पुष्पलालदेखि माधवकुमार नेपालसम्म : कम्युनिस्ट पार्टीमा ‘गद्दार’ को प्रयोग किन ? 

appharu
559
Shares

नेपाली शब्दकोषमा गद्दारको अर्थ विश्वासमा आघात पुर्याउने वा धाेका दिने काम भनेर उल्लेख गरिएकाे छ । नेपाली कम्युनिष्ट इतिहासलाई फर्केर हेर्ने हो भने संस्थापन नेताहरुलाई लाल गद्दारको पगरी भिराएको पाइन्छ । खासगरी आफूअनुकूल नउभिने वा आफ्नो स्वार्थअनुसार नचल्ने नेताहरुलाई गद्दारको पगरी भिराउने गरिएको हो । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठलाई गद्दारको संज्ञा दिइएको थियो । कम्युनिष्ट घोषणापत्रको नेपाली अनुवादक तथा नेपाली कम्युनिष्ट आन्दोलनका सिद्धान्तकार पुष्पलाललाई लाल गद्दारको रुपमा प्रचार गरिएको थियो । अहिले पनि नेकपा एमालेका संस्थापन नेता माधवकुमार नेपाललाई लाल गद्दारका रुपमा चित्रित गरिएको छ ।

अहिलेसम्मको कम्युनिष्ट इतिहासलाई केलाउने हो भने लाल गद्दारको पगरी भिर्ने नेताहरुमा पुष्पलाल, मनमोहन अधिकारी, मोहनविक्रम सिंह, पुष्पकमल दाहाल प्रचण्ड, रामबहादुर थापा ‘बादल’ र पछिल्लो समय नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललगायतका रहेका छन् । एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ताबाट बहिर्गमन हुनुपरेको झोकमा वरिष्ठ नेता नेपाललाई गद्दारको संज्ञा दिएका छन् । देश विकास अझ भनौ ‘सुखी नेपाली, सम्वृद्ध नेपाल’ बनाउनका लागि अगाडि बढिरहेको आफ्नो सरकार ढाल्न नेता नेपालले निर्णायक भूमिका खेलेकाले उनी लाल गद्दार भएको अध्यक्ष ओलीको भनाइ छ । प्रधानमन्त्रीबाट हटेपछि सरकारी निवास बालुवाटार छाडेर बालकोट पुगेका ओलीले समर्थकहरुलाई सम्बोधन गर्दै आफूलाई जालझेल गरेर हटाइएको बताए । २२ अप्रिल १९४९ मा नेपाल कम्युनिष्ट पार्टीको स्थापनाका लागि पुष्पलालले अग्रणी भूमिका खेलेका थिए । उनकै देनका कारण आज नेपालमा कम्युनिष्टकको यो रजगज कायम हुन सम्भव छ भन्दा पनि अन्याय नहोला ।

उनलाई नेकपा स्थापना भएको दुई वर्ष पनि बित्न नपाउँदै २००८ सालमा पहिलो सम्मेलनमार्फत महासचिवबाट हटाइयो । सर्वसम्मतिको नाममा मनमोहन अधिकारीलाई महासचिव बनाइयो । त्यसपछि पुष्पलाल गद्दार भएको पुस्तक समेत निकाल्न लगाइयो । नेपाली कम्युनिष्ट आन्दोलनको इतिहासलाई मसिनो गरी केलाउँदा बेला बखत यस्तो आरोप लगाउँदै आएको पाइन्छ । कम्युनिष्ट आन्दोलनमा महत्वपूर्ण भूमिका खेलेका पात्रहरुलाई किन यस्तो प्रकारको आरोप लगाइन्छ ? भन्ने प्रश्न यतिबेला पेचिलो बनेको छ । नेपाली कम्युनिष्ट पार्टीका पुराना नेता मोहनचन्द्र अधिकारी पुष्पलाललाई पनि इतिहासले गद्दार भएको पुष्टि गर्न नसकेकाले वर्गीय चिन्तन नभएकाहरुले यस्तो आरोप लगाउने गरेको बताउँछन् । केही व्यक्तिहरुले कम्युनिष्ट पार्टीको घोषणा पत्रलाई सतही रुपमा पढेर सही रुपमा बुझ्न नसक्दा यस्तो आरोप लगाउने गरेको उनको भनाइ छ । उनले भने–‘वर्गीय चिन्तन नभएका व्यक्तिहरुले यस्तो आरोप लगाउँदै आएको देख्छु । वर्ग विश्लेषण गरेर, वर्गीय आधारमा, कम्युनिष्ट पार्टी वर्गीय हुन्छ भन्ने आधारमा नगएर केही साथीहरु कम्युनिष्ट पार्टीको घोषणा पत्र सतही रुपमा मात्र पढेर यस्तो आरोप लगाएको देख्छु ।’

