काठमाडौं । नेकपा एमालेको दुवै पक्ष (ओली र नेपाल) ले आज छुट्टाछुट्टै बैठक राखेका छन् ।
पार्टी विवाद चरमोत्कर्षमा पुगी मिलाउने प्रयास भइरहेको भनिएका बेला छुट्टै बैठक डाकिनुले एकतामा असर पर्ने देखिन्छ ।
यसअघि मंगलवार बसेको एमाले स्थायी कमिटीको बैठकपछि पार्टी प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले पार्टी एकताको लागि अन्तिमसम्म प्रयास गर्ने विषयमा छलफल गर्ने निर्णय भएको बताएका थिए । तर यता बिपक्षी गठबन्धनसँग सहकार्य गर्दै संसद विघटनविरुद्ध सर्वोच्च पुगेको नेता माधवकुमार नेपाल पक्ष भने पूरानै अडानमा देखिएको छ ।
आज एमाले अध्यक्ष केपी शर्मा ओली पक्षको स्थायी कमिटीको बैठक बस्दैछ । यता नेपाल पक्षले पनि आफू पक्षका स्थायी कमिटीका सदस्यहरुलाई छलफलका लागि बोलाएको छ । ओली पक्षले नेपाल पक्षको बैठकमा सहभागी नहुन स्थायी कमिटी सदस्यहरुलाई निर्देशन दिएको छ ।
पार्टी विवाद मिलाउनका लागि दुवै पक्षबाट दोस्रो तहका नेताहरु सक्रिय रहेपनि गुटगत गतिविधि भने रोकिएको छैन । जसको कारण पार्टी एक ढिक्का भइ अघि बढ्ने कुरामा शंका उत्पन्न हुन थालेको छ ।
यसैक्रममा आफूहरु पार्टी एकताको लागि लागिरहेको प्रवक्ता ज्ञवालीले लोकपथलाई जानकारी दिए । संस्थापन पक्षले आफ्ना तर्फबाट कोहीपनि नेताहरु नबाहिरिउन भन्ने धारणा राखेको र त्यसै अनुसार काम गरिरहेको उनले बताए ।
‘हाम्रो तर्फबाट कोहिपनि साथीहरु नबाहिरिउन भन्ने हाम्रो धारणा हो । त्यसका लागि हामीले भरपुर प्रयासहरु गरिरहेका छौँ । तर साथीहरुले कसरी सोचिरहनुभएको त्यो उहाँहरुको कुरा हो ।’ प्रवक्ता ज्ञवालीले लोकपथसँग भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया