के प्रधानमन्त्रीलाई ‘सेक्युरिटी थ्रेट’ छ ? ओलीको अभिव्यक्तिपछि उब्जिएका दुई आशंका !

लोकपथ
0
Shares

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ज्यानको खतरा रहेको बताएपछि अहिले प्रधानमन्त्रीलाई साँच्चीकै सुरक्षा थ्रेट छ कि उनले तीव्र आलोचनाको बीचमा सहानुभूति खोजेका हुन् भन्ने दुई महत्वपूर्ण सवालमा आशंका उब्जिएको छ ।

सोमवार (हिजो) पोखरामा आयोजित नेकपा ओली पक्षीय गण्डकी प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै ओलीले सरकारले विकास निर्माणमा तीव्र गतिमा काम गरिरहेकाले देशी विदेशी तत्वहरु नेकपालाई ध्वस्त पार्न लागिरहेको भन्दै ओलीले आफूमाथि पनि प्रहार केन्द्रीत भएको बताएका थिए । उनले भनेका थिए, ‘यस पार्टीको नेतृत्वमा रहेका हुनाले, यस पार्टीलाई अघि बढाइरहेको हुनाले, सरकार प्रभावकारी र गतिशील ढंगले सञ्चालन गरिरहेको हुनाले, विकास निर्माणको कामहरूले गति लिइरहेको हुनाले ममाथि प्रहार केन्द्रीत छ’, उनले थपे, ‘तपाईहरु अनौठो नमान्नु होला यदि म माथि कुनै शारीरिक हमला नै भयो वा मेरो ज्यान तलमाथि भइहाल्यो भनेपनि कुनै अनौठो नमान्नु होला । तर, त्यस्तो हुन दिइने छैन हामी सतर्कता अपनाउँछौँ।’

कार्यक्रममा उनले आफू नरहेपनि पार्टी र आन्दोलन रहिरहने भन्दै पार्टी कुनै पनि हालतमा तलमाथि नपर्ने बताए । ‘म नरहेपनि केही छैन । आन्दोलन छ, पार्टी छ, यस आन्दोलनले प्रतिक्रियावादी तत्वका मतियारहरुसँग घुँडा टेक्नु हुँदैन’, ओलीले भने, ‘देशको भविष्य अन्धकारमा जान दिन हुँदैन । यस पार्टीलाई तलमाथि पर्न दिनु हुँदैन ।’

प्रधानमन्त्रीको यस्तो अभिव्यक्तिपछि लोकपथ डटकमले सुरक्षा निकाय (नेपाली सेना) का उच्च अधिकारीसँग जिज्ञासा राख्यो, ‘प्रधानमन्त्रीको सुरक्षा थ्रेटुको विषय के हो ?’
सुरक्षा निकायका उच्च अधिकारीले विविध कारणले यो विषयमा भन्न नमिल्ने बताए । तर ती अधिकारीले प्रमको अभिव्यक्ति आउनुअघिदेखि नै सुरक्षा निकाय ‘हाई अलर्ट’मा बसेको, हरेक राजनीतिक घटनाक्रमपछि आउन सक्ने परिस्थिति अध्ययन गर्ने, त्यसको लागि पूर्ववत् तयारी हुने गरेको र यसबारेमा विशेष सुरक्षा बलले निर्णय लिने भएकोले अहिले केही जानकारी दिन नमिल्ने बताए।

लोकपथले ओलीनिकट एक नेतासँग प्रमको अभिव्यक्तिबारे राखेको जिज्ञासामा उनले शंका व्यक्त गर्दै भने, ‘रअ सक्रिय भएका कारण यस्तो अभिव्यक्ति ‘सिम्बोलिक’ रुपमा आएको पनि हुनसक्छ। इतिहास साक्षी छ। पहिला पनि एक नेताको योजनाबद्ध हत्या भएको थियो । केही भन्न सकिन्न । राजनीतिक परिदृश्यले राम्रो संकेत गरेको छैन।’

यता बालुवाटार स्रोत सुरक्षा थ्रेटकै विषयमा अनभिज्ञता जनाउँदै भन्छ, ‘सम्माननीयज्यूको ‘सुरक्षा थ्रेट’को संकेत मिलेको नमिलेकोबारे हामीलाई पनि थाहा हुँदैन । राजनीतिक परिदृश्यतर्फ उहाँको संकेत हुनसक्छ । तपाईहरुले सुन्नु नै भएको होला उहाँको त्यो भाषणको अन्तिममा यस आन्दोलनले प्रतिक्रियावादी तत्वका मतियारहरुसँग घुँडा टेक्नु हुँदैन भन्नुभएको छ । त्यहाँ केही आशय त पक्कै छ । बाँकी मैले केही भन्न मिल्दैन ।’

प्रधानमन्त्रीले भनेको थ्रेटको कारण पछिल्लो राजनीतिक अवस्था नै हो त ? 

