै हो ।’ परिसरका अनुसार, एक महिनामा पाँच सयदेखि एकहजार वटासम्म मोबाइल सेट हराएको तथा चोरी भएको उजुरी आउने गरेको छ ।  तीमध्ये फेलापर्ने सङ्ख्या न्यून छ । यो एक महिनाको अवधिमा ४६० वटा सेट हराएको उजुरी परेको छ तर ९० वटामात्र फेला परेका छन् ।

परिसर प्रवक्ता थापाका अनुसार–अहिले त कतिपय मोबाइल सेटका पार्टपूर्जा काठमाडौंमै बिक्री हुनेगरेको पाइएको छ ।
चोरीमा देखिएको यो ‘टे«न्ड’ ले अपराधीलाई उन्मुक्ति पाउन सहज भएको छ ।”
प्रहरीका अनुसार, पकेटमारी र चोरी, डकैतीभन्दा पनि व्यक्तिकै कमजोरीका कारण मोबाइल सेट हराउने र चोरी हुने समस्या अत्यधिक रहेको र मोबाइल हराएको उजुरी गर्नेमा युवतीहरु धेरै हुनेगरेका छन् ।
पछाडिको भागमा रहने खल्ती (बगली) तथा ब्यागभित्र राख्ने भएकाले धेरै मोबाइल सेट हराउने, चोरी हुने गरेको छ । राखेको ठाँउमा बिर्सेरसमेत धेरै मोबाइल हराउने गरेको छ ।
चोरीका मोबाइल किन्न भारतबाटै मानिसहरुको समूह राजधानीसम्म आइपुग्ने गरेको भनाइ प्रहरीको छ ।
भारतको बिहारका मोतिहारी, मजफ्फरपुरलगायत क्षेत्रबाट मिस्त्री कामको खोजीमा भन्दै विशेषगरी सुनका गहना र मोबाइल सेट लुटपाट, चोरी, डकैती गर्न समूह नै बनाएर मानिसहरु नेपाल आउने गर्छन् ।
हप्ता–पन्ध्र दिनको बसाइपछि काठमाडौंमा क्रियाशील नेपालकै आपराधिक समूहसँग सम्पर्क गरेर त्यस्ता समूहले सके आफैँ चोर्ने र लुट्ने गर्छन् भने नसके नेपाली लुटेराबाट सस्तो मूल्यमा किनेर भारत पुर्याछन । महिना दिनको बसाइमा एक जनाले १० देखि १५ वटासम्म मोबाइल सेट जम्मा गरेर भारत पु¥याउँछन् ।
भारतीय बजारमा यस्ता ‘सेकेण्ट ह्याण्ड’ सेटहरुको खरिद–बिक्रीका लागि मेला नै लाग्ने भएकाले त्यहाँ किनेका सेट बोकेर विभिन्न कामले नेपाल आएका भारतीय नागरिकले यतैको सीम प्रयोग गर्दा चोरीको सेट प्रयोग भएको अवस्थामा फेला पर्ने गरेका घटना समेत पाइएको छ ।
अनुसन्धानमा संलग्न प्रहरीका अनुसार, सेटको सम्पूर्ण पाटपूर्जा झिकेर बिक्री गर्ने भएकाले आईएमई नम्बरका आधारमा मोबाइल सेट पक्रन पनि समस्या भइरहेको छ ।

भारतीय बजारमा यस्ता ‘सेकेण्ट ह्याण्ड’ सेटहरुको खरिद–बिक्रीका लागि मेला नै लाग्ने भएकाले त्यहाँ किनेका सेट बोकेर विभिन्न कामले नेपाल आएका भारतीय नागरिकले यतैको सीम प्रयोग गर्दा चोरीको सेट प्रयोग भएको अवस्थामा फेला पर्ने गरेका घटना समेत पाइएको छ । अनुसन्धानमा संलग्न प्रहरीका अनुसार, सेटको सम्पूर्ण पाटपूर्जा झिकेर बिक्री गर्ने भएकाले आईएमई नम्बरका आधारमा मोबाइल सेट पक्रन पनि समस्या भइरहेको छ ।

