लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कुलबहादुर केसी नियुक्त, को हुन् उनी ?

लोकपथ
2.4k
Shares

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्रीमा कुलबहादुर केसी ‘सोनाम’ नियुक्त भएका छन् । प्रदेशप्रमुख अमिक शेरचनले संविधानको धारा १६८(२) बमोजिम केसीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशका संसदीय दलका नेता समेत रहेका नवनियुक्त मुख्यमन्त्री केसीलाई ४१ सांसदहरुको समर्थन रहेको छ । माओवादी केन्द्रसहित नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाको समर्थन रहेको छ । लुम्बिनी प्रदेशसभामा कुल ८० सदस्य रहेका छन् । जसमा ४१ जनामा बहुमत पुग्छ ।

केसीलाई नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका १८, जसपाका ३ र जनमोर्चाका १ जनाको समर्थन रहेको छ ।

निर्वतमान मुख्यमन्त्री शंकर पोखरेलले बुधबार राजीनामा दिएसँगै प्रदेशप्रमुख शेरचनले दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेका थिए । आज दिउँसो ३ बजेसम्मका लागि समयसीमा दिइएकोमा चारदलीय गठबन्धनले समयअगावै दाबी पेस गरेका हुन् । नवनियुक्त मुख्यमन्त्री केसीले आजै मन्त्रीमण्डल विस्तार गर्ने बुझिएको छ ।

संयुक्त सरकार भएकाले कांग्रेस र माओवादी केन्द्रबीच बाँकी रहेको १६ महिनामा आलोपालो सरकार चलाउने सहमति भएको छ । जसअनुसार आगामी ६ महिना केसीले चलाउनेछन् भने बाँकी ६ महिना लुम्बिनी प्रदेश कांग्रेस संसदीय दलका नेता विरेन्द्र कनौडियाले सरकारको नेतृत्व गर्ने सहमति भएको छ ।

को हुन् नवनियुक्त मुख्यमन्त्री केसी ?

यसअघि नै वाम गठबन्धन रहेका बेला नै मुख्यमन्त्री बन्ने चर्चामा रहेका केसी पूर्वमाओवादी लडाकु हुन् ।

द्वन्द्वकालमा चुनवाङ बैठकबाट बनेको ३३ सदस्यीय केन्द्रीय समितिको एक सदस्य रहेका सोनाम हक्की स्वभावका मानिन्छन् ।

जनयुद्धकालमा काठमाडौं उपत्यकाको इन्चार्जको समेत भूमिका निर्वाह गरेका सोनाम ग्रामीण वर्गसंघर्ष बेलादेखि नै सक्रिय रहेका थिए । जनयुद्धमा आफ्ना पाँचै भाइ होलटाइमर भई होमिएका केसीको श्रीमती २०६४ सालको संविधानमा समानुपातिक सांसद रहेकी थिइन् ।

तत्कालीन एकीकृत माओवादी विभाजन भएपछि मोहन वैद्यतिर लागेका उनी बादलसहित पुनः प्रचण्ड नेतृत्वको माओवादीमा फर्किएका थिए ।

२०७४ को प्रदेशसभाको निर्वाचनपछि तत्कालीन प्रदेश नं ५ को मुख्यमन्त्री बन्ने रेसमा केसी रहेका थिए । तर तत्कालीन नेकपाको भागबन्डा मिलाउने क्रममा उनी रेसबाट बाहिरिएका थिए । त्यसबेला प्रदेश ५ लाई माओवादी आधार इलाका भन्दै एमालेलाई सरकारको नेतृत्व गर्न नदिने भन्दै मुख्यमन्त्रीको दाबी गरेका थिए । पछि पार्टीको भागबण्डा मिलाउँदा उनी त्यसबाट पछि हटेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?