प्रधानमन्त्री ओलीले ढिला नगरी तुरुन्तै राजीनामा दिनुपर्छ : वामदेव गौतम

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ढिला नगरी तुरुन्त राजीनामा दिनका लागि आग्रह गरेका छन् ।

संसद पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको निर्णयलाई स्वागत गर्दै विभिन्न ३ मागहरु राखेका छन् । सर्वोच्चको निर्णयलाई स्वागत गर्दै राष्ट्रपतिले संसद अधिवेशन बोलाउने, प्रधानमन्त्रीले तुरुन्तै राजीनामा दिने र नेकपाको स्थायी कमिटीको बैठक बोलाउनुपर्ने माग राखेका हुन् ।

नेकपा एकता अभियानका संयोजक समेत रहेका गौतमले बुधवार एक विज्ञप्ति जारी गर्दै फागुन ११ लाई शहीदहरुको बलिदानीबाट प्राप्त उपलब्धीहरुको रक्षा भएको दिनको रुपमा स्मरण गरेका छन् । त्यस्तै स्वेच्छाचारीता, अराजकता र दुराचारीताको पराजय तथा संविधान क़ानून लोकतंत्र र जनताको सर्वभौमिकताले पुनर्विजय भएको बताउँदै प्रधानन्यायाधीश र संवैधानिक इजलासका न्यायाधीशहरुलाई धन्यवाद व्यक्त गरेका छन् ।

“आजको दिन निरंकुशता स्वेच्छाचारीता, अराजकता र दुराचारीताको पराजय तथा संविधान क़ानून लोकतंत्र र जनताको सर्वभौमिकताले पुनर्विजय प्राप्त गरेको ऐतिहासिक दिन हो। यस अवसरमा म सर्वप्रथम प्रधान न्यायाधीश र संवैधानिक इजलासका न्यायाधीशहरुमा आभार प्रकट गर्दै वहाँहरुलाई हार्दिक धन्यवाद दिन्छु।” उपाध्यक्ष गौतमले भने ।

यस्तो छ प्रेस विज्ञप्ति

प्रेस विज्ञप्ति 
संघीय लोकतांत्रिक गणतन्त्र नेपालको संविधान जारी भए यता वि सं २०७७साल फागुन ११गतेको दिन
ऐतिहासिक महत्वको रहेको छ।
यो दिन हाम्रो सम्मानित सर्वोच्च अदालतले हजारौ सपुतहरुको वलिदान तथा लाखौ देशभक्त नेपालीको त्याग र समर्पणवाट प्राप्त नेपालको संविधानको संरक्षण गरेको दिन हो। प्रधानमंत्री केपी वलीले गत पुष ५ गते गर्नु भएको प्रतिनिधि सभा विघटन असंवैधानिक ठहर भएको छ। आजको दिन निरंकुशता स्वेच्छाचारीता, अराजकता र दुराचारीताको पराजय तथा संविधान क़ानून लोकतंत्र र जनताको सर्वभौमिकताले पुनर्विजय प्राप्त गरेको ऐतिहासिक दिन हो। यस अवसरमा म सर्वप्रथम प्रधान न्यायाधीश र संवैधानिक इजलासका न्यायाधीशहरुमा आभार प्रकट गर्दै वहाँहरुलाई हार्दिक धन्यवाद दिन्छु।
यसअवसरमा म नेपालको नागरिकको हैसियतले निम्नलिखित माग राख्दछु:-
१) सम्माननिय राष्ट्रपति महोदयले प्रेष विज्ञप्ति वाट संवैधानिक इजलासको निर्णयलाई हार्दिक स्वागत गर्दै प्रतिनिधि सभा अधिवेशन आह्वान गर्नु पर्छ।
२) प्रधानमन्त्री केपी वलीले प्रधानमंन्त्री पद वाट ढिलानगरी तुरुन्त राजिनामा दिनु पर्छ।
३)नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को उपाध्यक्षको हैसियतले म दुवै अध्यक्ष क. केपी वली र क. प्रचण्ड संग तुरुन्तै सचिवालय वैठक धुम्वाराही स्थित के.कार्यालयमा वोलाउन अनुरोध गर्छु।
वामदेव गौतम , उपाध्यक्ष
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)
१२।११।२०७७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?