चोरीका मोबाइलको कारोबार नियन्त्रण गर्न प्रहरीले पटक–पटक पसलहरुमा छापामारे पनि फेला नपर्नुमा मुख्य कारण यही नै हो ।
प्रहरीको एक तथ्याङ्कले काठमाडौं उपत्यकाबाट मोबाइल सेट हराउने र चोरी समस्यालाई विकराल देखाएको छ ।  
आर्थिक २०७३÷०७४ मा आठहजार ६१९ मोबाइल सेटहरु हराएको उजुरी आएको छ । जुन मोबाइल सेटहरुको वजार मूल्य १० हजार भन्दा माथि नै छ । तर, फेला परेको संख्या भने छसय ८१ मात्र छ ।  
त्यस्तैं, यही साउनमा हराएको ९७१ फेला परेको तीनसय, भदौमा ९३ फेला परेको ३०, असोजमा ८७० फेला परेको ३३६, कात्तिकमा एकहजार १७ फेला परेको १५२ र मङ्सिर १७ गतेसम्म हराएको ४६० फेला परेको ९० छन् ।
हराएको तुलनामा थोरै कम सेटहरुमात्र फेला पर्छन । यसपछाडिको मुख्य कारण सेटहरुलाई टुत्र्mयाएर पार्टपूर्जा विक्री वितरण गर्नु र सीमा कटाउनु नै हो ।
तर, मोबाइल ब्यापारीहरु भने चोरीको मोबाइल खरिद नगर्ने उर्दि नै जारी भएको बताउछन् ।
न्यूरोडका मोबाइल ब्यापारी सविन प्रधान चोरीको खरिद गर्दैनौ, सेकेण्डह्याण्ड किने पनि व्यक्तिगत विवरण उल्लेख गरी खरिद गर्ने गरेको बताउछन्  ।
प्रहरीले चोरीको मोबाइल किनेको अभियोगमा गतवर्षमात्र न्यूरोडमा सातजना ब्यापारीलाई कारवाही गरेको थियो ।

मोबाइल फोन किन हुन्छ चोरी ?
आधुनिक सूचना प्रविधिको विकाससंगै मोबाइल मानव जीवनका लागि अनिवार्यजस्तै भएको छ । मान्छेको साथबाट कहिलै नछुटने बस्तु भनेको नै मोबाइल हो ।
तर, यही मोबाइल बारम्वार हराउने, चोरी हुने, लुटिने र छुट्ने गर्छ । आइटी विज्ञ अमित सिंह भन्छन्, मोबाइल मान्छेको प्रिय बस्तु हो । यो सबैले प्रयोग गर्छन तर, सावधानी अपनाउदैनन ।
एउटा मोबाइल सेट हराउदा मान्छे जति दुखी हुन्छ, त्यो भन्दा बढी सेटभित्रका सूचना सामाग्रीहरु गुमाउदा दुखी हुनु पर्ने हुन्छ ।
मोबाइललाई सुरक्षित राख्न स्वयम् व्यक्ति सचेत हुनु पर्छ । विग्रदा बनाउन सकिन्छ तर, हराउदा प्राप्त गर्न गाह्रो हुन्छ ।
मोबाइल हराउने समस्याबाट जोगिन उहाँका केही सुझावहरु छन्–जस्तो जहिले पनि पेण्टको अगाडि भागमा राख्ने ।
सार्वजनिक यातायात चढ्दा तथा भिडभाडमा हिड्दा सेट हातमा बोक्ने, खाजा खान जाँदा वा कहि बस्दा हिड्नु भन्दा पहिला मोबाइल समात्ने र घरमा बामलबालिकाले नचलाउन सक्ने गरी सुरक्षित रुपमा राख्ने ।
यदि हराएमा  के गर्ने ?
मोबाइल हराएमा तत्काल प्रहरी कन्ट्रोल १०० मा फोन गर्नुहोस र घटनाको विवरण दिनु होस ।

तपाईले दिएको सूचनाको आधारमा प्रहरीले आवश्यक सूचना संकलन गरी मोबाइल हराएको स्थानमा प्रहरी परिचालन गरी फेला पार्ने सम्भावना हुन सक्छ ।

शंका लागेको व्यक्तिको हुलिया पनि खुलाइ दिदाँ अनुसन्धान गर्न झन सजिलो हुन्छ महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाका प्रहरी नायव निरीक्षक केदार तिमिल्सेनाले भने ।

मोबाइलको आइएमीइ नम्वर सहितको निवेदन नजिकको प्रहरी कार्यालयमा दर्ता गराउनु पर्छ ।

सोही निवेदनका आधारमा प्रहरीले नेपाल टेलिकम तथा एनसेल लगायतका सीम कार्ड प्रदायक कम्पनीसंग सिडिआर माग्ने गर्छ ।जस्ले गर्दा हराएको तथा चोरी भएको सेटमा सीम राख्ने वित्तिकै सम्वन्धित कम्पनीमा रेकर्ड बस्ने गर्छ ।

सोही सीम नम्वरको आधारमा प्रहरीलाई सेट बरामद गर्न र चोरसम्म पुग्न सहज हुन्छ ।  

चोरी मुद्धामा कानुनले के भन्छ ?
मोबाइल चोरी मुद्धामा कानुन नै छैन भन्दा पनि हुन्छ । मुलुकी ऐन चोरी महलले चोरलाई एकमहिनादेखि पाँचवर्षसम्म जेल सजायको ब्यवस्था गरेको छ ।
तर, यसका लागि सवुत प्रमाणसंगै बारम्वार चोरी घटनामा पक्राउ परेको अभियुक्त हुन आवश्यक हुन्छ । ललितपुरबाट पक्राउ परेको एक भारतीय अपराधिक समूह धरौटिमा रिहा भएको थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?