संखुवासभाको बीभत्स हत्या अपडेट : शवको मुचुल्का उठाउने काम सकियो, कुकुरले ट्रयाकिङ गर्दै

सोमबार एकाबिहानै संखुवासभामा एकै परिवारका ६ जनाको बीभत्स रुपमा भएको हत्या घटनाले सबै मानिसको ध्यान खिच्यो ।

यसरी आएको थियो खबर

जिल्ला प्रहरी कार्यालय संखुवासभाका ड्यूटी अफिसरको फोन बज्छ । मादी नगरपालिका उम्लिङ खोलागाउँ-१ मा एकै परिवारका ६ जनाको शव बीभत्स अवस्थामा यत्रतत्र फालिएको अवस्थामा भेटिएको छ । प्रहरी टोली आउनुपर्‍यो।
आत्तिँदै गरिएको खबर प्रहरीले रेकर्डमा राख्छ र आवश्यक सोधपुछ जारी राख्छ ।

फोनपछि जिल्ला प्रहरी कार्यालयले मादी नगरपालिकामा रहेको इलाका प्रहरी कार्यालय चैनपुरलाई सम्पर्क गरेर घटनाबारे जानकारी गरायो । इलाका प्रहरी कार्यालय चैनपुरबाट घटनाबारे जानकारी पाउनासाथ टोली तत्काल ‘मुभ’ हुन्छ ।

विकट भएकोले झनै ढिलाइ

मादी नगरपालिका उम्लिङ खोलागाउँ र इलाका प्रहरी कार्यालय चैनपुर निकै टाढा रहेको छ। विकट पनि । उम्लिङ खोलागाउँ पुग्न इलाका प्रहरी कार्यालयबाट साढे २ घण्टा गाडीमा र गाडीबाट ओर्लिएपछि थप ३ घण्टा पैदल हिड्नुपर्छ ।

इलाका प्रहरी कार्यालय चैनपुरको टोली घटनास्थल पुगेपछि उनीहरुले सुनसरीको धरानबाट तालिमप्राप्त कुकुरसहितको टोली र प्रहरीको थप अनुसन्धान टोलीलाई खबर गर्छन् ।

घटनास्थल सिल गर्ने, सोधपुछ गर्ने, जानकारी लिने काम अगाडि बढाउँछन्  तर धरानबाट प्रहरीको सबै टोली राति ढिला घटनास्थल पुगेपछि आज मंगलबार बिहानबाट थप काम सुरु भएको छ ।

अहिले घटनास्थलमा हत्या गरिएको अवस्थामा फेला परेका ६ वटा शवको मुचुल्का उठाउने काम सकिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रवक्ता डीएसपी लालध्वज सुवेदीले लोकपथलाई जानकारी दिए।

‘शवको मुचुल्का उठाउने काम सक्कायौँ। अब पोष्टमार्टम लागि काम सुरु गरेका छौं। तालिमप्राप्त कुकुरहरुले ट्रयाक गरिरहेका छन्’, डीएसपी सुवेदीले लोकपथसँग भने ।

५८ वर्षीय तेजबहादुर कार्की, ८४ वर्षीया आमा पार्वता, ५६ वर्षीया श्रीमती मनमाया, २८ वर्षीया बुहारी रञ्जना, १० वर्षीय नाति दीपक र पाँच वर्षीया नातिनी गोमाको धारिलो हतियार प्रयोग गरी हत्या भएको प्रहरीले जनाएको छ ।

घटनाको अनुसन्धान गर्ने एसपी भिम दाहालको नेतृत्वमा टोली घटनास्थलमा खटिएको छ ।

याे पनि पढ्नुहाेस् : संखुवासभामा एकै परिवारका ६ जना मृत फेला : हत्या आशंका, प्रहरी घटनास्थल पुग्दै

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?