सचिवालय बैठक धुम्बाराहीमा बोलाउन ‍‌ओली र दाहाललाई गौतमको आग्रह

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमले तत्काल सचिवालय बैठक पार्टी कार्यालय धुम्बाराहीमा डाक्न अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका छन्। नेकपा एकता अभियानका संयोजक समेत रहेका गौतमले आज बुधवार प्रेस नोट जारी गर्दै नेकपाको उपाध्यक्षको हैसियतले तुरुन्तै सचिवालय बैठक धुम्बाराहीस्थित पार्टीको केन्द्रीय कार्यालयमा बोलाउन दुवै अध्यक्षसँग अनुरोध गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई तत्काल राजीनामा दिन आग्रह गर्दै उपाध्यक्ष गौतमले संवैधानिक इजलासको निर्णयलाई स्वागत गर्दै राष्ट्रपतिले प्रतिनिधिसभा अधिवेशन आह्वान गर्नुपर्ने बताएका छन् । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएयता २०७७ साल फागुन ११ गतेको दिन ऐतिहासिक दिन रहेको समेत उनले प्रेस नोटमा उल्लेख गरेका छन् ।

“यो दिन हाम्रो सम्मानित सर्वोच्च अदालतले हजारौं सपुतहरुको बलिदान तथा लाखौं देशभक्त नेपालीको त्याग र समर्पणवाट प्राप्त नेपालको संविधानको संरक्षण गरेको दिन हो। प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते गर्नुभएको प्रतिनिधिसभा विघटन असंवैधानिक ठहर भएको छ,”उनले भनेका छन्, “आजको दिन निरंकुशता स्वेच्छाचारीता, अराजकता र दुराचारीताको पराजय तथा संविधान, कानुन, लोकतन्त्र र जनताको सर्वभौमिकताले पुनर्विजय प्राप्त गरेको ऐतिहासिक दिन हो। यस अवसरमा म सर्वप्रथम प्रधान न्यायाधीश र संवैधानिक इजलासका न्यायाधीशहरुमा आभार प्रकट गर्दै वहाँहरुलाई हार्दिक धन्यवाद दिन्छु ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?