गर्मीमा कुन ड्राई फ्रुट्स कति र कसरी खाने ?

लोकपथ
1.4k
Shares

काठमाडौं । जाडोमा धेरै जसो मानिसले काजू–बदाम तथा अन्य धेरै प्रकारका ड्राई फ्रुट्स खाने गर्छन् । तर गर्मी मौसम लाग्ने बित्तिकै भने यसको सेवन गर्न छोड्ने गर्छन् । किनभने धेरैले गर्मीमा ड्राई फ्रुट्सको सेवनले शरीरमा गर्मी बढाउने गर्छ भन्ने मानसिकता राखेका हुन्छन् । तर विज्ञ र डाइटिशियनले भने मौसम अनुसारको ड्राई फ्रुट्सलाई आफ्नो आहारमा समावेश गर्ने सल्लाह दिएका हुन्छन ।

हामीले गर्मी मौसममा यस्तो ड्राई फ्रुट्सको सेवन गनुपर्छ, जसले शरीरलाई चिसो राख्न र पर्याप्त पोषण प्रदान गर्न मद्दत गर्छ । आज हामी तपाईंहरुलाई गर्मी मौसमा कुन ड्राई फ्रुट्स कति र कसरी खाने भन्ने बारेमा जानकारी दिनेछौँ ।

गर्मीमा कुन ड्राई फ्रुट्सको सेवन गर्ने
गर्मी मौसममा शरीरमा हुने भिटामिन र मिनरलको कमीलाई पुरा गर्न ड्राई फ्रुट्सको सेवन गर्नु निकै आवश्यक हुन्छ । ड्राई फ्रुट्सको सेवनबाट शरीरमा क्यालसियम, म्यागनेसियम, पोटासियम, जिंक, आइरन, भिटामीन ई, भिटामिन बि १२, ओमेगा ३, फ्याटी एसिड र शरीरलाई स्वस्थ राख्नको लागि आवश्यक पर्ने सबै पोषक तत्व सजिलैसँग प्राप्त गर्न सकिन्छ ।

अंजीर
गर्मीमा अंजीरको सेवन गर्न सकिन्छ । यो चिसो प्रकृतिको हुने भएकाले हाम्रो शरीरलाई चिसो बनाउन मद्दत गर्छ । यसलाई हामीले भिजाएर खाँदा अझ धेरै फाइदा प्राप्त गर्न सकिन्छ । गर्मीमा ३–४ टुक्रा अंजीरलाई हामीले हाम्रो खानामा समावेश गर्नु अत्यन्तै आवश्यक हुन्छ । यसले शरीरलाई भरपूर मात्रामा पोषक तत्व प्रदान गर्नुको साथै शरीरलाई बलियो बनाउन पनि मद्दत गर्छ ।

किसमिस
गर्मीमा किसमिसलाई आफ्नो आहारमा समावेश गर्नुहोस् र सकेसम्म भिजाएर खाने कोसिस गर्नुहोस् । गर्मीमा हामीले किसमिसको सेवन गर्दा ८–१० वटा किसमिसलाई एक गिलास पानीमा रातभरि भिजाएर राख्ने र बिहान चपाएर खाने र पानी पिउने गर्नुपर्छ । यदि तपाईं चाहानु हुन्छ भने किसमिसलाई दुधमा हालेर पनि खान सक्नुहुन्छ ।

छोकडा
गर्मीका दिनहरुमा हामीले छोकडालाई हाम्रो खानामा समावेश गर्न सक्छौँ । छोकडालाई जहिले पनि पानीमा भिजाएर खाने गरिन्छ । किनभने छोकडा निकै कडा हुने गर्छ । २–३ वटा छोगडालाई रातभरि पानीमा भिजाएर बिहान टुक्रा बनाएर दुधमा उमालेर खाने गर्नुपर्छ । हामीले यसको सट्टामा १–२ वटा खजूर पनि खान सक्छौँ ।

बदाम
गर्मीमा हामीले बदाम पनि खान सक्छौँ । गर्मी मौसममा बदाम खाँदा भने भिजाएको मात्र खाने गर्नुपर्छ । भिजाएको बदामले पेटलाई शितलता प्रदान गर्ने गर्छ । गर्मीमा रातभरि बदामलाई भिजाएर बिहान सेवन गर्दा यसले हाम्रो मानसिक स्वास्थ्यलाई बढावा दिने गर्छ । साथै स्मरण शक्ति बढाउने र दिमाग तेजिलो बनाउन मद्दत गर्छ ।


खुबानी
यो ड्राई फ्रुट्स वजन घटाउने व्यक्तिहरुको लागि निकै फाइदाजनक मानिन्छ । किन भने यो ड्राई फ्रुट्समा क्यालोरिको मात्रा निकै कम रहेको हुन्छ र गुलियो पनि धेरै हुँदैन तर यसको सेवन भने दुई टुक्रा भन्दा धेरै गर्नु हुँदैन । यसको सेवन गर्दा पनि हामीले पानीमा भिजाएर मात्र गर्नुपर्छ ।

सुख्खा आलुबखडा (ड्राई प्लम)
शक्तिशाली एन्टीअक्सिडेन्टले भरपूर यो ड्राई प्लम स्वास्थ्यको लागि निकै लाभदायिक हुन्छ । यसलाई हामीले बिहानको खाजामा खाँदा शरीरमा दिनभरि नै एनर्जी प्राप्त गर्न सक्छौँ । यसले हाम्रो शरीरको प्राचन प्रणालीलाई सुधार्न पनि मद्दत गर्छ । गर्मीमा हामीले २–३ वटा आलुबखडाको सेवन गर्न सक्छौँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?