सुदूरपश्चिम प्रदेश सभाको सातौं अधिवेशन बैठक लगातार दोस्रो पटक स्थगित

टेकसिँह धामी/धनगढी- सुदूरपश्चिम प्रदेश सभाको सातौं अधिवेशनको बैठक स्थगित भएको छ । आज (सोमवार) आह्वान गरिएको बैठक स्थगित भएको हो । बैठक स्थगित भएको भन्दै प्रदेश सभामा सूचना टाँस गरिएको छ । सो सूचनामा विशेष कारणले वैठक स्थगित गरिएको उल्लेख गरिएको छ ।

यसअघि सोमवार आह्वान गरिएको बैठक पनि शुरु नहुँदै सूचना टाँस गरि स्थगित भएको थियो । प्रदेश सभाको अर्को बैठक भोली बिहिवार दिउँसो १ बजे आह्वान गरिएको छ ।

प्रदेश सभाको विषयगत समितिमा प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक दफाबारे छलफल सकिएर आज सभामा पेश गरिने कार्यक्रम रहेको सभामुख अर्जुनबहादुर थापाले बताए ।

उनले भने ‘सो विधेयकलाई विषयगत समितिले अन्तिम रुप नदिएपछि बैठक स्थगित गरिएको हो ।’

भोली आह्वान गरिएको बैठक जसरी पनि सञ्चालन हुने थापाले बताए ।
सातौ अधिवेशनको पाँचौ बैठकसम्म आइपुग्दा सभाबाट एक अध्यादेश र एक ऐन पारित भइसकेको छ भने विजनेश नहुँदा दुई पटक बैठक स्थगित गरिएको छ ।

प्रदेशको सातौ अधिवेशन शुरु भएदेखि चौथो बैठकबाट वातावरण संरक्षण सम्बन्धी कानून संशोधन र एकिकरण गर्न बनेको अध्यादेश र पाँचौ बैठकबाट सुदूरपश्चिम प्रदेश बालबालिका सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक पारित भएको छ ।

अहिले प्रदेश सभाको विषयगत समितिमा चार वटा विधेयक दफाबार छलफलमा रहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?