पिपिईमा गुम्सीएर ड्यूटीमा खटिएका महिला प्रहरीको पीडा : महिनावारीमा अत्ति नै कठिन !

अनिता आचार्य/ बिप्लव जमकटेल – एकातिर कोरोनाको कहर, अर्कातिर काँधमा जिम्मेवारी ।

‘भयावह अवस्थामा झनै हाम्रो भुमिका धेरै हुन्छ । त्यसमा हामी जहिल्यै सचेत छौँ । ज्यानको माया त हुन्छ नि ! परिवार छ, तर यो हामीले पाएको जिम्मेवारी हो।’

आफूभन्दा काँधमा आएको जिममेवारी बोकेर ड्युटीमा खटिई जनताको सेवा गर्न पाईयोस् । यति भनिसकेर महानगरिय ट्राफिक प्रहरी प्रभाग थापाथलीमा ड्यूटीमा खटिएकी प्रहरी जवान रजनी मगर (२०) चेकिङमा रोकिएका सवारीलाई लाईन लगाएर नाम टिप्न थालिन् ।

कोरोनाको कारण यतिबेला थापाथली चोक पनि सुनसान छ । तर अत्यावश्यक सवारी साधन आवश्यक कागजात र सवारी पासका आधारमा गुडिरहेका छन् । तिमध्ये केहिले झुटो विवरण लिएर दौडिएका छन् । तर कोरोनको ग्राफ उकालो लागेसँगै देशभर प्रहरीले चेकजाँचमा कडाई गरेको छ ।

हो, तिनै नियम उल्लंघन गर्ने सवारीलाई नियन्त्रणमा लिने, साईड लगाउने, होल्ड गरिएका सवारी चेकजाँच र रेकर्ड राख्ने, केहिले नियम नमानेको खण्डमा र ट्राफिकको आँखा छले भने तिनको टिपोट र सवारीको व्यवस्थापनको जिम्मा उनको काँधमा छ ।

मौसमले परिवर्तित स्वरुप देखाइरहेको छ ।

घरी सिमसिम पानी, घरी वर्षात् त घरी चर्को घाम । यस्तोमा प्रहरी जवान रजनी मास्क, ग्लोब्स, पन्जासहित पिपिई लगाएर ड्युटीमा खटिएकी छिन् । झापा, हल्दीबारीकी मगरले नेपाल प्रहरीमा सेवाको अवसर पाएको एक वर्ष पनि पुग्दैछ ।

प्रहरीको आकर्षक बर्दी र जनताको सेवा गर्न पाईने रहर अनि बच्चादेखिकै सपना बोकेर उनी नेपाल प्रहरीमा ०७७ साउन १ गतेदेखि भर्ना भएकी हुन् ।

पहिलो कोरोना लहरको बेला कहाँ ड्यूटी थियो ? हाम्रो प्रश्न भुईँमा खस्न नपाउँदै उनले जवाफ दिईन्, ‘त्यो बेला त म तालिममा नै थिएँ । यसपटक हो, सडकमा खटिएको ।’

कोरोनाको दोस्रो लहरले भयावह रुप लिन थालेपछि सरकारले ०७८ बैशाख १६ गतेबाट निषेधाज्ञा जारी भयो । सोही दिनदेखि रजनी पिपिई लगाएरै सडकमा ड्यूटीमा खटिएकी छिन् । पिपिईमा बाफिँदै जिम्मेवारी बहन गरिरहेकी उनले थपिन्, ‘अरु कुरा त ठिकै हो, यो कपडा त्यस्तै प्रकृतिको छ । गुम्म पार्छ । गर्मी हुँदा खलखली पसिना आउँछ । पास्छ पनि । पिसाब लाग्दा पनि समस्या हुन्छ ।

अनि महिनावारीको बेलामा ?

रजनीले यो अनुभव गर्न पाएकी छैनन्, तर उनलाई पिपिईमा पहिले ड्यूटी गर्ने दिदीहरुले सुनाएका छन्, ‘महिनावारीमा त यसले भत्भती पोल्छ । सिकसिक लाग्छ । महिनावारीमा अत्ति गार्‍हो हुन्छ ।’

‘तर यो मेरो मात्रै समस्या होईन। के गर्नु ? महामारी यसरी बढेको छ। सुरक्षाकर्मी नै डरायौँ भने नागरिकको सुरक्षा र बनाईएका नियमको कार्यान्वयन कसरी हुन्छ ?’

हातमा बोकेको रजिष्ट्ररमा केहि टिपोट गर्दै उनले जनताको सेवक हुनुमा गर्व महशुस गरिन्।

उनी थप्छिन्, ‘अस्पतालहरुमा हेर्नुहोस् न ! कति अप्ठेरो परिस्थिती बनेको छ । स्वास्थ्यकर्मी, सरसफाईकर्मीदेखि सबैजना पिपिईमा निकै लामो समय गुम्सिनुहुन्छ । कति कठिन ! रिसाएर नहुने । गुनासो गरेर नहुने । यो महामारीले सबैलाई अप्ठेरो पारेको छ ।’

खल्तीबाट सेनिटाईजर झिकेर बेलाबेलामा हातमा लगाउँछिन्, उनी । छोटो कुराकानीपछि उनले समय दिन नसकेकोमा ‘सरी’ भन्दै फेरि लस्कर लागेका सवारीको ‘ईन्ट्री’ गर्नतिर लागिन् ।

प्रहरी जवान रजनी जस्तै हजारौँ प्रहरी, सुरक्षाकर्मी अहोरात्र घाम पानी आफ्नो र परिवारको स्वास्थ्यलाई पन्छाएर केवल जनताको सुरक्षाको लागि खटिएका छन् । हामीलाई केहि समय कडाईका साथ नियम पालना गरौँ भन्दा हामी किन अटेरी गरिरहेका छौँ ? केहि घण्टा मास्क लगाउँदा उकुसमुकुस हुने हामी घण्टौँसमम पिपिईमा गुम्सीएर हाम्रो सेवामा हाजिर भएका राष्ट्रसेवकको पिडा हामी किन महशुस गर्न सक्दैनौँ ? यसपटकको महामारीसँग जुध्न सजिलो छैन ।सरकारले जारी गरेका नियमको पालना गरौँ । आफू पनि बचौँ, अरुलाई पनि बचाऔँ ।

लेखकबाट थप :

कोरोनाबाट मृत्यु हुनेको शव व्यवस्थापन गर्नै मुस्किल, पशुपति परिसरमा जे देखियो (फोटोमा हेर्नुहोस्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?