भागरथी बलात्कारपछि हत्या प्रकरण : यस्तो छ पछिल्लो ‘अपडेट’

लोकपथ
0
Shares

काठमाडौं – बैतडी दोगडाकेदार गाउँपालिका ७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या भएको घटनामा दोषीलाई यथाशीघ्र पक्राउ गरी कानूनबमोजिम कारवाहीको माग गर्दै देशका विभिन्न स्थानमा विरोध प्रदर्शन हुन थालेको छ ।

प्रहरीले प्राप्त सबुतको आधारमा अनुसन्धान साँघुरो पार्दै लगेको बताएका छन् । तर भागरथीको स्कूलबाट करिब ३ किलोमिटरको जंगलमा उनको बलात्कारपछि घाँटी थिचेर हत्या भएको घटनाको ५ दिन बितेतापनि प्रहरीले अपराधी पक्रन सकेको छैन । यद्यपी प्राप्त ‘क्लू’ र सबुत प्रमाणको पुष्टि गर्ने क्रममा रहेकोले चाँडै अपराधी पत्ता लाग्ने प्रहरीको भनाइ छ ।

गत २०७५ साउन १० गते कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि निर्मम हत्या भएको थियो। भोलिपल्ट उनको शव उखुबारीमा भेटिएको थियो। तर अहिलेसम्म अपराधी पक्राउ पर्न नसकेका कारण भागरथीको घटनामा पनि सोही घटनाको पुनरावृत्ति हुने त होइन भन्ने चौतर्फी चासो र चिन्ता थपिएको छ ।

पोस्टमार्टम रिपोर्ट आयो : बलात्कार र घाँटी थिचेर हत्या 
भागरथी भट्टको बलात्कारपछि घाँटी थिचेर हत्या भएको पुष्टि भएको छ । जिल्ला अस्पताल बैतडीमा गरिएको पोस्टमार्टम रिपोर्टमा भट्टको शंकास्पद मृत्युको कारण बलात्कारपछि घाँटी थिचेर हत्या भएको पुष्टि भएको हो । पोस्टमार्टम रिपोर्टमा उनको बलात्कार र घाँटीमा निमोठेको दाग तथा चोटहरु देखिएको छ । भट्टको भजाइनल स्वाब परीक्षणका लागि काठमाडौं ल्याइने पनि प्रहरीले जनाएको छ । संकलित स्वाबबाट पहिले ‘सिमेन’ परीक्षण गरिन्छ । यसबाट ‘बलात्कार’मा संलग्नको वीर्य योनीमा प्रवेश गरेको छ छैन भन्ने पुष्टि हुन्छ । जिल्ला अस्पताल, बैतडीमा भएको पोष्टमार्टमका क्रममा चिकित्सकले निकालेको स्वाबलाई महाराजगञ्जस्थित केन्द्रीय विधि विज्ञान प्रयोगशालामा ल्याउन लागिएको हो । सिमेन जाँचबाट घटनामा एक वा एकभन्दा बढी व्यक्ति संलग्न छन् भन्ने पनि थाहा हुनसक्ने विज्ञ बताउँछन् । अपराधस्थलबाट बरामद कपडा पनि परीक्षणका लागि प्रयोगशालामा ल्याउने तयारी गरिएको छ ।

