धादिङको रिमाल्डी पुलमा लफडै लफडा : हिजो मात्र झण्डै चोरिएन निर्माण सामग्री

धादिङको निलकण्ठ नगरपालिका र नेत्रावती डब्जोङ गाउँपालिका जोड्ने पक्की पुल विगत ४ वर्षदेखि अलपत्र अवस्थामा रहेको छ ।

थोपल खोलामा निर्माण थालिएको रिमाल्डी पुल ठेकेदारको लापरबाहीको कारण विगत ४ वर्षदेखि अलपत्र परेको हो । ठेकेदारको लापरबाहीले गर्दा अहिले पुलको दुईवटा पिल्लरले ठेकेदारलाई कुरेर बसेको देखिन्छ ।

पुलको पिल्लरका रडका टुक्राहरू असरल्ल छोडिएका छन्, पुलमा लगाइएका काठका टेका र बोर्डहरूलाई खोलाले बगाउने अवस्थामा रहेको छ । पुल निर्माणलाई राखिएका गिटी बालुवा छरपस्ट छन् । बालुवा बगेर छेउछेउबाट खस्दै छ ।

अहिले देशमा हाल तीन तहको सरकार छ । सरकारको बजेटमा राष्ट्रिय गौरवको आयोजनादेखि ग्रामीण क्षेत्रको सडक र पुल विस्तारका कार्यक्रम उच्च प्राथमिकतामा परेका छन् । तर विकास निर्माणसँग जोडिएका यस्ता परियोजनाहरू तोकिएको समयभित्र कमै मात्रामा पूरा हुनेगरेको देखिन्छ ।

निर्माण व्यवसायी कम्पनी पीपी जेभिले चार वर्षअघि ठेक्का लिएर पनि निर्माण सम्पन्न नगर्दा यहाँका जनताले धेरै दुुःख भोग्नुपरेको छ । उक्त कम्पनीका अध्यक्ष प्रकाश गौतमले रिमाल्डी पक्की पुल निर्माणको ठेक्का पाएर काम सुरु गरे पनि ४ वर्षदेखि पुल बन्न नसकेर अलपत्र अवस्थामा रहेको छ ।

त्यहाँ भएको एउटा झोलुङगे पुल पनि पहिरो आएर अवरुद्ध भएको छ । जसका कारण अहिले आवतजावत गर्न खोला कहिले सानो हुुन्छ भनेर बाटो कुर्नुबाहेक अरु विकल्प नभएको यहाँका बासिन्दा बताउँछन् ।

पुल निर्माण साइटमा आफ्नो घरबाट बत्तीको लाइन दिएका तर भुक्तानी नपाएको दुखेसो अर्का स्थानीय युवा रामबाबु परियारको छ ।

पुलबाट पीडित स्थानीय सहकारीका अध्यक्ष तथा शिक्षक शिवप्रसाद सापकोटा भन्छन्, ‘त्यो झोलुंगे पुल १५ वर्षअघि आफूले निर्माण गरेको अहिले पक्की पुल निर्माण गर्ने क्रममा पहिरो आई त्यो भइरहेको झोलुंगे पुलसमेत जीर्ण अवस्थामा रहेको छ ।

सदरमुकाम धादिङबेँसीबाट करिब २० किलोमिटरको दूरीमा अवस्थित भए पनि यस्तै गैरजिम्मेवार निर्माण व्यवसायीका कारण जनताले कष्टकर जीवन जीउन बाध्य भइरहेको भन्दै निर्माण व्यवसायीप्रति स्थानीयले आक्रेश पोखेका छन् ।

एकातिर निर्माण व्यवसायी र सडक विभागका इन्जिनियरहरूले यही साइडमा पिल्लर हाल्न भनी खनेको खाल्डोमा परी एक युवकले दुई वर्षअघि ज्यान गुमाएका थिए । ठेकेदार पक्षले ती ज्यान गुमाएका युवाको परिवारलाई पाँच लाख रुपैयाँ आर्थिक सहायोग गर्छु भनी सम्झौता गरेकोमा अहिलेसम्म जम्मा ७५ हजार मात्र दिएको युवाको पिता र परिवारको भनाइ छ ।

चार–चार वर्षसम्म एउटा पक्की पुल निर्माण गर्न नसक्ने निर्माण व्यवसायीलाई सडक विभागले पटक–पटक किन म्याद थप गर्दै आइरहेको छ ? के गैरजिम्मेवारी र लापार्बाही गरेको आभास हुँदैन ? भन्दा सडक डिभिजन कार्यालयका इन्जिनियर कृष्णबहादुर खड्का सरकारी तवरबाट र मैले गर्नुपर्ने जिम्बेवारी पुरा गरेको र ठेकेदार कम्पनीको लापरबाहीका कारण यस्तो समस्या भएको बताउँछन् ।

त्यहाँ भएका सरसामान जस्तैः रड र प्लाइहरु हराउँदै गएको छ । यही निर्माणाधीन रिमाल्डी पुलमा भदौ १७ गते चोरी भएको छ । मध्यरातमा बा ४ ख १७२२ नम्बरको आइचर गाडीमा ८र१० जनाको समूहमा आएका युवाहरुले चोरी गरेका हुन् । स्थानीय जनताले मध्यरातमा गाडी र चालकलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिई आएको प्रहरी टोलीलाई जिम्मा लगाएको स्थानीयले बताएका छन् ।


यस्ता आयोजनाका कामहरुमा सरकारी र ठेकेदारहरुको तवरबाट भएको चरम लापरबाहीका कारण जनताहरुले भोग्नु परेको पीडाप्रति सम्बन्धित निकायको ध्यान किन गएको छैन भन्ने सबै पीडितको गुनासो रहेको छ ।

लोकपथमा प्रकाशित सम्बन्धित सामग्रीहरु

धादिङको रिमाल्डि पुलमा चोरी

४ वर्षमा २ पिल्लर : धादिङको रिमाल्डी पुल, लापरवाह र गैरजिम्मेवार विकासे प्रथा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?