बिनाअपराध २४ वर्ष जेल सजाय

लोकपथ
13
Shares

न्यायको क्षेत्रमा एउटा भनाइ चर्चित छ– ‘दोषी नछुटुन्, निर्दोष नपरुन्’ । तर न्याय सम्पादनको क्रममा कहिलेकाहीँ यो भनाइ ठीक उल्टो भइदिन्छ ।

अमेरिकाको उत्तरी क्यारोलाइनामा बस्ने डोन्टे शार्पलाई यस्तै किसिमको एक घटना आइलाग्यो । सन् १९९४ मा भएको एक हत्याकाण्डमा शार्पलाई मुख्य अपराधी मानेर अदालतमा मुद्दा चलाइयो । सन् १९९५ मा साक्षीको बयानअनुसार १९ वर्षीय उमेरका शार्पलाई दोषी मानेर आजीवन काराबासको सजाय सुनाइयो ।

यो हत्याकाण्डमा शार्पले पहिलादेखि नै आफू संलग्न नरहेको बयान पटक–पटक दिँदा पनि उनको कुरा अदालतले पत्याएन । उक्त हत्याकाण्डको प्रत्यक्षदर्शी एक युवती चार्लीन जोन्सन (१५ वर्ष) ले शार्प र उसको एक साथीले मिलेर ३३ वर्षीय जर्ज रेडक्लिफ भन्ने व्यक्तिको हत्या गरेको आफूले प्रत्यक्ष देखेको बयान सन् १९९४ मा दिएकी थिइन् ।

त्यो बेला शार्प लागू औषधको कारोबारी रहेको आशङ्का गरिएको थियो । उनलाई प्रहरी ठूलो परिमाणमा लागुऔषधसहित पक्राउ गर्ने दाउमा थियो । ती महिलाले पनि शार्प र रेडक्लिफ भन्ने व्यक्तिबीच लागुऔषधको मोलतोलमा विवाद हुँदा शार्पले हत्या गरेको बयान दिएकी थिइन् ।

प्रहरी पनि शार्पलाई त्यो बेला कुनै न कुनै अपराधमा प्रमाणित गरेर पक्राउ गर्ने दाउमा थियो । नभन्दै लागुऔषधको कारोबारको क्रममा भएको हत्याकाण्डमा पक्राउ गर्न पाउनुलाई प्रहरीले त्यो बेला आफ्नो सफलता नै मान्यो ।

शार्पले उक्त हत्याकाण्डमा आफ्नो संलग्नता नरहेको जति नै पटक बताए पनि उनको कुरालाई अदालतले पत्याएनन् । शार्प जेल परेको २४ वर्ष पछि बयान दिने महिला मानसिक असन्तुलन गुमाएको प्रमाणित भएपछि नर्थ क्यारोलिनाका गभर्नर रोय कुपरको पहलमा उनको पुनः सुनुवाइ भयो र उनी निर्दोष साबित भए ।

जेलबाट निस्केपछि शार्प अहिले आफूजस्तै निर्दोष व्यक्ति जेल नपरुन् भन्ने क्षेत्रमा काम गर्ने सोचाइमा छन् । योबाहेक उनलाई लागेको ठूलो चिन्ता भनेको केही गर्ने भन्ने उमेर जेलभित्रै बिताउनु परेपछि त्यसको क्षतिपूर्ति सरकारले दिनुपर्छ भन्ने छ । जसका लागि उनले सरकारसँग ८ करोड ९२ लाख ५० हजार रूपैयाँबराबरको क्षतिपूर्ति माग गरेर मुद्दा दायर गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?