पूर्वएमाले र पूर्वमाओवादी अलग अलग भएर जाने निर्णय

काठमाडौँ- प्रचण्ड–नेपाल स्थायी समितिको बैठकले पूर्वएमाले र पूर्वमाओवादी केन्द्र अलग अलग भएर जाने निर्णय गरेको छ।

सोमबार कोटेश्वरको पेरिसडाँडामा बसेको दाहाल–नेपालसमूहको बैठकबाट बाहिरिएका नेता झलनाथ खनालले अदालतले राजनीतिक फैसला गरे पनि आफूहरु अलग अलग भएर जाने बताएका हुन् । नेपाल पक्षले त्यसअघि राजधानीको एक होटलमा बसेर नेकपा एमालेमै फर्किएर संघर्ष गर्ने निष्कर्ष निकालेको थियो।

यसअघि सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आधिकारिता ऋषिराम कट्टेललाई दिएको छ । यस्तै प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेकपा खारेज गर्दै अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई ब्युँताइदिएको छ।

तत्कालीन एमाले र माओवादी केन्द्रबीचको एकतापछि बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई २३ जेठ ०७५ मा निर्वाचन आयोगले दर्ता गरेको थियो । आफ्नो पार्टीसँग मिल्दोजुल्दो नाम राखेर गरिएको अर्को दल दर्ताको निर्णय बदर गर्न माग गर्दै नेता ऋषि कट्टेलले २१ मंसिर ०७५ मा निर्वाचन आयोगविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए ।

दुई वर्षपछि न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले एमाले र माओवादी केन्द्र एकीकरणपूर्वकै अवस्थामा रहने फैसला सुनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?