हो । यो प्रश्नमा जस्तै बलियो शंका गर्ने छुट पक्कै छ । यो आशंकालाई नेपालको वर्तमान राजनीतिक घटनाक्रमले बलियो पारेको पनि छ । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच गत २०७५ साल जेठ ३ गते पार्टी एकता भएदेखि नै पार्टीमा विभिन्न आन्तरीक किचलो प्रवेश गर्‍यो। आफ्ना विभिन्न लालसा पूरा गर्न एउटै पार्टीभित्र एकले दोस्रोलाई छिर्के हान्ने नेपाली नेताहरुको प्रवृत्ति झनै विद्रुप रुपमा देखापर्‍यो । जब गएको असारमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा तीव्र मतभेद देखियो त्यसपछि सतहमा आएको नेकपाको भाँडभैलोले गत पुस ५ गतेको घटनाक्रमसम्म निम्त्यायो ।

घरझगडाको कारण जनताको विश्वासमा समेत आगो झोसेको भन्दै टिप्पणी र विरोध खेपेको नेकपा स्वयम् दुई पक्ष (ओली र प्रचण्ड नेपाल) मा विभाजित भएर ‘जुनसुकै हालतमा संसद पुनर्स्थापना गर्ने’ र ‘हेरौँला’ भन्ने दुई ‘एन्टी’ विचारमा सभा, सम्मेलन, नारा, जुलुश, शक्ति प्रदर्शन र विरोध प्रदर्शन गरी एक अर्कोप्रति आगो ओकलेपछि पछिल्लो राजनीतिक संस्कार र स्तर कहाँनिर रहेछ ? देश कसरी अनिर्णयको बन्दी र केही नेताको कारण चेपुवामा परेको रहेछ भन्ने कुरा स्पष्टै भएको छ । त्यतिमात्रै होइन यी फरक पक्षमा उभिएका नेताहरुले एकले दोस्रोलाई पत्तासाफ बनाउन कुनै कसर राख्दैनन् भन्ने ठम्याई आम नागरिकको छ । त्यसैले यस्तो विषम् परिस्थितिमा आएको प्रधानमन्त्रीको अभिव्यक्ति हलुका लिन हुँदैन भन्ने मतहरु पनि बलियो रुपमा सार्वजनिक भइरहेका छन् ।

के सहानुभूति खोजेका हुन् त प्रधानमन्त्रीले ? 

यो प्रश्न देखेपछि पक्कै तपाईले एकपटक सहमति जनाउनुभयो होला । हुन पनि  झुटको खेती गर्ने, जनतालाई भ्रममा पार्ने, आफ्नो पक्षमा जनमत सिर्जना गर्न विभिन्न अस्त्र प्रयोग गर्ने, कहिले आरोप प्रत्यारोप गर्ने त कहिले चोचोमोचो मिलाउने नेपाली राजनीतिको मौलिक चरित्र हो । समय कालखण्डमा आफूलाई ठूलो जनमत प्राप्त हुन्छ भनेरै नेपाली नेताले जनताको सहानुभूति आफ्नो पोल्टामा पार्न अनेकन तिकडम र नाटक मञ्चन नगरेका होइनन् । प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो अभिव्यक्ति पनि सहानुभूति बटुल्ने ‘तुरुप’ हो कि ? भन्ने आशंका गर्न छुट हुँदाहुँदैपनि वर्तमान विषम् परिस्थितिमा प्रधानमन्त्रीजस्तो पदमा आसीन व्यक्तिले सार्वजनिक कार्यक्रमकाबीच दिएको यो अभिव्यक्तिपछि जनतामा संशय आउनु स्वभाविक हो ।

यस विषयमा सुरक्षा निकाय कति चनाखो रहला वा फेरबदल र सुरक्षा बल थप गर्ला यो अर्को पाटो रह्यो । तर धेरैलाई चासो छ उनको सुरक्षाको लागि कतिको जनशक्ति खटिएका छन् ?

लोकपथलाई प्राप्त जानकारी अनुसार विशेष परिस्थिति, सवारी भेटघाट लगायतका अन्य विशेष अवस्थाबाहेक नै पनि प्रधानमन्त्रीका वरिपरि सयौँको संख्यामा सुरक्षा अधिकारी अघिपछि बस्छन् । नेपाल प्रहरी (जनपद) डिएसपीको कमाण्डमा ८० देखि ९० जना, सशस्त्र प्रहरी (एपीएफ) डिएसपीको कमाण्डमा ३० देखि ३५ जना, नेपाल आर्मी ३० देखि ३२ जना, नेपाल आर्मीको मेजर ३ जना (विशेष परिस्थितिबाहेक नै) ‘बडीगार्ड’ प्रमसँगै, प्रधानमन्त्रीको सरकारी निवासमा ८० देखि ९० जना, नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो सिआईबीका ८ देखि १० जना उनीसँगै हुन्छन् । ती अधिकारीका अनुसार प्रमसँग हुने सुरक्षा अधिकारीको संख्या ठ्याक्कै यकिन चाहिँ हुँदैन । तर माथि उल्लेखित सुरक्षाकर्मीको संख्या प्रमसँगै नियमित हुने सुरक्षा बल हो । यसबाहेक विशेष परिस्थितिको लागि वा कुनै सूचना प्राप्त भएमा वा विषम् परिस्थितिको सिर्जना भएमा विशेष सुरक्षा बलले यो सबैको तारतम्य मिलाउँछ ।

नेपालमा राष्ट्रिय सुरक्षा नीति, २०७३ मा वर्तमान घटनाक्रमले निम्त्याउन सक्ने समस्याको विषय पनि समावेश गरिएको छ। विशेष सुरक्षा बलले भिभिआईपीको सुरक्षाको लागि राज्य प्रणालीमा रुपान्तरण, राजनीतिक अस्थिरता, शासकीय स्वरुप रुपान्तरण र संक्रमणकाल, राजनीतिक अस्थिरता र विभाजन/ध्रुविकरण पक्षहरुमा के कस्ता प्रभाव वा परिवर्तन भइरहेका छन् भनेर सुक्ष्म अध्ययन गरी सुरक्षाको प्रबन्ध पनि मिलाउँछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?