शवसँगै भेटिएको मोबाइलमा भारतीय सीम कार्ड

टाउकोमा चोट, च्यातिएको कपडा, योनीबाट रगत बगेको, शरीरमा कोपरेको डाम रहेको अवस्थामा फेला परेकी भट्टको जंगलमा भेटिएको शव नजिकै फेला परेको मोबाइलमा घटनाको दिन भारतीय सिमकार्ड प्रयोग गरेको प्रहरीले पत्ता लगाएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले दिएको जानकारी अनुसार उनका दाइले भारत बसेर फर्कँदा ल्याएको र उनले प्रयोग गर्दै आएको नेपाली सिमकार्ड फेला परेको हो । प्रहरीले घटनास्थलमा फेला परेको मोबाइल र नेपाली सिमकार्ड दुवैको डाटा ‘रिकभर’ गर्न डिजिटल फरेन्सीक ल्याबमा लगेको जनाएको छ । यसो गर्दा मोबाइलबाट डिलिट भएका सबै म्यासेज, अडियो–भिडियो र कलको सबै विवरण निकाल्न सकिनेछ । एसएसपी सिंहले सिमकार्ड भारतीय भएकोले थप अनुसन्धानका लागि भारतीय प्रहरीको सहयोगमा कल डिटेल निकाल्न आवश्यक पहल थालिएको जानकारी दिएका छन् । दोगडाकेदार क्षेत्र भारतीय सीमानाका नजिक भएकाले भारतीय नेटवर्कले काम गर्ने गरेको छ। सोही कारण त्यहाँका अधिकांश स्थानीयले भारतीय सिमकार्ड प्रयोग गर्ने गरेका छन्।

घटना भएको दिन…

बुधवार सनातन धर्म उच्च माविमा कक्षा १२ मा अध्यनरत १७ वर्षीया भागरथी स्कूल गएकी थिइन् । स्कूलबाट फर्कने क्रममा आमा घरमा एक्लै रहेको भन्दै उनी साथीहरुबाट छुट्टिएर छिटो घरतर्फ हिँडेको उनका साथीहरुले प्रहरीसँगको बयानमा भनेका छन् । त्यसपछि उनी कता गइन् कसैलाई थाहा छैन । सो दिन साँझ पर्दासम्म घरमा नआएपछि उनकी आमा द्रोपदीले  सोधखोज गरिन् । फोनमा पनि सम्पर्क नभएका कारण परिवार आफन्त निकै आत्तिए । त्यसपछि उनीहरुले चिनेजानेकासँग सम्पर्क गरे । उनलाई कसैले पनि नदेखेको बताएपछि आमा बेहोस हालतमा पुगेकी थिइन् । श्रीमान् बितेको भर्खरै २ महिना भएका कारण  बरखी बारेकी उनको मनमा चिसो पस्यो। खोजी तीव्र पारियो । प्रहरीमा खबर भयो । जब बिहीवार उनी पढ्ने विद्यालयबाट करिब ३ किलोमिटरको दूरीमा रहेको घरदेखि नजिकै पर्ने लवलेक सामुदायिक वनमा उनको शव भेटियो त्यसपछि उनी मुर्छित् परिन् । स्कूले केटाकेटीले सो जंगलमा वनमाराको झाडी माडिएको देखेको भन्दै गाउँलेलाई खबर गरेपछि उनको खोजी गर्दा विभत्स अवस्थामा किशोरीको शव फेला परेको थियो ।

किशोरी भट्टको शव वनमारा झाडीमा उत्तानो अवस्थामा फेला परेको थियो । लवलेक सामुदायिक वनको वनमारा झाडीमा फेला परेकी किशोरीको झोला पनि उनको शव नजिकै फेला परेको थियो । भागरथीको घर र विद्यालयबीच जंगल पर्दछ। सोही जंगलमा उनको शव फेला परेको हो ।

के भन्छ प्रहरी ? 

बलात्कार पछि हत्या भएको निष्कर्ष निकालेको प्रहरीले भागरथीको हत्यामा संलग्न आरोपीहरु अहिलेसम्म पक्राउ परेका छैनन् । यस विषयमा सूक्ष्म रुपमा अनुसन्धान जारी छ । ”हामी मिहीन ढंगले अनुसन्धान गर्दैछौँ ।” जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक जनक बहादुर धामीले जानकारी दिए ।

उनको शव भेटिएको स्थानको अध्ययन गर्न सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक डीआईजी उत्तमकुमार सुवेदी घटनास्थल गएका छन् । अढाइ वर्षअघि कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको अपराधी आजसम्म पनि सार्वजनिक गर्न नसकेर निरीह बनेको प्रहरीले यो घटनामा गम्भीरतापूर्वक घटनास्थलको अध्ययन गरेको जनाएको छ ।

