पारपाचुके गर्दा ८ हजार वर्ष कैद

लोकपथ
312
Shares

अस्ट्रेलियाका एक व्यक्तिलाई इजरायलमा पारपाचुके गर्दा ८ हजार वर्षको कैद सजाय सुनाइएको छ ।
४४ वर्षीय नोआ हुपर्टलाई पूर्व श्रीमतीले दुई सन्तानको लालन पालन र उनीहरूको शिक्षाको जिम्मेवारी लिनु पर्ने बताउँदै अदालतमा मुद्दा दायर गरेकी थिइन् । अदालतले ती महिलाको पक्षमा सुनुवाइ गर्दै ३० लाख अमेरिकी डलर (३५ करोड ७० लाख रुपैंया) दिनु पर्ने नदिएको खण्डमा ८ हजार वर्षसम्म इजरायलमै कैद भएर बस्नु पर्ने फैसला गरेको छ ।

सन् २०१२ मा श्रीमतीसँग अलग भएपछि नोआ आफ्ना दुई बच्चा सहित इजरायल आएर बसेका थिए । तर उनको पूर्व श्रीमतीले इजरायलमा आएर क्षतिपूर्तिको माग राखेर मुद्दा दायर गरेकी थिइन् । मुद्दाको सुनुवाइ गर्दै सन् २०१३ मै नोआलाई इजरायल छोडेर जान नपाउने फैसला गरेको थियो । छोराछोरीको शिक्षा दीक्षालाई उनीहरूको उमेर १८ वर्षसम्म नपुग्दा बेहोर्नु पर्ने भएपछि उनलाई इजरायलबाट बाहिर अन्यत्र जान नमिल्ने भएको थियो । जसको कारण सन् २०१३ देखि उनी इजरायलमै कैद भएर बस्नु परेको छ ।

नोआका अनुसार इजरायलको यो कानुन अनुसार उनी जस्ता धेरै व्यक्ति अहिले इजरायलका युवतीसँग विवाह गरेर पारपाचुके गर्दा यस्तै किसिमको सजाय पाएर बसेका छन् । इजरायलको कुन कानुनले यो किसिमको फैसला गर्‍याे भन्ने कुरा नोआलाई थाहा छैन । तर अदालतको फैसलामा उनले सन् ९९९९ को डिसेम्बर ३१ सम्म इजरायल छोड्न नपाउने भन्ने रहेको छ ।

एक औषधि कम्पनीमा ‘एनालाइटिक केमिष्ट’को रूपमा कार्यरत नोआले आफूलाई परेको जस्तो अन्याय अरूलाई नपरोस् भनेर अहिले आवाज उठाइरहेका छन् । इजरायलको कानुन अनुसार महिलाले बालबालिकाको शिक्षा दीक्षा र लालन पालनको विषयलाई लिएर महँगो रकम माग गरेर मुद्दा दायर गर्न पाउँछन् । उक्त मूल्य तिर्न तत्काल नसक्दासम्म देश बाहिर जान नपाउने कानुन रहेको छ । यो कानुन अनुसार बच्चाको बाबुले आफ्नो आम्दानी भन्दा सैयौं गुणा बढी रकम तिर्नुपर्ने बाध्यता रहेको छ । जुन कुरा असम्भव प्रायः देखिन्छ । नोआले आफूले पाएको यो सजायलाई सार्वजनिक गरेपछि अहिले यो कानुनको विषयमा सर्वत्र चर्चा चल्न थालेको छ ।

नोआले पाएको सजायका विषयमा अहिले ब्रिटिस पत्रकार मारिआना अजिजिले जनचेतना जगाउने किसिमका समाचारहरू लगातार सम्प्रेषण गरिरहेकी छिन् । पारपाचुके गर्दा यस्तो किसिमको सजाय इजरायलमा पाइन्छ र यहाँका युवतीसँग विदेशीले विवाह गर्दा धेरै सोच्नु पर्ने अवस्था हुन्छ भन्ने रहेको छ । यस्तो किसिमको सजाय पाएर अहिले इजरायलमा कति व्यक्ति कैदको रूपमा रहेका छन् भन्ने विषयमा राजदूतावासहरूलाई समेत जानकारी नरहेको कारण यकिन तथ्याङ्क थाहा पाउन नसकेको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?