आईसोलेसन बसेका कोरोना संक्रमितले गरे आत्महत्या, बैशाख १५ गते भारतबाट फर्केका थिए नेपाल

काठमाडौं । कोरोना कहरका कारण स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञाका कारण माडीबजार सुनसान छ। बुधवार  बिहान ७ बजे ईलाका प्रहरी कार्यालय माडीको टेलिफोन बज्छ । ड्यूटी अफिसरले फोन उठाउँछन् ।

फोनमा कुराकानी सकिन नपाउँदै हतार हतार प्रहरी निरिक्षकको टोली प्रहरीको भ्यान लिएर चितवनको माडी नगरपालिका वडा नं. ३ बगैंचा टोल तर्फ हुँईकिन्छ।

घटना : ३५ वर्षीय युवकद्वारा आफ्नै कोठामा झुण्डिएर आत्महत्या !

कोरोना भाइरसको संक्रमण भएपछि गोविन्द शाहले आत्महत्या गरेका खुलेको छ । कोरोनाको संक्रमणका कारण हायलकायल भएको भारतमा बसिटिक्न नसक्ने स्थिती आएपछि उनी बैशाख १५ गते झोला बोकेर आफ्नो थातथलो आएका थिए । भारतबाट नेपाल आएका उनले चितवनको माडीस्थित बघौडा अस्पतालमा स्वाब परिक्षण गराए ।

रिपोर्ट आयो – ‘कोरोना पोजेटिभ’

 

बैशाख २२ गते बुधवार आएको सो रिपोर्टले उनमा संक्रमण पुष्टि भईसकेको देखायो ।

कोरोना पुष्टि भएसँगै उनलाई ‘आईसोलेसन राख्न’ भनियो । अस्पतालहरुमा ‘सिकिस्त बाहेकका संक्रमितका लागि बेड छैन’ भन्ने सुनेका उनी ‘होम आईसोलेसन’ बस्नुको विकल्प थिएन ।

तर होम आईसोलेसनमा बसेका उनलाई उचित परामर्श दिने कोहि भएनन् । बरु ‘डबल म्युटेन्ट भेरियन्ट’ निकै खतराजनक भएको भन्दै परिवारका सदस्य उनीबाट तर्किए । कोरोनाको मनोवैज्ञानिक रुपमा त्रास यसरी गढ्यो कि गोविन्द सदाका लागि संसारबाट बिदा लिने निर्णयमा पुगे ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक सरोज गिरीका अनुसार गोविन्द आफ्नै घरको आफू सुत्ने कोठामा नाइलनको डोरीले पासो लगाएर झुण्डिएको अवस्थामा फेला परेका हुन् । ‘कोभिडको केस भएको कारण शव वरिपरी जान वा व्यवस्थापन गर्न चिकित्सकको सहयोग मागेका छौँ । उहाँहरुलाई खबर भईसक्यो ।’ डीएसपी गिरीले लोकपथसँग भने ।

यसअघि पनि आफूमा कोरोना संक्रमण देखिएको भन्दै मनोवैज्ञानिक रुपमा विक्षिप्त भएका केहि संक्रमतिले आत्महत्या जस्तो कठोर निर्णय लिएका छन् ।

हाल नेपालमा कोरोनाको सक्रिय संक्रमित संख्या ६६ हजार ३ सय ५२ जना रहेको छ । तिमध्ये अधिकांश होम आईसोलेसनमा छन् । कोरोना सर्ने जोखिमका कारण परिवारका सदस्यले संक्रमितसँग तर्किने, झर्किने, समय नदिने, अनावश्यक दूरी बढाउनेजस्ता व्यवहार गर्दा संक्रमितमा पर्नसक्ने मनोवैज्ञानिक असर र त्यसले निम्त्याउन सक्ने नोक्सानीप्रति बेलैमा परिवारले सावधानी अपनाउन जरुरी छ ।

सरकारले पनि यस्ता घटनामा कमी ल्याउनका लागि आईसोलेसन सेन्टर व्यवस्थापन तथा मनोवैज्ञानिक परामर्श दिन जरुरी भइसकेको छ ।

लेखकबाट थप :

पिपिईमा गुम्सीएर ड्यूटीमा खटिएका महिला प्रहरीको पीडा : महिनावारीमा अत्ति नै कठिन !

कोरोनाबाट मृत्यु हुनेको शव व्यवस्थापन गर्नै मुस्किल, पशुपति परिसरमा जे देखियो (फोटोमा हेर्नुहोस्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?