भागरथी काण्डः सेलिब्रेटीहरुको चर्काे आक्रोश, कसले के भने ? (भिडियो)

काठमाडौँ– बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या भएको एक साता वित्न लाग्दा समेत अपराधी पत्ता लाग्न सकेको छैन ।

घटनाका दोषीलाई कानूनबमोजिम कारवाहीको माग गर्दै देशका विभिन्न स्थानमा विरोध प्रदर्शन समेत भईरहेका छन् । यद्यपि प्रहरीले शंकाको घेरामा रहेका दुई दर्जन व्यक्तिलाई सोधपुछ गर्दै अनुसन्धानको दायरामा राखेको जनाएको छ ।

गत २०७५ साउन १० गते कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि निर्मम हत्या भएको थियो। भोलिपल्ट उनको शव उखुबारीमा भेटिएको थियो। तर अहिलेसम्म अपराधी पक्राउ पर्न नसकेका कारण भागरथीको घटनामा पनि सोही घटनाको पुनरावृत्ति हुने त होइन भन्ने चौतर्फी चासो र चिन्ता थपिएको छ ।

भागीरथी हत्याकाण्डको विरोधमा सेलिब्रेटीहरुले पनि आक्रोश व्यक्त गरेका छन् । हालै महानायिकाको उपाधि पाएकी करिष्मा मानन्धरले केही पुरूषहरूको मानसिकतामा यौन अपराध थुप्रिएकाले बारम्बार यौन अपराध भइरहेको टिप्प्णी गरेकी छिन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले यो एक विकराल सामाजिक समस्या भएको भन्दै यसलाई समयमै समाधान गर्नु जरूरी रहेको बताएकी छिन्। ‘राजनीतिक दल, मानव अधिकारकर्मी, सामाजिक धार्मिक अभियन्ता, नागरिक समाज, कलाकार समाजसेवी मिलेर समाजमा सभ्य, अनुशासित, नैतिक र सद्भावपूर्ण वातावरण सिर्जना गर्नेतर्फ पाइला चाल्नुप¥यो’ उनले लेखेकी छिन्। साथै उनले समाजलाई शिक्षित, नैतिक, अनुशासित, सभ्य र सद्भावपूर्ण बनाउनबाट चुकिरहेका छौ कि भन्दै प्रश्न समेत गरेकी छिन्।

त्यस्तै अर्की नायिका नीता ढुंगानाले पुरूषहरूले महिलालाई सधै कमजोर र लाचार सोच्ने गरेको उल्लेख गरेकी छन् । ‘नारीकै कोखबाट जन्मिएर नारीकै हातबाट हुर्किएर नारीकै जवानीलाई रित्याएर तिनै पुरुष बलवान् बन्छन् तर पनि त्यहि नारीलाई कमजोर र कम बुद्धि भएको लाचार किन सम्झन्छन्?’ उनले फेसबुकमा लेखेकी छन् । सौन्दर्य शक्ति र शालीनताको अर्को रूप नारी रहेको भन्दै उनले लेखेकी छिन्, ‘संसारको कुनै रूपसँग पनि तुलना गर्न नसकिने एक विरासतको नाम हो नारी । नारीलाई अपमान होइन सम्मान गर्न सिकौं।’

यस्तै अर्की नायिका केकी अधिकारीले नायिका करिष्मा मानन्धरकै पोष्ट शेयर गर्दै घटनाको विरोध गरेकी छिन् । यस्तै नायिका ऋचा शर्माले दोषिलाई कारवाहीको माग गरेकी छन् ।

हास्यकलाकार केदार घिमिरेले पनि बलात्कारी र हत्यारा पक्राउ नपरेसम्म भागरथीले न्याय नपाउने भन्दै जनदबाब बलियो बनाउनुपर्ने बताएका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘हामीले जतिसुकै आत्मा शान्तीको कामना गरेपनी तबसम्म नानी भागीरथी भट्टको आत्मा शान्त हुने छैन, जबसम्म ती बलात्कारीरहत्याराहरु पक्राउ पर्ने छैनन् । उनीहरु तबमात्र पक्राउ पर्नेछन् जब प्रशासन सकृय हुनेछ । प्रशासन तबमात्र सकृय हुनेछ जब जनदबाब बलियो हुन्छ ।’ उनले बलात्कार बिरुद्ध निर्मम कानुन निर्माण, कानुनको निस्पक्ष पालना र अपराधीहरुलाई सोच्नै नसक्ने दण्डको ब्यवस्था नभएसम्म जनदबाब जारी रहनु उल्लेख गरेका छन् । ‘शोक सन्तप्त परिवारप्रती समवेदना, भागिरथीको आत्मालाई चाँडै शान्ती पाउन जन दबाब, प्रशासनिक सक्रियताको पहल गरौं । ’ उनले लेखेका छन् ।

यस्तै सेलिब्रेटी कार्यक्रम प्रस्तोता रवी लामिछाने पनि घटनास्थलमा पुगेर अपराधीलाई यथाशिघ्र पक्राउ गरी कारवाही गर्न माग गरेका छन् । लामिछानेले छोरीचेलीहरुको जीवन रक्षाका लागि समाजले महत्वपूर्ण भूमिका निभाउनुपर्ने पनि बताएका छन् । न्यायका लागि आवाज बुलन्द पार्न आग्रह गर्दै उनले भागीरथीको हत्यारा कहिले पत्ता लाग्छ भन्दै प्रश्न गरेका छन् ।

सनातन धर्म उच्च माविमा कक्षा १२ मा अध्यनरत १७ वर्षीया भागरथीको माघ २१ गते स्कूलबाट फर्कने क्रममा बलात्कारपछि हत्या भएको खुलेको छ । उनी हराएको भोलिपल्ट अर्थात् माघ २२ गते विद्यालयबाट करिब ३ किलोमिटरको दूरीमा रहेको लवलेक सामुदायिक वनमा उनको शव भेटिएको थियो ।

प्रस्तुत छ, यसै विषयमा तयार पारिएको भिडियो रिपोर्ट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?