घटनास्थलबाट अनुसन्धानलाई प्रभाव पार्ने कुनैपनि प्रमाण नहराउन् भन्ने उद्देश्यले थप अध्ययन र अनुसन्धानका लागि डिआईजी आफै घटनास्थल गएका छन् । बुधवार राति पानी परेकाले अपराधी पहिचान गर्न तालिमप्राप्त कुकुरलाई समस्या भएको प्रहरीको भनाइ छ । ‘धनगढीबाट लगिएका तालिमप्राप्त कुकुरले पानी परेकाले सामान्य अवस्था जस्तो विस्तृतमा संकेत दिन सकेन । तर अपराधको ‘लोकेसन’ पहिल्याएको छ,’ प्रहरी अधिकारीले भने।

प्रहरीले पाएको छ केही ‘क्लू’

भागरथी भट्टको हत्या प्रकृति, वातावरण, सोधपुछ, प्रारम्भिक अनुसन्धान लगायत उनको मोबाइल फोनको अध्ययन गरी  किशोरीको बलात्कारपछि हत्या परिचित व्यक्तिबाटै भएको आशंका प्रहरीको छ । ‘सबुत प्रमाण पुष्टि गर्ने क्रममा छौँ । थुप्रै ‘क्लू’ फेला परेको छ । हामी चाँडै अपराधी सार्वजनिक गर्नेछौँ ।’एक प्रहरी अधिकारीले जानकारी दिए ।

घटना अनुसन्धान गर्न एसएसपी जनक पाण्डेको नेतृत्वमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), जिल्ला प्रहरी कार्यालय बैतडी र इलाका प्रहरी कार्यालय पाटनको टोलीलाई एकीकृत रुपमा परिचालन गरिएको छ । यस घटनाबारे थाहा हुने वित्तिकै पनि प्रहरीले तालिमप्राप्त कुकुरको सहयोग लिएर अनुसन्धान गरेको थियो । प्रहरीले केही युवामाथि शंका गरी सूक्ष्म निगरानी राखेको छ । सोधपुछ चलिरहेको छ । बयान लिने क्रम पनि जारी छ । घटना अनुसन्धानका क्रममा सोधपुछका लागि प्रहरीले ६ जनासँग केहि सोधपुछ पनि गरेको थियो ।  प्रहरीले कुनै पनि हालतमा चाँडो अपराधी पत्ता लगाउन भागरथी अध्यनरत विद्यालयका शिक्षक, परिवार , नजिकका साथी, गाउँका मानिस, घटना भएको समय आसपासमा बाटोमा हिँड्ने व्यक्ति, सवारीसाधनका धनीसँग सोधपुछ गरिरहेको छ ।

प्रहरीले ‘टेक्निकल, म्यानुअल र बाहिरी निगरानीमा अनुसन्धान गर्न टोलीलाई छुट्टाछुट्टै खटाइएको जनाएको छ ।

के मृतक भट्टलाई कसैले फोनमा बोलाएको थियो ? 

प्रहरीले दिएको जानकारी अनुसार बुधवार भागरथीलाई केही कल आएको थियो तर उनले ‘रिसिभ’ र ‘कलब्याक’ गरेकी थिइनन् । सनातन धर्म उच्च माविमा कक्षा १२ मा अध्यनरत १७ वर्षिया उनी विद्यालयबाट निस्कँदा चार जना साथी सँगै थिए तर घरमा आमा एक्लै रहेको भन्दै भागरथी छिट्टै घर पुग्ने गरी साथीहरुबाट छुटेर हिँडेकी थिइन्। उनका साथीहरु कपाल काट्न गएको कारण भागरथीसँग छुटेको बताउँछन् । प्रहरीले यो घटना बुधवार अपराह्न ३ बजेतिर भएको अनुमान गरेको छ । बुधबार २ बजे पढाइ सकेर उनी स्कुलबाट हिँडेको र घरबाट स्कुल पुग्न लाग्ने दूरी झण्डै एकघण्टा जंगलको बाटो हो । त्यसैले प्रहरीले घटना यो समयको भएको अनुमान गरेको हो । उनको शव उनी पढ्ने विद्यालयबाट करिब ३ किलोमिटरको दूरीमा भेटिएको थियो ।