त्यस्तैगरी अर्का पुराना नेता प्रदीप नेपाल कम्युनिष्ट पार्टीको सिद्धान्तलाई नबुझ्नेहरुले यस्तो संज्ञा दिँदै आएको बताउँछन् । उनले भने–‘नेपाली संस्कृतिबाट नहुर्किएका, नेपाली संस्कृति समेत थाहा नपाएका व्यक्तिबाट कुरै नबुुझी यस्तो आरोप लगाएको पाइन्छ । जसले कम्युनिष्ट पार्टीको सिद्धान्तलाई भित्रैदेखि बुझ्न सक्दैन । उनीहरुबाट यस्तो प्रकारको लाञ्छना लगाउने काम हुन्छ, हुँदै आएको पनि देखिन्छ ।’

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी नेपाली राजनीतिमा गद्दार शब्दको प्रयोग पहिलेदेखि नै हुँदै आएको बताउँछन् । तर पछिल्लो समय यसको दूरुपयोग भएको उनको बुझाइ छ । अहिले माधव नेपाललाई गद्दारको उपमा दिन नहुनेमा उनको जोड छ । माधव नेपालका कारण मुलुकको संविधान र व्यवस्था जोगिएकाले उनलाई गद्दार भन्नु न्यायोचित नहुने अध्यक्ष केसीको भनाइ छ । अध्यक्ष केसीले भने–‘राजनीतिमा गद्दार शब्द प्रचलित छ । तर पछिल्लो समय यसको दुरुपयोग भएको देख्छु । माधव नेपाललाई गद्दार भन्नु गलत हो । उनकै कारण संविधान र संसद जोगिएको छ ।’

त्यस्तैगरी नेकपा एमाले सांसद पार्वतीकुमारी विशुन्खे वरिष्ठ नेता नेपाल गद्दार भएको वा नभएको भन्ने निर्णय कुनै व्यक्तिले भन्दा पनि आम जनताले गर्नुपर्ने बताउँछिन् । कुनै व्यक्तिलाई चित्त नबुझ्दैमा गद्दारको संज्ञा दिनु लज्जाको विषय भएको उनको भनाइ छ । उनले भनिन्–‘वरिष्ठ नेता माधवकुमार नेपाल गद्दार हुन वा होइनन् भन्ने निर्णय कुनै व्यक्तिले गर्ने होइन । यो त आम जनताले गर्ने हो । कुनै व्यक्तिलाई मन नपर्दैमा गद्दारको उपमा दिनु लज्जास्पद विषय हो । कुनै नेता गद्दार हो या होइन भन्ने मूल्याङकन इतिहासले गर्छ, व्यक्तिले होइन ।’

पुष्पलाललाई किन गद्दारको संज्ञा दिइयो ?
नेकपाका संस्थापक नेता पुष्पलाललाई केन्द्रित गरी मोहनविक्रम सिंहले ‘गद्दार पुष्पलाल’ भन्ने पुस्तक निकालेका थिए । कांग्रेसलाई दुश्मन मान्ने त्यतिबेलाका कम्युनिष्टहरुको दृष्टिकोण थियो । तर त्यसको ठीक विपरीत पुष्पलालको विश्लेषण कांग्रेस मित्र शक्ति हो भन्ने रहेको थियो । दुश्मनलाई मित्र भनेपछि त्यतिबेला उनलाई लाल गद्दार भएको विश्लेषण गर्दै सोही विश्लेषणका आधारमा ‘गद्दार पुष्पलाल’ किताब निकालेको मोहन विक्रम सिंहले एक अन्तर्वार्तामा बताएका छन् । पुष्पलालको निधन भएपछि पार्टीले पुुनर्मूूल्यांकन गर्दै उनलाई गद्दार भन्नु गलत भएको निचोड निकालेको उनको भनाइ थियो । पछि गद्दार पुष्पलाल भनेर निस्केको पुस्तकको शीर्षकलाई परिवर्तन गरेर दोस्रो संस्करणमा ‘क्रान्तिमा भ्रान्ति’ बनाइएको थियो ।

माधवकुमार नेपाललाई किन भनियो लाल गद्दार ?
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई ‘गद्दार’ भएको आरोप लगाए थिए । सोमबारदेखि शुरु भएको एमालेको केन्द्रीय कमिटीको १०औँ बैठकलाई सम्बोधन गर्दै ओलीले वरिष्ठ नेता नेपाललाई ‘कम्युनिष्ट आन्दोलनकै गद्दार भएको’ आरोप लगाए । साथै उनले नेता नेपाललाई अब एमालेमा कुनै ठाउँ नभएको घोषणा समेत गर्न भ्याए । उनले बैठकलाई सम्बोधन गर्दै भनेका थिए–‘माधव नेपाल कम्युनिष्ट आन्दोलनको गद्दार हुन्, एमालेमा उनलाई कुनै ठाउँ छैन । कोही साथीहरु गल्ती स्वीकार गरेर, सच्चिएर आउनुहुन्छ भने स्वागत छ, तर माधव नेपाललाई त्यो ठाउँ छैन ।’ तर ओलीको उक्त अभिव्यक्तिलाई लिएर माधव नेपाल पक्षका नेता तथा कार्यकर्ताहरुले आपत्ति जनाउँदै आएका छन् । संविधानको कार्यान्वय गर्दै व्यवस्था बचाउनका लागि अग्रपंक्तिमा उभिने नेता कसरी लाल गद्दार हुन्छ ? भन्ने उनीहरुको प्रश्न छ ।

तर ओली पक्षका नेता खगराज अधिकारी कम्युनिष्ट सरकारलाई विस्थापित गरेर गैरकम्युनिष्टलाई सत्ता सुम्पिने काम लाल गद्दारी नै भएको बताउँछन् । अध्यक्ष ओलीले वरिष्ठ नेता नेपाललाई लाल गद्दार भनेको भन्दा पनि उक्त समूहले गरेको कामलाई लाल गद्दारको रुपमा बुझ्नुपर्ने उनको भनाइ छ । उनले भने–‘अध्यक्ष ओलीले वरिष्ठ नेता वा अन्य कुनै व्यक्तिलाई लाल गद्दार भएको भन्न खोज्नुभएको होइन । तर सदनमा आफ्ना अध्यक्षलाई विश्वासको मत दिनुपर्ने समयमा अनुपस्थित हुने, गैरकम्युनिष्टलाई सत्ता सुम्पिनका लागि हतार हतारमा मत दिने, पार्टीको निर्णयलाई नमान्ने र आधिकारीक बैठकमा समेत अनुपस्थित हुने कामलाई लाल गद्दारको संज्ञा दिइएको हो । व्यक्तिलाई होइन ।’

नेपाली शब्द कोषलाई पल्टाएर हेर्ने हो भने गद्दार शब्दको अर्थ आपसी हक, हित र विश्वासमा आघात पुर्याउने वा धेखेबाज र बेइमान गर्नुलाई अथ्र्याइएको छ । नेपाली कम्युनिष्ट पार्टीमा यसको अर्थ कम्युनिष्ट पार्टीको ब्यानर वा झण्डा बोकेर कम्युनिष्ट आन्दोलनको सिद्धान्त तथा उद्देश्यको विपरीत जानुलाई लगाएको पाइन्छ । कम्युनिष्ट पार्टीको सिद्धान्तका विरुद्धमा वरिष्ठ नेता नेपाल गए वा गएनन् भन्ने इतिहासले समीक्षा गर्ला ।
०००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?