सरकार र विप्लव नेतृत्वको नेकपाबीच दोस्रो चरणको वार्ता पनि आजै सकियो, के भयो कुरा ?

लोकपथ
26.5k
Shares

काठमाडौं – सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबीच आज बुधबारै दोस्रो चरणको वार्ता सम्पन्न भएको छ । प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालले सरकारी वार्ता टोलीका सदस्य राजन भट्टराईलाई उद्धृत गर्दै दोस्रो चरणको वार्ता सम्पन्न भएको सामाजिक सञ्जाल ट्वीटरबाट जानकारी शेयर गरेका छन् ।
उनले ट्विटमा लेखेका छन् :

‘वार्ता टोलीबीच दोस्रो चरणको वार्ता अहिले साँझ सम्पन्न भयो । वार्ता विषय केन्द्रित रह्यो ।’
दुवै पक्ष समान धारणानजिक पुगेको र छिट्टै सकारात्मक निष्कर्षमा पुग्ने अपेक्षा गरिएको उनको भनाई छ ।


आजै सरकारी वार्ता टोली र विप्लवका प्रतिनीधिबीच बिहान बालुवाटारमा डेढ घण्टा वार्ता भएको थियो ।

आज बिहान पहिलो चरणको वार्ता गरेपछि दिउँसो सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस राख्दै गृहमन्त्री रामबहादुर थापा बादलले सरकार र विप्लव समूहबीचको पहिलो चरणको वार्तामा सैद्धान्तिक र प्राविधिक विषय सहमतिनजिक पुगेको जानकारी दिएका थिए । सरकारी वार्ता टोलीको नेतृत्व उनैले गरेका छन् भने प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई सो टोलीमा छन् ।

को हुन् प्रकाण्ड र चलाउने ?
विप्लव समूहले सरकारसँगको वार्ताको जिम्मा सुम्पिएका प्रकाण्ड हाल भूमिगत अवस्थामा छन् । विप्लव समूहको सचिवालय सदस्य प्रवक्ता रहेका उनी पूर्वमन्त्री समेत हुन्। प्रचण्ड पहिलोपटक प्रधानमन्त्री हुँदा (२०६५ भदौमा) प्रकाण्ड पर्यटनमन्त्री भएका थिए । तर माओवादी फुटेपछि मोहन वैद्य किरण पक्षमा गएका प्रकाण्ड विप्लव समूहको दोस्रो वरियताको नेता हुन् । उनी पटक – पटक प्रहरी गिरफ्तारीमा परेका छन् ।

जनयुद्धमा जनसेना थिए चलाउने
सरकारसँग वार्ताको जिम्मा पाएको टोलीमा रहेका अर्का सदस्य हुन् – दीपक चलाउने । पूर्व लडाकु कमान्डर उदयबहादुर चलाउने ‘दीपक’ विप्लव समूहका केन्द्रीय सदस्य हुन् । यसअघि खासै नाम नसुनिएका उनी जनयुद्धमा जनसेना थिए।

निरन्तर भइरहेको थियो प्रयास
वि. सं २०७५ फागुनदेखि प्रतिबन्ध लगाएर धरपकडको निर्देशन दिइरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव समूहलाई वार्ताको लागि अनौपचारिक रुपमा आह्वान गर्दै आएको भएतापनि औपचारिक रुपमा भने सरकार र विप्लव समूहको वार्ता हुन सकेको थिएन । तर पछिल्लो केहि दिनदेखि प्रधानमन्त्रीले सार्वजनिक कार्यक्रमकाबीच दिएको अभिव्यक्तिले निकट भविष्यमा विप्लव समूह शान्तिपूर्ण बाटोमा फर्कन सक्ने संकेत गरेको थियो । पछिल्लो समय वार्ताको टेबलमा बस्न दुवै पक्ष तयार देखिएका थिए। स्रोतका अनुसार गृहमन्त्री थापाले परिचालन गरेको सूत्रमार्फत् यो वार्ता सम्भव भएको हो । सरकारले हिजो (मंगलवार) गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई रहेको वार्ता टोली गठन गरेको थियो भने प्रतिबन्धित विप्लव समूहको नेकपाले प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को नेतृत्वमा विप्लव समूहका केन्द्रीय सदस्य उदयबहादुर चलाउने ‘दिपक’ रहेको वार्ता टोली गठन गरिएको जानकारी विज्ञप्तीमार्फत् दिएको थियो ।

तीनबुँदे सहमतिले खोल्यो वार्ताको ढोका
सरकार र प्रतिबन्धित नेकपाबीच यसअघि नै लिखित रूपमा तीनबुँदे सहमति भइसकेको छ। तर सो सहमति गोप्य राखिएको छ । सहमतिपत्रमा दुवै पक्षले हस्ताक्षर गरेका छन् । त्यसपछि मात्रै सरकारले वार्ता टोलीको घोषणा गरेको हो।

के छन् विप्लवका शर्त ? 
भूमिगत गतिविधि गर्दै आम नागरिकको जिउज्यान र सुरक्षामा जटिलता थपेको, व्यक्ति हत्या हिंसात्मक विष्फोटमा संलग्न भएको विप्लव समूहले सरकारसँग वार्ताका लागि मूख्य तीन शर्त र माग अघि सार्दै आएको छ ।

१. प्रतिबन्ध फुकुवा : (सरकारले ०७५ फागुन २८ गते विप्लव समूहमाथि प्रतिबन्धको घोषणा गरेको थियो)

२. नेता कार्यकर्ताको रिहाइ : (नेपाल प्रहरीको तथ्यांक अनुसार विप्लव समूहका १३४ जना नेता/कार्यकर्ता जेलमा छन् गएको फागुन ९ गतेसम्म सो समूहका दुई हजार ८६ जना पक्राउ परेका थिए । जसमध्ये एक हजार ८४४ जना मुद्दा दर्तापछि छुटेका छन् भने १३४ जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । सो समूहका शीर्ष नेतामध्येका हेमन्तप्रकाश ओली, धर्मेन्द्र बास्तोला पनि जेलमा छन् ।)

३. हालसम्मका सबै मुद्दा खारेज : विस्फोट, कर्तव्य ज्यान, अपहरण, चन्दा आतंकलगायतका अभियोगमा जेलमा रहेका सो समूहका नेता/कार्यकर्तामाथि विभिन्न मुद्दा छ । प्रहरीका अनुसार विप्लव समूहका १८ जना नेता कार्यकर्ताको मुद्दा अनुसन्धानको क्रममा छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?