संसद पुनर्स्थापनापछि आयो पोखरेलको यस्तो कविता

काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनको कदमलाई असंवैधानिक भएको फैसला गरेपछि नेकपा ओली समूहका नेताहरु अहिले रक्षात्मक स्थितिमा पुगेका छन् । कुनै पनि हालतमा संसद पुनर्स्थापना नहुने, सेटिङमा पुनर्स्थापना भए आन्दोलन गर्ने चेतावनी दिएका प्रधानमन्त्री ओली समेत फैसलाको अघिल्लो दिनदेखि रक्षात्मक हुँदै अभिव्यक्तिहरु दिन थालेका थिए । यसैक्रममा उपप्रधानमन्त्री ईश्वर पोखरेलले एक भावुक कविता लेखेका छन् ।

नेकपा ओली समूहका सचिवालय सदस्य पोखरेलले मंगलवार राति फेसबुकमा ‘यात्रा’ शीर्षकमा कविता पोस्ट गरेका छन् । उनको कविता यस्तो छ:

यात्रा
लड्दै उठ्दै –लड्दै उठ्दै 
हिंड्न सिकेका मानिसहरू ।
अनगिन्ती कमजोरीबाट 
पाठ सिक्दै उठ्न सिकेका मानिसहरू ।
अनुभवका पाठशालामा 
पढ्दै– सिक्दै पोख्त बनेका मानिसहरू ।
अनेक लडाईंमा रगतपच्छे भएर पनि 
बाँच्न सिकेका मानिसहरू ।
दुष्चक्र विरूद्धको लडाइँमा पनि 
जित्छन् र जितिछाड्छन् मानिसहरू ।
कमजोरीमा किचिएर होइन – 
कमजोरीलाई पराजित गर्दै 
गन्तव्य लक्षित बनेर हिंडिरहन्छन् मानिसहरू –
चिरञ्जीवी बनिछाड्छन् मानिसहरू !!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?