‘राजनीतिक निकासका लागि दोस्रो पुस्ताका नेताहरुले पहल गर्नुपर्छ’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षका नेता विष्णु रिजालले नेकपाभित्रको विवाद समाधानका लागि दोस्रो पुस्ताका नेताहरुले पहलकदमी लिनुपर्नेमा जोड दिएका छन् ।

संसद पुनर्स्थापना गरेर सर्वोच्च अदालतले संविधानलाई लयमा फर्काएको बताउँदै नेता रिजालले बाँकी राजनीतिक समस्या नेतृत्वले नै समाधान गर्नुपर्नेमा जोड दिए ।

सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै नेता रिजालले भने- ‘अदालतले राजनीतिक समस्या समाधान गरिदिन्छ भनेर अपेक्षा गर्नु नै गलत हुन्छ । उसले त संविधानलाई लिकमा फर्काइदिएको मात्र हो र त्यसमा कसरी हिंड्ने भन्ने हामीमा निर्भर हुन्छ ।’

त्यस्तै अदालतले असंवैधानिक ठहर गरिसकेको कदमलाई बचाउ गर्न नहुने पनि उनको धारणा रहेको छ ।

पहिलो पुस्ताका नेताहरुप्रति जनता र कार्यकर्ताको असन्तुष्टी रहेको दाबी गर्दै नेता रिजालले दोस्रो पुस्ताका नेताहरुले निकासका लागि पहलकदमी लिनुपर्नेमा जोड दिएका छन् ।

‘त्यसैले ‘अदालतले फैसला गरे पनि समस्या उस्तै छ’ भनेर असंवैधानिक सावित भइसकेको कदमको वचाव गर्नुको साटो पहिलो पुस्ताका नेताहरूमा चरम अविश्वास र व्यक्तित्वको टकराव भएको वेला दोस्रो पुस्ताका नेताहरूले निकासका लागि पहलकदमी लिन सक्दा उहॉहरूको औचित्य र नेतृत्व क्षमता देखिन्छ ।’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?