घटनास्थल स्थानीय खोचलेक–चडेपानी ग्रामीण सडकबाट एक सय मिटर तल पर्छ।

हत्यारा पत्ता लगाउन चौतर्फी दबाव

किशोरीको हत्याको विरोधमा बैतडीमा शैक्षिक हड्ताल गरिएको छ । विद्यालय शान्ति क्षेत्र घोषणा गरिएको भए पनि शान्तिपूर्ण रुपमा पठनपाठनको वातावरण बन्न नसकेको भन्दै शिक्षकहरु आक्रोशित बनेका छन् । विद्यार्थीहरुमा त्रास फैलिएको छ । गाउँ शोकमा डुबेको छ । स्थानीय तहदेखि केन्द्रसम्मैबाट दबाब आएको छ ।

हत्यारा पत्ता नलागेसम्म शव बुझ्दैनौँ : परिवार

मृतकका आफन्तले जिल्ला अस्पतालमा रहेको किशोरीको शव बुझ्न मानेका छैनन् । घटनाको सत्यतथ्य छानबिन गरी वास्तविक दोषीलाई गिरफ्तार गरी हदैसम्मको कारवाही गर्न माग गर्दै शव नबुझेको भागरथीका काका शिवराज भट्टले बताए । जिल्लादेखि केन्द्रसम्मैबाट राजनीतिक दलले हत्यारालाई पत्ता लगाइ कानूनी दायरामा ल्याउन माग गरेका छन् । सामाजिक सञ्जालमा आएको एक भिडियोमा श्रीमानको २ महिनाअघि भएको निधनले शोकमा डुबेकी भागरथीकी आमा बेहोस अवस्थामा पुगेकी छिन् । उनले अपराधीलाई छिट्टै पक्रेर हदैसम्मको कारवाहीको माग गरेकी छिन् । शोकमाथि शोक थपिएको भट्ट परिवार घटनामा संलग्न दोषी उम्केलान् भन्ने चिन्तामा छन् । राजनीतिक चलखेल हुनसक्ने आशंका छ । उनीहरुले यथाशीघ्र दोषी पत्ता लगाई हदैसम्मको कारवाहीको लागि अनुनय गरेका छन् । दुई दिदीको विवाह भइसकेको बुबाको मृत्यु भएका भागरथीका दाजु रोजगारीको लागि भारतमा छन् । आमाको सहारामा छोडेकी बहिनीको विभत्स हत्या भएका कारण दाजु मर्माहत छन् । उनले दोषी छिटो पत्ता लगाई हदैसम्मको कारवाही माग गरेका छन् ।

पछिल्लो चार वर्षमा १७ जनाको बलात्कारपछि हत्या भएको प्रहरीको तथ्यांक छ। २०७४ साल यता ७ हजार १ सय ७० वटा बलात्कारका घटना भएकामा १७ जनाको बलात्कारपछि हत्या भएको हो ।

०७०/७१ मा मुलुकभर ९ सय ५ वटा बलात्कारका घटना भएका थिए। ०७६/७७ सम्म आइपुग्दा दुई गुणा बढेर २ हजार १ सय ४६ वटा घटना भएको प्रहरी प्रधान कार्यालयको अभिलेखमा छ।

यो पनि पढ्नुहोस् : 

भागरथी हत्या प्रकरणः बलात्कारपछि हत्या भएको पुष्टि

भागरथीको मोबाइलमा भारतीय सीमकार्ड, डिजिटल फरेन्सिक ल्याबबाट परीक्षण गरिँदै

श्रीमान् बितेको पीडामै रहेकी द्रोपतीलाई सन्तान गुमाउँदाको पीडा

भागरथी हत्याकाण्ड : घटनाको चौतर्फी विरोध, कहाँ पुग्यो अनुसन्धान ?  (भिडियो रिपोर्ट)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?