करुवा उत्पादनमा युवा पुस्ता आकर्षित हुँदै

RSS
572
Shares

कृष्ण दर्नाल / पाल्पा । पाल्पालीको पहिचान बोकेका करुवा उत्पादनमा युवा पुस्ता आकर्षित हुँदै गएका छन् ।

सीप र पुँजीको अभावमा विस्तारै लोप हुने अवस्थामा पुगेका पाल्पाली करुवाको उत्पादनमा पछिल्लो समय युवा पुस्ता आकर्षित हुँदै गएका हुन् ।

पाल्पाली करुवा उद्योगको सीप नयाँ पुस्तामा हस्तान्तरण हुन थालेपछि यसको उत्पादनमा समेत वृद्धि हुन थालेको छ ।

करुवा बनाउने आवश्यक तालिम र यसको उद्योग सञ्चालनका लागि बीउ पुँजीलगायत सहयोग पाएपछि यहाँका युवा करुवा उत्पादनमा लागिपरेका छन् । तानसेन नगरपालिका, संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) र ग्रामीण आर्थिक विकास सङ्घ (रेडा) द्वारा सञ्चालित तालिम पाएपछि चार जना युवा मिलेर करुवा उद्योग स्थापना गरेका छन् ।

तानसेनका नगरप्रमुख अशोककुमार शाहीले पाल्पाको पहिचान बोकेको करुवा लोप हुनबाट जोगाउन सीप, बीउ पुँजी लगायतको सहयोग गरिएको बताए । तानसेन नगरपालिकाले बेरोजगार युवालाई छनोट गरी तालिम, बीउ पुँजीलगायतका कार्यक्रमपछि युवा पुस्ता अहिले करुवाको उत्पादनमा सक्रिय भएका छन् । आवश्यक पुँजीको अभावमा करुवा व्यवसाय सञ्चालन गर्न नसकिरहेको अवस्थामा नगरपालिकाले यो व्यवसाय गर्न चाहने युवालाई बैंकबाट सहुलियत दरमा ऋण प्रदान गरी साना उद्योग स्थापनामा सहजीकरण गरिएको नगरप्रमुख शाहीको भनाइ छ ।

बगनासकाली गाउँपालिका– ६ यम्घाका खिमबहादुर विश्वकर्मासहित चारजना साथी मिलेर तानसेन नगरपालिका– १ गैरागाउँमा करुवा उत्पादन गर्ने उद्योग स्थापना गरेका छन्। अहिले ती युवाद्वारा स्थापित उद्योगबाट काँचका करुवा, थाल, गिलासलगायतका वस्तु प्रशस्त उत्पादन हुँदै आएको उनले बताए। १२ वर्ष विदेश बसेर फर्किएका विश्वकर्मा स्वदेशमा केही काम गर्न पाउँदा उत्साहित भए। सीप, बीउ पुँजीलगायत सहयोग पाएपछि आफूहरु उद्योग स्थापना गरी काम गर्न थालेको उनले बताए।

कोरोना संक्रमणको उच्च जोखिमले उत्पादन र उत्पादित साम्रगी बिक्रीमा केही समस्या आए पनि अव यसको बजार विस्तार हुने आशामा आफूहरु रहेको व्यवसायीले जनाएको छ । तानसेनका पुराना करुवा व्यवसायी केशवमान बज्रचार्यले पाल्पाको पहिचान बोकेको करुवा चिनो रूपमा लैजाने चलन रहेको बताए। सीप, प्रोत्साहन तथा कच्चापदार्थको अभावमा पाल्पाली करुवा उद्योग सङ्कटमा परेको थियो ।

तानसेनको टक्सार टोलमा पहिला २५ भन्दा बढी करुवा उद्योग सञ्चालनमा रहेपनि पछिल्ला वर्षमा तीन ओटामा सीमित भएको थियो । उद्योग कम हुँदा माग अनुसार करुवाको आपूर्ति हुन सकेको थिएन । करुवा बनाउने सीप सिक्न र उद्योग सञ्चालन गर्न इच्छुक व्यक्तिलाई छनोट गरी तीन महिनाको करुवा बनाउने तालिम दिएको थियो । तालिमपछि कोही व्यक्तिगत र कोही सामूहिक रुपमा करुवा उत्पादन गरिरहेका छन् । पाल्पाली हस्तकलाबाट निर्मित करुवाको अभाव अहिले हटेको ग्रामीण आर्थिक विकास सङ्घ ९रेडा०का कार्यकारी निर्देशक लीलाबहादुर कार्कीले बताए।

पाल्पाको तानसेनमा नेवार, विश्वकर्मा जातिमा मात्र करुवा उत्पादन गर्ने सीप छ । करुवा उत्पादन गर्ने सीपलाई अन्य जाति तथा समुदायमा हस्तान्तरण हुन सकेको छैन । सामाजिक र साँस्कृतिक समस्या कारण अन्य जातिमा यो सीप पुस्तान्तरण हुनसकेको छैन । पाल्पाली करुवाको आठ दशकदेखिकै इतिहास छ । कार्यकारी निर्देशक कार्कीका अनुसार सीप हस्तान्तरण हुन नसक्दा देश विदेशमा प्रख्याति कमाएको पाल्पाली करुवा अहिले सङ्कटमा छ । कच्चा पदार्थ र कामदार नपाउनु उद्योगको अर्को समस्या भएको उनको भनाइ छ । “अन्यत्र मेसिनले बनाउने गर्छन्”, उनले भने, “यहाँका उद्योगमा हातैले बनाइन्छ र कुँदिन्छ ।”

उद्योगी उत्तमकुमार बज्राचार्यका अनुसार करुवा उत्पादनका लागि आवश्यक पर्ने कच्चा धातुको अभाव छ । काम गर्ने कामदार पाइँदैनन् । “सबै विदेश जान चाहन्छन्”, उनले भने, “यहाँ काम गर्न कोही खोज्दैनन् ।” पाल्पाली ब्रान्डेड करुवामा कोइला, काँच, तामा र मैनको आवश्यकता पर्छ । तर, कच्चा सामग्री नै जिल्लामा पाइँदैन । कोइला वनमा पोल्न समस्या छ । भारतबाट समेत कच्चा पदार्थ आउन नसक्दा करुवा उद्योग सङ्कटमा परेको गुनासो उद्योगीको छ ।

साढे दुई सय वर्षअघि भक्तपुरबाट बसाइँ सरेर तानसेनको टक्सारटोलमा आई धातुका मुद्रा बनाउन सुरु गरिएको इतिहास पाइन्छ । पछि गएर करुवा र अन्य सामान तयार हुँदै आएका छन् । यहाँ उत्पादित करुवा जापान, अमेरिका, बेलायत, थाइल्यान्डलगायतका देशमा पुग्छन् । बाह्य पर्यटक मात्रै होइन, आन्तरिक पर्यटकलाई पनि करुवा निर्माणले आकर्षण थपेको छ । जोकोही एकपटक पाल्पाली करुवा उत्पादन गर्ने उद्योगमा पुग्ने गर्छन् । यहाँका शाक्य, वज्राचार्यहरू करुवा उत्पादन गर्छन् । पछिल्लो समय ३ हजार ५ सयदेखि १० लाख ५० हजार मूल्य पर्ने करुवा पाल्पामा बनिरहेका छन् । युवा पुस्तालाई करुवा उद्योगमा टिकाइ राख्न सकेमा यो उद्योगको संरक्षणमा टेवा पुग्ने विश्वास स्थानीय व्यवसायीको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?