अस्ट्रेलियाको संसदमा प्रत्येक तीन जना महिलामा एक जना यौन हिंसापीडित

लोकपथ
2k
Shares

अस्ट्रेलियाको संसदमा रहेका महिला सभासद् र कर्मचारीहरूमाथि हुने गरेको यौनजन्य हिंसाले सर्वत्र चर्चा पाइरहेको अवस्थामा मंगलबार सार्वजनिक भएको एक प्रतिवेदनले झनै झस्काउने काम गरेको छ ।

संसदमा कार्यरत एक महिला कर्मचारीलाई बलात्कार भएको घटना सार्वजनिक भएपछि एक उच्चस्तरीय छानबिन आयोग गठन गरिएको थियो । उक्त आयोगले सांसदका सभासद र महिला कर्मचारीहरूमाथि हुने गरेको यौनजन्य हिंसाको विस्तृत रूपमा अनुसन्धान गर्दा झनै चकित पार्ने नतिजा सार्वजनिक भएको थियो ।

सात महिना लगाएर गरिएको यो अनुसन्धानअनुसार अस्ट्रेलियाको सांसदका सभासद र महिला कर्मचारीहरूमध्ये प्रत्येक तीन जनामा एक जना महिला, कार्यालयमा काम गर्ने क्रममा यौनजन्य हिंसामा परेको प्रतिवेदन सार्वजनिक गरेका छन् ।

६३ प्रतिशत महिला सभासद रहेको अस्ट्रेलियाको संसदमा भइरहेको महिला हिंसाको यो घटनाले अहिले सबैलाई चकित बनाएको छ । १ हजार ७ सय व्यक्तिसँग व्यक्तिगत रूपमा सोधेर गरिएको अनुसन्धानअनुसार केही पुरुष राजनेताले महिलालाई बोक्ने, ओठमा चुम्बन गर्ने, छुने, पुट्ठामा हत्केलाले हिर्काउने, देख्दा बोलेर प्रतिक्रिया दिनेजस्ता कार्यहरू सामान्य रूपमा गर्ने गरेको बताएका थिए ।

अहिले आएको यो प्रतिवेदनलाई अस्ट्रेलियाका विभिन्न २८ वटा निकायमा पठाउन सिफारिस गरिएको छ । जसमा राजनीतिक नेता देखि लैङ्गिक विभेदविरुद्ध काम गर्ने निकायहरू रहेका छन् । यो प्रतिवेदन उक्त निकायमा पठाउन पाएमा भविष्यमा महिलामाथि हुने यौनजन्य हिंसालाई कम गर्न सकिने विश्वास राखिएको छ ।

यो प्रतिवेदन अस्ट्रेलियाको संसदमा कार्यरत महिला कर्मचारी ब्रिट्नी हिगिन्सलाई मन्त्रालयमै कन्जरभेटिभ लेबरल पार्टीका सदस्यले बलात्कार गरेको आरोप सार्वजनिक भएपछि व्यापक आक्रोशका बीच छानबिनको माग गरिएको थियो । हिंगिन्सले लगाएको आरोपको मुद्दा अहिले पनि अदालतमा विचाराधीन अवस्थामा रहेको छ । यो विषयमा अस्ट्रेलियामा राष्ट्रव्यापी रूपमा प्रदर्शन गर्दै सुधारको माग गरिएको थियो ।

अस्ट्रेलियाको संसदमा भइरहेको महिला यौनजन्य हिंसाको प्रतिवेदन सार्वजनिक भएपछि हिगिन्सले आफूमाथि भइरहेको यौनजन्य हिंसाका घटनाहरू बताउने सबै महिला सहकर्मीहरूलाई धन्यवाद दिएकी छिन् ।

ग्रीन पार्टीका सभासद सराह हाङसोङ योङले यो प्रतिवेदनले अस्ट्रेलियाको संसद् र राजनेतामा मौलाउँदै गएको यौनजन्य हिंसाको संस्कारबारे सार्वजनिक गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?