शिव : जो बिन्दास छन्, प्रिय पनि

लोकपथ
286
Shares

बालबालिका, युवा, गृहस्थ, सन्यासी जो–कोहीका लागि शिव प्रिय छन् । आखिर के कुराले शिवलाई यति विशेष बनाएको छ त ?

जोसुकैसँग घुलमिल हुन सक्छन् :

देवताहरूले मात्रै शिवको पूजा गर्ने होइन । राक्षस, पिशाच र सबैथरीका प्राणीले शिवको उपासना गर्छन् । अरु सबैले उपेक्षा र अस्वीकार गरेका ती सबै भूत, प्रेत, पिशाच, राक्षस, दैत्यलाई शिवले स्वीकार गर्दछन् ।

परम्पराअनुसार यस्तो व्याख्या गरिएको छ कि जब उनको बिहे भयो, जो केही थिएनन्, जो केही थिए अनि जो सबैथोक थिए– ती सबै त्यस विवाहमा उपस्थित थिए । सबै भगवान् र दिव्य जीवहरू, सबै असुर, दानव, विक्षिप्त प्राणीहरू, राक्षस र भूतहरू सबै उपस्थित थिए । सामान्यतया, यिनीहरू सँगसँगै रहन सक्दैनन् । तर, शिवको विवाहमा सबै त्यहाँ थिए । शिव ‘पशुपति’ हुन् अर्थात् पशु प्रकृति वा पशु प्रवृत्तिको अधिपति हुन्, त्यसैले सबै प्राणीहरू त्यहाँ आए । अनि पक्कै पनि सर्पहरूले त छुटाउने कुरा नै भएन, त्यसैले तिनीहरू पनि आए । चराचुरूङ्गी र कीरा–फट्याङ्ग्र्राहरूले समेत यसलाई छुटाउन चाहेनन्, त्यसैले उनीहरू पनि पाहुना थिए । त्यस विवाहमा प्रत्येक जीवित प्राणीको उपस्थिति थियो ।

कथाले के भन्न खोजिरहेको छ भने, जब हामी शिवको बारेमा कुरा गर्छौँ, हामी एउटा भद्र र सभ्य मानिसको बारेमा कुरा गरिरहेका छैनौँ, बरु यस्तो आदिम रूपको कुरा गरिरहेका छौँ, जो जीवनसँग पूर्णतया एकाकार (एक हुँदाको अवस्थामा) छन् । उनी विशुद्ध चेतना हुन्, कुनै ढोँग वा कपट नभएको, कहिल्यै नदोहोरिने, सदैव मौलिक, निरन्तर सिर्जनशील । उनी विशुद्ध जीवन हुन् ।

पुरुष तर आफूभित्र स्त्रैणलाई समाहित गरेका सामान्यतया शिवलाई परम पुरुषको प्रतीक मानिन्छ । तर शिवको अर्धनारीश्वर रूपमा यो देख्न सकिन्छ । उनको आधा भाग पूर्ण विकसित नारी हो । शिवले पार्वतीलाई आफूभित्र ताने अनि उनी शिवको आधा भाग भइन् ।

यसमा बुझ्नुपर्ने कुरा यो छ कि यदि शिवले पार्वतीलाई आफ्नै शरीरभित्र स्थान दिनुपर्ने हो भने उनले आफ्नो आधा भागलाई हटाउनुपर्ने हुन्छ । अतः शिवले आफ्नो आधा भागलाई हटाए अनि पार्वतीलाई आफूमा समावेश गरे । यसले मूलतः यो दर्शाउने कोसिस गरिरहेको छ कि तपाईंभित्र पौरुष ९पुरुष प्रकृति० र स्त्रैण ९स्त्री प्रकृति० बराबर बाँडिएको हुन्छ । जब शिवले पार्वतीलाई आफूभित्र समाहित वा समावेश गरे, तब उनी परम–आनन्दको अवस्थामा पुगे । यसले यो संकेत गरिरहेको छ कि हामीभित्रको पौरुष र स्त्रैणको मिलन भयो भने तपाईं परम–आनन्दको चिरस्थायी अवस्थामा रहनुहुन्छ । यदि तपाईंले बाहिरी संसारमा त्यसो गर्न खोज्नुभयो भने यो कहिल्यै टिक्दैन । साथै, त्योसँगै आउने अनेक समस्याहरू कहिल्यै नटुङ्गिने नाटक बन्दछन् ।

नटराज : जो उन्मत्त भएर ताण्डव नृत्य गर्छन

नृत्यको देवता नाटेश वा नटराज, शिवका सबैभन्दा महत्वपूर्ण रूपहरूमध्ये एक हो । नटराज रूपले सृष्टिको नृत्य अर्थात् कम्पन र उल्लास दर्शाउँछ, जसले शाश्वत निश्चलता र निःशब्दताबाट आफैँलाई सिर्जना गरेको हो ।

जतिबेला पनि परम–आनन्दमा मग्न

शिवलाई सदैव पियक्कड र तपस्वीको रूपमा एकैसाथ दर्शाइन्छ । उनी एक योगी हुन् । यदि उनी ध्यानमा बसे भने उनी अचल (नचलिकन) बस्छन् । साथसाथै उनी सधैँ नशामा डुबेका हुन्छन्, मादकताले उन्मत्त हुन्छन् । यसको अर्थ यो होइन कि उनी कतै लोकल भट्टीमा जान्थे । योगको विज्ञानले यस्तो सम्भावना प्रदान गर्दछ, जहाँ भित्री रूपमा धीर र शान्त रहन सकिन्छ । अनि मात्र अत्यन्तै सुख भावमा हुन सकिन्छ । योगीहरू सुखको विरूद्धमा हुँदैनन् । कुरा यति मात्र हो कि उनीहरू सानातिना सुखहरूमा सन्तुष्ट रहन चाहँदैनन् । यदि तपाईं पूर्णरूपमा नशामा रहँदा पनि शतप्रतिशत स्थिर र सतर्क रहने हो भने मात्र तपाईं मादकता वा नशाको आनन्द लिन सक्नुहुन्छ । र प्रकृतिले तपाईंको निम्ति यो सम्भावना प्रदान गरेकी छिन् ।

एक इजरायली वैज्ञानिकले कैयौँ वर्ष लगाएर मानिसको मस्तिष्कलाई अध्ययन गरे । अनि उनले यो पत्ता लगाए कि मानव मस्तिष्कमा लाखौँ संख्यामा नशा ग्रहण गर्ने कोषहरू हुन्छन् । त्यसपछि न्यूरोलोजिस्ट (स्नायुतन्त्रको विज्ञ)हरूले पत्ता लगाए कि यी कोषहरूलाई तृप्त गर्नको लागि शरीरले एउटा रसायन उत्पन्न गर्न सक्छ । जब त्यो रसायन पत्ता लगाए, उनीहरूले यसलाई सटीक नाम दिन चाहे । जब ती वैज्ञानिकले यो विशेष रसायनलाई नाम दिन चाहे त्यसका लागि उनले विविध शास्त्रहरू हेरे । यो थाहा पाउँदा उनी चकित परे कि पूर्वीय शास्त्रहरूमा मात्र ‘आनन्द’को बारेमा चर्चा गरिएको छ । त्यसैले, उनले त्यस रसायनलाई ‘आनन्दमाइड’ नाम दिए ।

आनन्दमाइड उत्पन्न गर्न जरूरी छ । किनकि शरीरभित्रै गाँजाको विशाल बगैँचा रहेको छ । यदि तपाईंले सही तरिकाले गोडमेल गर्नुभयो र उचित वातावरण सिर्जना गर्नुभयो भने तपाईं जतिबेला पनि नशामा मग्न रहन सक्नुहुन्छ ।
परम विध्वंसक अनि सबै नियमभन्दा पर जब तपाईं ‘शिव’ भन्नुहुन्छ, यो कुनै धर्मको बारेमा होइन । अहिले यो संसार धर्मको आधारमा विभक्त भएको छ । तपाईं कुन धर्म मान्नुहुन्छ भनेर विभाजित छ । यसैकारण, यदि तपाईंले केही उच्चारण मात्रै गर्नुभयो भने पनि यस्तो ठानिन्छ कि तपाईं कुनै धर्मअन्तर्गत पर्नुहुन्छ । यो कुनै धर्म होइन । यो आन्तरिक विकासको समग्र विज्ञान हो । यो भौतिकताबाट पर जाने अनि मुक्ति पाउने बारेमा हो । यसले केही फरक पार्दैन कि तपाईंको वंशाणु के हो, तपाईंका पिता को थिए, अथवा तपाईं के–के कमजोरीहरू लिएर जन्मिनुभएको थियो वा पछि गएर जम्मा गर्नुभयो । यदि तपाईं प्रयास गर्न इच्छुक हुनुहुन्छ भने तपाईं यी सबैबाट माथि उठ्न सक्नुहुन्छ ।

प्रकृतिले मानिसका लागि केही नियमहरू तय गरेकी छिन् । भौतिक प्रकृतिका नियमहरू तोड्नु नै आध्यात्मिक प्रक्रिया हो । यस अर्थमा हामी सबै नियम तोड्ने खाले हौँ, अनि शिव नियम तोड्नमा सर्वश्रेष्ठ छन् । उनी परम विध्वंसक हुन ।

(यो सामग्री तथा तस्बिर isha.sadhguru.org बाट साभार गरिएको हो ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?