सबै पार्टीलाई एउटै गिरोहले चलाएको छ

शासकीय प्रणाली परिवर्तन हुँदा पनि जनचाहना अनुसार किन काम हुन सकेन ? व्यवस्था बदलियो तर व्यवहार किन बदलिएन भन्ने आम गुनासो किन सुनिन्छ ? यस्ता प्रश्न बारम्बार उठ्ने गर्छ । लोकतान्त्रिक गणतन्त्र स्थापना गरेको यो १३ वर्षमा बारम्बार उठिरहेको प्रश्न हो यो ।
पहिले हामीले हाम्रा प्रमुख राजनीतिक दलहरुभित्रको चरित्रलाई केलाउनुपर्ने हुन्छ । २०४६ मा जनआन्दोलनको बलमा प्रजातन्त्र पुनःस्थापन भएदेखि नै हेरौं ।

नेपालमा कांग्रेस र सबै कम्युनिष्ट पार्टीलाई एकै ठाँउमा राख्ने हो भने दुई वटा पार्टी नै नेपाली राजनीतिको केन्द्रमा रहँदै आएका छन् । ती दुवै पार्टीभित्रको स्थिती कस्तो रहयो ? पहिले त्यसलाई हेर्नुपर्ने हुन्छ ।

कांग्रेसभित्र आन्तरिक लोकतन्त्र राम्रो अवस्थामा रहन सकेन । यहाँ व्यक्तिको प्रधानतालाई स्वीकार गरिएको छ । नेतृत्वमा पुगेको व्यक्तिले आफ्नो इच्छा अनुसार पार्टी चलाइरहेको स्थिती छ । कम्युनिष्ट पार्टीमा त अझ बढी समस्या छ । शैद्धान्तिक रुपमा पनि कम्युनिष्ट पार्टीभित्र नेतृत्वको प्रभुत्व स्वीकार गरिएको हुन्छ । तर कांग्रेसको दार्शनिकीमा व्यक्तिको प्रभुत्व उ जुनसुकै पदमा होस त्यसलाई स्वीकार गरिएको हुँदैन । विधिको प्रधानतालाई नै स्वीकार्नु पर्ने बाध्यकारी दार्शनिकी कांग्रेसमा छ ।

तर व्यवहारमा के भयो भने व्यक्तिको प्रभुत्वलाई नै हामीले मानेको स्थिती छ । एउटा व्यक्तिले पार्टी चलाउँदा त्यो पार्टीभित्र सम्पूर्ण रुपमा लोकतन्त्रलाई अभ्यास गर्न सक्दैन । त्यो पार्टीलाई विधि व्यवस्था अनुसार अगाडी लान सक्दैन । पार्टी सबै कुरामा प्रष्ट हुन सक्दैन भने त्यही व्यक्तिले देश चलाउँदा कसरी सक्छ ? किनकी पार्टी जति अलपत्र छ देश पनि त्यति नै अलपत्र पर्छ । त्यसैले पार्टीहरुको आन्तरिक लोकतन्त्र सृदृढ नभएका कारणले नेपाली राजनीतिलाई लिएर मानिसमा निराशा उत्पन्न भएको हो ।

आज नेपाल जुन समस्यामा परेको छ त्यो के राष्ट्रिय मुद्दाहरुमा विमती भएकोले त्यस्तो भएको हो र ? नेकपाभित्रको नेतृत्वको झगडाका कारणले देशमा पछिल्लो समस्या देखापर्‍यो । यो भनेको नेकपाले आफूलाई व्यवस्थापन गर्न नसकेको हो । नेकपा विधि व्यवस्था अनुसार चल्न नसकेको कारणले देशमा यो समस्या उत्पन्न भएको हो । एउटा पार्टीभित्र भएको समस्याले देशलाई यति ठुलो असर गर्दो रहेछ ।
एमाले वा जसपा सबैको हालत उस्तै छ । अनि नेतृत्वमा जो गएको छ उ प्रवृत्तिगत हिसाबले खासै फरक देखिएन । पञ्चायतको प्रधानमन्त्री र अहिलेको प्रधानमनत्रीमा कुनै फरक देखिएन ।

