काठमाडौं । उज्यालोको पर्व तिहार नजिकिएसँगै नेपालीहरुको घर आँगनमा पनि उज्यालो छाउन थालेको छ । तिहारका बेला बनाइने उज्यालोका लागि पहिले पहिले स्थानीयस्तरमा नै बनाइएका वस्तुहरुको प्रयोग गर्ने गरिन्थ्यो । तर अहिले भने आधुनिक साधनहरुले त्यसलाई केही हदसम्म विस्थापन गरेको छ ।
हिन्दु धर्मावलम्बीहरुले पूजाआजाको समय तथा शुभ साइतका बेला माटोको दियोमा बत्ती बाल्ने गर्छन् ।
उज्यालोको पर्व तिहारमा घर झिलिमिली पार्न बिजुलीका अनेक प्रकारका बत्तीहरुको प्रभाव बढेपछि माटाका पालाको महत्व केही घटेको अनुभव गर्न थालिएको छ । सिधै भन्दा झिलिमिली बत्तीले पालालाई ओझेलमा पारेको छ । सहरी भेगहरुमा त विस्थापन नै गरिदिएको छ ।
वषौँदेखि माटाका भाँडा बनाउँदै आएका भक्तपुरका प्रजापति समुदाय यतिबेला तिहारमा लक्ष्मीपूजाको दिन बाल्ने पाला बनाउन व्यस्त भएका छन् । कोरोनाको कहरका कारण पहिलेजस्तो दियो बिक्दैन कि भन्ने डर लिएर उनीहरु केही सातादेखि नै माटाको पाला बनाउन लागिपरेका थिए ।
लक्ष्मीपूजा नजिकिँदै गर्दा भक्तपुर दरबारक्षेत्रवरिपरि माटोको दियो बनाउनेहरु देख्न सकिन्छ । हुन त त्यस क्षेत्रमा सधैँ माटोको दियो, भाँडा बनाउनेहरु भेटिन्छन् तर अन्य समयको तुलनामा दशैँ र तिहारमा दियो बढी खपत हुने भएकाले प्रजापति समुदायहरु दियो बनाउन व्यस्त छन्, अहिले ।
तिहारको विशेष रौनक भनेकै तिहारमा बालिने झिलीमिली बत्ती हो । मैनबत्ती र विद्युतीय बत्तीको खपत बढे पनि लक्ष्मीपूजाका दिन परम्परागत रूपमा बालिने दियोको महत्व विशेष छ । यद्यपि अहिले परम्परागत दियोको आकर्षण केही घटेको छ ।
दिन प्रतिदिन मानव बस्तीको चाप बढ्दै गएको र झन्झन् ठूल्ठूला घरहरुको निर्माण भइरहेकाले पनि तिहारमा झिलिमिलीको ‘डिमान्ड’पहिलाको भन्दा बढेको हो ।
यस वर्षमात्र भारतबाट १५ करोडको झिलिमिली भित्रिनुले पनि यही सङ्केत गर्छ कि आधुनिक बत्तीले पारम्परिक दियोलाई ‘छाया’मा पारेकै हो । देखासिकी गरेरै पनि घरभरि झिलिमिली लगाउने चलन बढेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया