पार्टी एकतामा माधवकुमार नेपालको अरुचि किन ?

appharu
1.1k
Shares

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दोस्रो अध्यक्ष दिन आफूू तयार रहे पनि वरिष्ठ नेता माधवकुमार नेपाल पार्टी एकताका लागि तयार नभएको अभिव्यक्ति दिएका छन् । बुधबार ललितपुरको तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा बसेको एमालेको १० औँ केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले त्यस्तो बताएका हुन् ।

नेकपा एमालेभित्र लामो समयदेखि विवाद रहेको छ । विशेषगरी पार्टी अध्यक्ष केपी शर्मा ओलीले मनमौजी रुपमा पार्टी सञ्चालन गरेको भन्दै वरिष्ठ नेता माधवकुमार नेपालले नेतृत्व गरिरहेको समूह असन्तुष्ट छ । उक्त समूहले गत फागुन २४ गते सर्वाेच्च अदालतले गरेको फैसलाअनुुसार विसं २०७५ जेठ २ गतेअघिका पार्टी र जनसंगठनका सबै तहका संरचना ब्युँताउने र क्रियाशील बनाउने र त्यसपछि फागुन २३ गतेपछि दुवैतर्फबाट गरिएका राजनीतिक र साङ्गठनिक निर्णयहरूलाई बदर गर्दै सच्याउन माग गर्दै आएको थियो ।

सत्ताको बागडोर सम्हालेको समयमा उक्त संरचनामा जान अध्यक्ष ओलीले ठाडै अस्वीकार गर्दै आएका थिए । तर सर्वोच्चको प्रतिनिधिसभा पुनस्र्थापना गर्ने दोस्रो फैसलासँग सत्ताबाट बाहिरिएका ओली पछिल्लो समय पार्टी एकताका लागि लचक बनेका छन् ।

पार्टीलाई जेठ २ को संरचनामा फर्काउनकै लागि बालुवाटारमा बसेका केन्द्रीय कमिटीका तीन बैठकलाई खारेज गर्दै १०औँ बैठकमा फर्किसकेका छन् । बीचमा भएका निर्णयहरु समेत खारेज भइसकेका छन् । फलस्वरुपः गत जेठ १२ गते नेपाल पक्षका नेताहरुलाई गरिएको कारबाही समेत बदर भइसकेको छ । तर आफूहरुको माग सम्बोधन भइसकेको अवस्थामा समेत नेपाल समूह केन्द्रीय कमिटीको बैठकमा अनुपस्थित हुँदै आएको छ । अझ पछिल्लो समय नेकपा एमालेमा आफूहरुको समूह फर्किनका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने अडान कस्न लागेको समाचार विवरणहरु सार्वजनिक भएका छन् ।

माधवकुमार नेपाल समूहको उक्त व्यवहारलाई लिएर आम जनताले प्रश्न उठाउन थालेका छन् । किन माधवकुमार नेपाल आफ्ना माग सम्बोधन हुँदा समेत पार्टीमा नफर्किएका होलान् भन्ने उनीहरुको प्रश्न छ । साथै विधि र पद्धतिको रटान लगाउने वरिष्ठ नेता नेपालले पार्टीभित्र बृहत् छलफल चलाएर किन आफ्नो पक्षमा माहोल सिर्जना गर्ने प्रयास गर्दैनन् भन्ने उनीहरुको जिज्ञासा समेत रहेको छ ।

संस्थापन पक्षले वरिष्ठ नेता नेपालमा पदलोलुपता र व्यक्तिगत आकांक्षा धेरै रहेकाले पार्टी एकताका लागि रुचि नदेखाएको आरोप लगाउँदै आएको छ । अन्यथा पार्टी जेठ २ को संरचनामा फर्किसकेको अवस्थामा पार्टीमा फर्किन किन समस्या पर्याे भन्ने उनीहरुको प्रश्न छ । ओली पक्षका नेता घनश्याम खतिवडा भन्छन्– ‘पार्टीको संरचना जेठ २ मा फर्किसकेको अवस्थामा पार्टीको आधिकारिक बैठकमा उपस्थित हुन के ले रोक्यो ? यो कुनै सैद्धान्तिक र दार्शनिक विवाद होइन । यो भागबण्डा नमिलेर तथा नेतृत्वको इगोका कारण देखिएको हो ।’

संस्थापन पक्षले पार्टी जेठ २ को संरचनामा फर्किसकेको बताइरहँदा नेपाल पक्षकी नेतृ रामकुमारी झाँक्री त्यसलाई स्वीकार गर्न नसकिने बताउँछिन् । पार्टीको केन्द्रीय कमिटीको बैठकलाई १०औँ बैठक भनिए पनि असन्तुष्ट पक्षसँग कुनै सहकार्य र छलफल नगरिएको उनको भनाइ छ । ‘पार्टीको संरचना जेठ २ मा फर्किएको जस्तो त लाग्दैन’–उनले भनिन्–‘केन्द्रीय कमिटीको बैठकलाई जेठ २ अगाडिको संरचनाअनुसार राखिएको भनिएको छ । तर बैठक आह्वान गर्नेबेला असन्तुष्ट पक्षसँग कुनै किसिमको सर–सल्लाह गरिएको छैन । कसरी जेठ २ मा पार्टी फर्किएको भन्न मिल्छ ।’

त्यस्तै अर्का नेता राजबहादुर बुढा क्षेत्री शीर्ष नेतृत्वले पार्टीको आन्तरिक एकताका लागि उदारता विवाद समाधान हुन समय नलाग्ने बताउँछन् । अहिले देखिएको जति पनि विवाद छ यो सबै शीर्ष नेताहरुबीच विश्वासको वातावरण बन्न नसक्दा भएको उनको भनाइ छ । उनले भने–‘पार्टी जेठ २ मा फर्कियो वा फर्किएन भन्दा पनि पार्टी अध्यक्ष र वरिष्ठ नेता बसेर गम्भीर छलफल गर्नुपर्छ । दुई जनाको बीचमा हार्दिकता कायम हुनसके पार्टीभित्रको विवाद हल भइहाल्छ ।’

नेकपा एमालेभित्रको विवाद अहिलेसम्म हल हुनसकेको छैन । दुवै पक्ष आ–आफ्नो अडानमा टसको मस नहुने हो भने पार्टीभित्रको विवाद अझै लम्बिने निश्चिछ छ ।

लेखकबाट थप

पुष्पलालदेखि माधवकुमार नेपालसम्म : कम्युनिष्ट पार्टीमा ‘गद्दार’ को प्रयोग किन ? 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?