राजतन्त्रात्मक जुन सामन्तवादी सोच हो, अहिलेको नेतृत्वमा त्यो सामन्तवादी सोच यथावत रह्यो । त्यसैले व्यवस्था परिवर्तन भए पनि नेतृत्वको सोच परिवर्तन नहुँदा यो खालको अवस्था आउँदो रहेछ । किनकी नेतृत्वकै प्रभुत्व पार्टीभित्र छ । पार्टीभित्र जसरी उसले आफ्नो आधिपत्य जमाएको छ,देश चलाउने बेलामा पनि उसले त्यही प्रवृत्तिलाई पुनरावृत्ति गर्‍यो । त्यसकारण व्यवस्था बदलिए पनि व्यवहार बदलिन सकेन ।

त्यसैले हरेक पार्टीभित्रको आन्तरिक लोकतन्त्र बलियो बनाउनु नै आजको पहिलो शर्त हो । पार्टीभित्र विधि व्यवस्था लागू गर्ने नै पहिलो शर्त हो । पार्टीभित्र फरक मतको बहस हुने स्थिती निर्माण गर्नु नै यो व्यवस्था सृदृढ गर्ने शर्त हो । पार्टीहरु सबै विषयमा प्रष्ट हुने, राष्ट्रिय मुद्दा र राष्ट्रिय स्वार्थलाई प्रधान बनाएर अगाडी बढने स्थिती बन्न सक्यो भने लोकतन्त्रलाई अनुभुतिमा बदल्न सकिन्छ । पार्टीहरुमा संस्थागत परिपाटी बन्न सकेन , संस्थागत मान्यताको विकास हुन सकेन । विधि व्यवस्था मान्ने मनोविज्ञान बन्न सकेन । यस्तो कटु यथार्थकोबीच तिनै पार्टीले देश चलाएर विधि पद्धति र नियमनकारी निकाएको प्रभावकारीता खोज्नु जस्तो मुर्खता अरु के होला र ? तसर्थ देश बनाउन पहिले देश चलाउने दलहरु सबै पक्षबाट व्यवस्थित बनाउनु आजको आवश्यकता हो ।

हरेक पार्टीका युवाहरुले नेतृत्वमाथि हस्तक्षेप गर्न सकेका छैनन् । बिषयहरु उठाउने तर परिणाममा पु¥याउन सक्ने अवस्था बनिरहेको छैन । हामीले पनि ‘कन्टेन्ट’ मा आधारित भएर काम गर्न सकेनौ कि भन्ने लाग्छ । हामीले पनि समस्या देखाउने तर समाधान चित्त बुझदो ढङ्गले दिन नसकेको हो कि भन्ने देखिन्छ । हामी आफै पनि समाधान सहित आउन जरुरी छ । हाम्रो कार्यशैली पनि दौराको फेरो समाएर ‘एडजस्ट’ हुने सजिलो बाटो नै रोजेको हो कि जस्तो देखियो । दौराको फेरो समाउन बाध्य किन हुनुप¥यो भने पार्टीमा एउटा बनिबनाउ संरचना छ । त्यसलाई भत्काउने कुरा सजिलो छैन ।

सबैको आ–आफ्नो महत्वाकांक्षा छ । माथि पुग्ने महत्वाकांक्षा पुरा गर्नको निमित्त एडजस्ट हुनुपर्ने स्थिती छ । आफ्नो खुट्टाको साइज अनुसारको जुत्ता होइन कि जस्तो जुत्ता भेटिन्छ,त्यसै अनुसारको जुत्तामा खुट्टा राख्नुपर्ने बाध्यता छ । यसले नेपालको राजनीतिमा कुनै पनि परिवर्तन ल्याउन सक्दैन । यो सबैभन्दा निराशाको बिषय हो ।

विकास भनेको रोजगारी हो । रोजगारीको अवसर कति सिर्जना गर्न सक्छौ । पुल बनाएर मात्र विकास हुँदैन । बाटो बनाएर मात्र विकास हुन सक्दैन । भौतिक पुर्वाधार खडा गरेर मात्र विकास हुन सक्दैन । विकासका निमित्त त्यो देशका हरेक नागरिक सक्रिय हुने ठाउँ हुनुपर्दछ । त्यो भनेको रोजगारी हो । यसैले रोजगारीको बिषय आजको राजनीतिको प्रधान मुद्दा हो । यो प्रधान मुद्दाको बारेमा हामी कति सतहमा छौं । हामीले एउटा यस्तो मार्गचित्र तयार गर्न सक्नुपर्दछ जसमा सबै समुदायको स्वार्थ जोडिएको होस् । नेपालले विकास कसरी प्राप्त गर्न सक्छ, समृद्घि कसरी प्राप्त गर्न सक्छ त्यसको मार्गचित्र प्रष्ट ढङ्गले प्रस्तुत गरिएको हुनुपर्छ । शिक्षा, स्वास्थ्यलाई लोकतन्त्रमा अनुभुति गर्नका लागि यहाँभित्र हुने आर्थिक र अन्य पहुँचका आधारमा हुने विभेदलाई अन्त्य गर्न जरुरी छ ।

लोककल्याणकारी राज्य कस्तो हुन्छ ? हामीले भनिरहेको समाजवाद के हो ? राष्ट्रिय आम्दानीको स्रोत के हो ? एउटा विपन्न वर्गको हितमा हामीले कसरी काम गर्छौ ? मजदुर र किसानको पक्षमा हामी कसरी काम गर्छौ ? देशलाई कसरी आत्मनिर्भर गराउँछौ ? बाँकी विश्वसँग हाम्रो सम्बन्ध कस्तो हुन्छ ? यो सबै कुरामा हामी प्रष्ट ढङ्गले आउन जरुरी छ ।

हामी आफैभित्र उठेका पार्टीभित्रको आन्तरिक लोकतन्त्र सुदृढ भएन भन्ने मुद्दालाई कसरी सम्बोधन गर्छौ ? विधि व्यवस्था कसरी स्थापित गर्छौ ? सुशासन कसरी कायम गर्छौ ? भ्रष्टाचारलाई कसरी अन्त्य गर्छौ ? नियमनकारी निकायहरु कसरी स्वतन्त्र र प्रभावकारी हुन्छन ? क्षमता र कार्यदक्षताका आधारमा अवसरहरु प्राप्त हुन्छन ? भन्ने विषयमा हामी प्रष्ट भएर आउन सक्यौं भने लोकतान्त्रिक गणतन्त्रप्रति कसैले पनि प्रश्न उठाउन सक्दैन् ।

हाम्रो राजनीतिक शक्तिको सम्बन्ध दार्शनिकीसँग होइन केवल सत्ता र शक्तिसँग मात्र छ । समस्याको मुल जड यो पनि हो ।

हाम्रो देशमा सबै राजनीतिक दलहरुलाई गिरोहले नै चलाए जस्तो देखिन्छ । सत्तामा पार्टी फेरिन्छ । तर हरेक पार्टी सत्तामा जाँदा त्यही व्यवहार गर्छ । व्यक्ति फेरिन्छ तर जुन ब्यक्ति सत्तामा गए पनि त्यही व्यवहार गर्छ । एउटै गिरोहले सबैलाई चलाउँछ । यदि यसलाई परिवर्तन गर्ने हो भने पार्टी नेतृत्वले फरक शैली अपनाउनुपर्छ । पार्टीको एजेण्डा पनि फरक ढङ्गले आउन सक्नुपर्छ । प्रष्टता ज्यादा देखिनुपर्छ । दलहरुभित्र पनि व्यक्तिलाई शक्तिशाली बनाउने अनि उसको देवत्वकरण गर्ने प्रवृत्ति छ । त्यहाँ कतै पनि विचार छैन । कार्यशैली परिवर्तन हुनपर्छ भन्ने मागले त्यसलाई प्रभाव पारेको देखिदैन । कार्यशैली उस्तै छ । विचारको बहस नै हुँदैन । तर गुट थुप्रै छ । त्यस्तो गुटको केही अर्थ हुदैन । विचारको बहस हुनेगरी गुट निर्माण हुनुपर्छ । अहिले त दलहरु विभिन्न गुटहरुको संयोजन जस्तो छ ।

अन्त्यमा,जबसम्म हामीले माथि उल्लेखित कुराहरुमा सुधार गरेर अगाडी बढ्न सक्दैनौ तबसम्म हामीले जनआन्दोलनको बलमा ल्याएको लोकतान्त्रिक गणतन्त्रमाथि प्रहार हुने क्रम रोकिँ¥दैन । पात्र र प्रवृत्तिका कारण शासकीय प्रणालीले दण्ड पाउने परिस्थिती आउन नदिन हामीले उल्लेखित कुराहरुमा ब्यापक सुधार गर्नु आवश्यक छ ।

(कांग्रेस केन्द्रीय सदस्य पौडेलसँग सन्तोष आचार्यले गरेको कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?